Close This

मधेश प्रदेशको आधा बजेट खर्च भएन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-२७ गते   ४१५ पटक हेरिएको

मधेश सरकारको चालु आर्थिक वर्ष २०७८÷०७९ मा आधा बजेट फ्रिज भएको छ। चालु आर्थिक वर्षमा रु ३४ अर्ब ८८ करोड ९८ लाख १० हजार बजेट मध्ये मधेश सरकारले रु १७ अर्ब ७६ करोड ३६ लाख ७५ हजार ७४९ बजेट मात्र खर्च गरेको मधेश प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरले जनाएको छ ।
आर्थिक कार्यविधि नियमावलीअनुसार असार २४ गते शनिबार राति १२ बजेदेखि चालु आवको भुक्तानी निकासा बन्द गरिएको छ । भुक्तानी बन्द हुँदा केही मन्त्रालयको सम्पन्न योजनाको करोडौं भुक्तानी बाँकी रहेको छ।  
प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकाय, कार्यालयबाट विनियोजित बजेटमध्ये चालुतर्फ ६०.८७ प्रतिशत अर्थात रु ९ अर्ब ३२ करोड ५६ लाख ८२ हजार ६ सय ५४  खर्च भएको मधेश प्रदेश लेखा नियन्त्रक श्याम गिरीले जानकारी दनुभयो ।
त्यस्तै पुँजीगततर्फ ४३.१२ प्रतिशत अर्थात् रु ८ अर्ब ४३ करोड ७९ लाख ९३ हजार ९५ खर्च भएको छ । सबैभन्दा बढी सामाजिक विकास मन्त्रालयले ६५.१६ प्रतिशत र सबभन्दा कम महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले १५.७० प्रतिशत मात्र बजेट खर्च गर्न सकेका हुन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ३१.११, अर्थ मन्त्रालयले २६.८६, उद्योग, पर्यटन तथा वन मन्त्रालयले ४५.२६, कानून न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयले २१.९६, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४१.६१, खानेपानी तथा उर्जा विकास मन्त्रालयले ४० प्रतिशत बजेट खर्च गरेका लेखा नियन्त्रक गिरीले जानकारी दिनुभयो ।
त्यसैगरी आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले ४७.८१, वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयले ४६.६३, भौतिक पुर्वाधार विकास मन्त्रालयले ४६.२१, सामाजिक विकास मन्त्रालयले ६५.१६ र स्थानीय तहलाई शसर्त अनुदानतर्फ ९१ प्रतिशत बजेट मधेश प्रदेश सरकारले खर्च गरेको छ । 
प्रदेश सरकारले विगतका आर्थिक वर्षको तुलनामा सबैभन्दा कम बजेट यो वर्ष खर्च गरेका हुन्। गत आर्थिक वर्षमा प्रदेश सरकारले ६५.६६ प्रतिशत बजेट खर्च गरेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech