सर्लाहीको बरहथवा नगरपालिकामा एमाले एक्लैलाई स्पष्ट बहुमत

1.9k Shares

सर्लाहीको बरहथवा नगरपालिकामा नेकपा(एमाले)एक्लैले स्पष्ट बहुमत प्राप्त गरेको छ । बरहथवा नगरपालिकाका २८ जना कार्यपालिका सदस्यमध्ये १६ जना नेकपा एमालेकै भएका छन् ।
सोमबार भएको कार्यपालिका चुनावबाट छानिएका ८ जना सदस्यमध्ये ७ जना नेकपा एमालेका मात्रै छन् । एक जना भने बहुजन एकता पार्टी नेपालबाट छानिएका हुन् । ५ जना महिला कार्यपालिका सदस्यमा सबै एमालेका उम्मेदवार बिजयी भएका छन् । महिला कार्यपालिका सदस्यमा एमालेबाट लिलाकुमारी कुश्वार, राम कुमारी देवी खत्वे, लक्ष्मीनियाँ देवी, अनिता कुमारी र सरिता कुमारी विश्वकर्मा चयन भएका बरहथवा निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 त्यस्तै, दलित तथा अल्पसंख्यकबाट ३ जना कार्यपालिका सदस्यमध्ये २ जना एमालेबाट र एक जना बहुजन एकता पार्टी नेपालबाट निर्वाचित भएका छन् । ंजसमा एमालेबाट राकेश कुमार बैठा र सन्जय कुमार साह तथा बहुजनबाट विन्देश्वर प्रसाद धनकार निर्वाचित भएका हुन् । बहुजनले कार्यपालिका चुनावमा एमालेसँगै तालमेल गरेको थियो । जिल्लाभरमा सबैभन्दा धेरै १८ वटा वडा रहेको बरहथवामा नेकपा एमालेले नगर प्रमुख, उप प्रमुख सहित ७ वटा वडा, कांग्रेसले ६ वटा वडा, जसपाले २ वटा, लोसपा, बुहजन एकता र माओवादी केन्द्रले समान १÷१ वटा वडामा जित निकालेको छ । एमालेले जिल्लाका २० स्थानिय निकायमध्ये बरहथवामा मात्रै नगर प्रमुख,उप प्रमुख जितेको हो ।
बरहथवामा एमालेकी नेतृ कल्पना कटुवाल जिल्लामै पहिलो महिला नगरप्रमुखमा निर्वाचित हुनु भएको हो । यसैबीच, सोमबार बरहथवाको कार्यपालिका चुनाव सकिएसँगै सर्लाहीमा २० वटै स्थानीय निकयका कार्यपालिकाको चुनाव सकिएको छ । बरहथवामा अन्यत्र भन्दा ढिलो गरी मतगणना भएका कारण कार्यापालिका निर्वाचनपनि पछि नै भएको हो । 

सम्बन्धित समाचार