पशु चौपाया खरिद बिक्रीमा मधेश प्रदेश प्रहरी बाधक भएको पशुचौपाय व्यावसायीहरुले गुनासो गरेका छन् । पशुचौपाय ढुवानी गरेर एक ठाउँबाट अर्काे ठाउँ लैजाने क्रममा मधेस प्रदेश प्रहरीले अवरोध गरेर दुःख दिएको उनिहरुको गुनासो छ ।
गत जेठ १८ गतेदेखि मधेस प्रदेश प्रहरीले सर्लाहीबाट पशु चौपाया लोड गरेर पूर्वतर्फ लैजाँदै गर्दा सिरहाको बन्दीपुरबाट फर्काइदिएको थियो । त्यसयता प्रहरीले चौपया ढुवानी गर्न दिएको छैन् । घरेलु तथा साना उद्योग कार्यालयबाट गोरु, भैँसी, राँगा र खसीलगायतका पशु चौपाया खरिद बिक्री गर्न फर्म दर्ता गरेर काम गरिरहेका व्यवसायीले विना कारण प्रहरीले दुःख दिएको गुनासो गरेका छन् ।
प्रहरीले खरिद बिक्रीमा विना कारण लगातार अवरोध गरेपछि व्यवसायीले उच्च अदालतमा जनकपुरमा निषेधाज्ञाको रिट दिएका थिए । रिटमा सुनवाई गर्दै उच्च अदालतले यही असार ७ गते निवेदकलाई गोरु, राँगा, भैँसी, खसी खरिद बिक्री गरी ओसार पसार गर्न अवरोध नगर्नु भनी अन्तरीम आदेश जारी गरेको भएपनि मधेश प्रदेश प्रहरीले अवरोध गरेपछि आफुहरु मारमा परेको उनीहरुको भनाई छ । अदालतले अन्तरीम आदेश जारी गरे पनि प्रहरीले माथिको आदेश भन्दै चौपाया ढुवानीमा रोक लगाएको व्यवासायी निरज कुमार सिंहले बताए । कुनै कारण नै नदेखाइ प्रहरीले चौपाया लोड गरेको सवारीलाई गन्तव्यमा पुग्न नदिइ फर्काउने गर्दा आफुहरु मारमा परेको उनको भनाई छ । उनले बरहथवा नगरपालिका ६ मा पशु चौपाया खरिद बिक्री केन्द्रको कार्यालय सञ्चालन गरी रहेका छन् ।
मधेस प्रदेश र प्रदेश १ मा व्यापार गर्दै आएको आफ्नोे कम्पनीलाई मधेस प्रदेश प्रहरीले अवरोध गरेको उनले बताए । पशु चौपाया ढुवानीमा तोकिएका सबै मापदण्ड पुरा गरेको सिंहको दावी छ । पशु चौपाय ओसार पसार र बिक्री वितरणमा अवरोध हुँदा व्यवसायीले खरिद गरेका चौपाया एक महिनादेखि दाना पानी खुवाएर पाल्नु परेको छ । चौपाया खरिद बिक्री निर्वाध हुन्छ भनेर पशु हाटबजार लाखौंमा ठेक्का लिएका व्यवसायी पनि यसको मारमा परेका छन् । मधेसका हाटमा गोरु, राँगा, भैँसी र खसीहरु किनबेच हुनै छाडेको अर्का एक व्यावसायीले बताए ।