कविलासी ८ मा एक युवकको हत्या।बागमती ११ मा एक वेवारिसे शव फेला

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-७ गते   ९८२ पटक हेरिएको

सर्लाहीको कविलासी नगरपालिका ८ अगर्बामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या भएको छ । कविलासी नगरपालिका ८ अगर्वाका अन्दाजी २४ वर्षीय अमरेन्द्र ठाकुरको सोमबार धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।
धारिलो हतियार प्रयोग गरी घाँटी रेटिएको अवस्थामा ठाकुरको शव फेला परेको प्रहरीले जनाएको छ । अगर्वा चोकभन्दा करिब २ सय मिटर पश्चिममा बाँसबारीनजिक रगतले लतपतिएको अवस्थामा शव देखेपछि मंगलबार स्थानीयले प्रहरीलाई खबर गरेका जिल्ल प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बुवा र भाइ मिलेर अगर्वा चोकमा फर्निचर पसल सञ्चालन गर्दै आएका ठाकुर सोमबार राति खाना खान घर नपुगेपछि परिवारले सोमबार राति दिनै खोजतलास गरेका थिए ।
युवकको हत्यापश्चात प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिनु भयो । उहाँका अनुसार ठाकुरको शव पोस्ट मार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको  भने ठाकुरको हत्याको अनुसन्धान सुरु गरिएको छ ।
त्यस्तै बागमती नगरपालिका ११ कर्मैया बागमती पुल नजिक कुहिएको अवस्थामा एक वेवारिसे शव फेला परेको छ । बागमती नगरपालिका ११ स्थित बागमती नदीको पुर्व ड्याम 
पुर्व पश्चिम लोकमार्गबाट करिब ५ सय मिटर उत्तरमा कुहिएको अवस्थामा एक वेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  प्रहरीका अनुसार उक्त शवको पहिचान खुलेको छैन । शवलाई पोष्ट मार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech