सर्लाहीका करिब ४३ प्रतिशत गर्भवती महिलाहरु घरमै सुत्केरी हुने गरेका पाइएको छ । जिल्लामा अहिले पनि करिब ४३ प्रतिशत गर्भवती महिलाहरुले घर मै बच्चा जन्माउने गरेको पाइएको हो ।
जिल्लामा स्वास्थ्य संस्थामा हुने प्रसुति दर ५७ प्रतिसत मात्रै छ भने ४३ प्रतिशत गर्भवती महिलाहरुले घरमै बच्चा जन्माउँने गरेका जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीको तथ्यांकमा उल्लेख गरिएको छ ।
सरकारले स्वास्थ्य संस्थामै गएर सुरक्षित प्रसुति गराउन आग्रह गर्दै आइरहेको भएपनि जिल्लामा अशिक्षा,लाज र डरका कारण स्वास्थ्य संस्थाहरुमा प्रसुति गराउने महिलाहरुको संख्यामा बृद्धि हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा।नवलकिशोर झाले बताउनु भयो । उहाँका अनुसार जिल्लाको विकट बस्तीमा सवारीको अभाव र ग्रामीण भेगका केही समुदायमा रुढीवादी प्रथाका कारण घरमै प्रसुति गराउने परम्परा रहेकाले स्वास्थ्य संस्थाहरुमा प्रसुति गराउने महिलाहरुको संख्यामा बृद्धि हुन नसकेको हो ।
घरमै बच्चा जन्माउने दर घटाउन स्वास्थ्य कार्यालयको तर्फबाट स्थानीय निकाय, स्वास्थ्य चौकी, बर्थिङ सेन्टरलगायतसँग समन्वय गरी काम गरिरहेको भएपनि स्वास्थ्य संस्थाहरुमा प्रसुति गराउने महिलाहरुको संख्या ५७ प्रतिशत मात्रै रहेको कार्यालयले जनाएको छ ।
आमा र शिशु दुवैको स्वास्थ्य सुरक्षित हुने भएकाले स्वास्थ्य संस्थामा गएर दक्ष स्वास्थ्यकर्मीसँग समन्वय गरी प्रशुति गराउन कार्यालय प्रमुख डा।झाले आग्रह गर्नुभयो ।
जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल र जिल्लाभरका ३६ वटा बर्थिङ सेन्टरहरुमा प्रसुति सेवा प्रदान भई रहेको भएपनि स्वास्थ्य संस्थाहरुमा प्रसुति गराउने महिलाहरुको संख्यामा सन्तोषजनक बृद्धि नभएको कार्यालयले जनाएको छ ।
नेपालमा नवजात शिशु मृत्युदर प्रति एक हजारमा २१ वटा र मातृ शिशु मृत्युदर प्रति एक लाखमा २ सय ३९ रहेको छ । सरकारले सन् २०३० सम्ममा शिशु मृत्युदर प्रति एक हजारमा १२ र मातृ मृत्युदर प्रति एक लाखमा ७० मा झार्ने लक्ष्य लिएको भएपनि जिल्लाका ग्रामिण तथा अशिक्षित क्षेत्रमा अहिले पनि घर मै बच्चा जन्माउने गर्दा आमा र नवजात शिशुको स्वास्थ्यमा खतरा हुनुका साथै स्वास्थ्य संस्थाहरुको प्रसितु दर सुधार हुन नसकेको तथ्यांकमा उल्लेख गरिएको छ ।