पूर्व–पश्चिम हुलाकी सडक अन्र्तगत सर्लाही क्षेत्रको निर्माण कार्य सुस्त गतिमा भएको छ । जिल्लाको रौतहटको सिमाना देखि महोतरीको सिमाना सम्म ४२ किलो मिटर हुलाकी सडक निर्माण कार्य सुस्त गतिमा भएको हो ।
जिल्लाको संग्रामपुरस्थित बाँके खोलादेखि पश्चिमी बलरास्थित बागमती नदीसम्मको हुलाकी सडक तीन खण्डमा ठेक्का लगाइ निर्माणको काम भइरहेको हुलाकी सडक मार्ग आयोजना कार्यालय जनकपुरले जनाएको छ ।वर्षौदेखि अत्यन्तै जिर्ण अवस्थामा रहेको हुलाकी सडकको निर्माण कार्य पूरा नहुँदा जिल्लाका दक्षिणी भेगका नागरिकहरु हरेक वर्ष सास्ती खेप्न बाध्य भएका छन् ।

हिउँदमा धूलाम्मे हुने यो सडक केही दिनदेखि निरन्तर वर्षा भइरहँदा अहिले भने हिलाम्मे भएको छ । हुलाकी सडक निर्माणका लागि स्थानिय वासिन्दाले लामो समयदेखि दबाब दिँदै आइरहेका भएपनि ठेकेदारले त्यसलाई वेवास्था गर्दै निर्माण कार्य सुस्त गतिमा बढाएको छ ।

सडक निर्माणमा दबाब सिर्जना गर्ने उद्देश्यले गत वर्ष जिल्लाका प्रतिनिधि सभा सदस्यहरु,प्रदेश सभा सदस्यहरु, स्थानिय निकायका प्रमुख र नागरिक समाजका अगुवाहरुले धर्ना समेत दिएका थिए ।
सरकारका मन्त्रीहरुले पटक–पटक जिल्ला आएर आश्वासन दिँदा समेत हुलाकी सडकको अवस्था नफेरिँदा जिल्लाका स्थानियबासी निराश र हैरान भएका छन् । हुलाकी सडक निर्माणको काम धमाधम अघि बढिरहेको हुलाकी सडक मार्ग आयोजना कार्यालय जनकपुरका प्रमुख कृष्ण कुमार महतोले दावी गर्नुभयो । उहाँका अनुसार जिल्लाको बाँके देखि बागमती सम्मको दुवैतर्फबाट केही किलोमिटर सडक कालोपत्रे गर्ने काम समत सुरु भएको बताउनु भयो ।