सर्लाहीको लालबन्दी नगरपालिका ११, हीरापुरमा शनिबार भान्जाले आफ्नै मामाको हत्या गरेका छन् । बारीमा काम गर्ने क्रममा भएको विवादमा लालबन्दी नगरपालिका ११ निवासी अन्दाजी ३१ वर्षीय रवी विकले लालबन्दी नगरपालिका १७, रानिगञ्ज निवासी ४५ वर्षीय अशोक विकको हत्या गरेका ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्त राम कार्कीले जानकारी दिनुभयाे । उहाँका अनुसार तरकारी लगाउन माच बनाउने क्रममा विवाद भएपछि भान्जा रवीले माच बनाउनकै लागि काटिएको बाँसले मामा अशोकको टाउकोमा प्रहार गरेर हत्या गरेका हुन ।
घाइते अशोकलाई उपचारका लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रवीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । काठमाण्डौंमा बस्दै आएका रवी नागरिकता बनाउन भन्दै केही दिनअघि मात्रै सर्लाही घर आएका थिए ।
घर आएपछि रवी मामासँगै मिलेर नातेदार काकाको बारीमा तरकारी खेतीका लागि माच बनाउन खटिएका थिए । मामा र भान्जाबीच भएको विवादको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।