गौशाला १ मा आईएमई ग्रुपको लगानीमा नेपाल कै सबै भन्दा ठूलो कागज उद्योग सञ्चालन

429 Shares

महोत्तरीको गौशाला नगरपालिका १ इँटाटार गाउँमा रु दुई अर्ब बढीको लगानीमा देशकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा आएको छ।आईएमई ग्रुपको लगानीमा नेपाल कै सबैभन्दा ठूलो कागज उद्योग नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रा.लि.को परिक्षणको काम सुरु भएको उद्योगका निर्देशक अरुण भण्डारीले जानकारी दिए ।
उनका अनुसार बैंक तथा वित्तीय संस्था,पर्यटन,अटोमोबाइल र सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्दै आएको आईएमई ग्रुपले देशकै सबैभन्दा ठूलो कागज उद्योग पनि सञ्चालनमा ल्याएको हो ।नेपालमा कागज उत्पादन हुने उद्योग नभएकाले कागज आयात गर्नुपर्ने अवस्थालाई हटाउन र स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले कागज उद्योग स्थापना गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताए।उनका अनुसार २०७८ सालमा शिलान्यास भएको उद्योगले निर्माण सकिएसँगै परिक्षण सुरु गरेको र औपचारिक उद्घघाटन केही दिनमा गर्ने छ।
स्वदेशी कच्चा पदार्थ र जनशक्तिको प्रयोग गरी उच्च गुणस्तरीय कागज उत्पादन गर्ने लक्ष्य लिएर उद्योग स्थापना गरिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम आईएमई ग्रुपका अध्यक्ष ढकालले बताए।उनका अनुसार उद्योगले दैनिक ७५ मेट्रिक टन कागज उत्पादन गर्ने र प्रत्यक्ष रूपमा करिब पाँच सय जनालाई रोजगारी दिने छ ।
नेपालमा वार्षिक करिब डेढ लाख मेट्रिक टन कागज खपत हुने भए पनि देशमा कागज उद्योगको अभावका कारण सम्पूर्ण कागज आयात गर्नुपर्ने अवस्था छ।विद्यालय तथा कलेजमा प्रयोग हुने कापी, फोटोकपी पेपर,ट्वाइलेट पेपर र टिस्यु पेपर जस्ता उत्पादनहरूका लागि नेपाल पूर्ण रूपमा आयातमा निर्भर छ।नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रा.लि.सञ्चालनमा आएपछि कुल मागको करिब ३० प्रतिशत भन्दा बढी कागज स्वदेशमै उत्पादन हुने उद्योगको दाबी गरेको छ । 

सम्बन्धित समाचार