सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटको हिरासत कक्षमा एक थुनुवाको मृत्यु भएको घटनाको छानविन गर्न भन्दै प्रहरी नायव महानिरीक्षक (डिआईजी)को नेतृत्वमा विशेष समिति गठन गरिएको छ।नेपाल प्रहरी प्रधान कार्यालय,नक्सालबाट जारी पत्रअनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका–३ का २३ वर्षीय श्रीकृष्ण वि.क.को हिरासतमा भएको मृत्यु प्रकरणको अनुसन्धान गर्न समिति गठन गरिएको हो।मृतक वि.क.लाई जबर्जस्ती करणी मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा राखेको थियो ।
वैशाख ७ गते इलाका प्रहरी कार्यालय खुर्कोटका हिरासत कक्षको शौचालयमा उनले लगाएको सटको सहायताले झुन्डिएको अवस्थामा फेला परेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको भएपनि पीडित परिवारले हिरासतमा मृत्यु भएको भन्दै निष्पक्ष छानविन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुली अगाडि प्रदर्शन गर्दे धर्ना सुरु गरेका थिए ।
त्यसपछि उक्त घटनाको यथार्थ तथा वस्तुनिष्ठ छानबिन गरी प्रतिवेदन पेश गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान,महाराजगंजका प्रहरी नायव महानिरीक्षक(डिआईजी) दिनेश कुमार आचार्यको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो।समितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार समितिमा केन्द्रीय अनुसन्धान ब्युरो तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षकहरु रबिन्द्र नाथ पौडेल,ईन्द्रजित सुनार,प्रेम रेग्मी र प्रहरी नायव निरीक्षक राजेश्वर सापकोटा सदस्य रहेका छन् ।
यस घटनाले हिरासत सुरक्षाको अवस्था र अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाएको छ भने निष्पक्ष छानबिनको माग समेत बढ्दै गएको छ।समिति गठन भएसँगै मृतक युवकको शव पोष्ट माटमको प्रक्रिया अगाडी बढाउने सहमती भएको सहायक प्रमुख जिल्ला अधिकारी एवम जिल्लास्तरिय छानविन समितिका संयोजक दिपेन्द्र पौडेलले बताए।उनका अनुसार शवको पोष्ट माटम काठमाडौँको टिचिङ हस्पिटलमा गरिने छ।पोष्ट माटमको लागि शव काठमाडौँ पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।