सर्लाहीसहित मधेश प्रदेशमा दिन प्रतिदिन बढ्दै गएको गर्मीका कारण जनजीवन कष्टकर बन्दै गएको छ । पानी नपरेको र दिन प्रतिदिन बढ्दै गएको गर्मीका कारण सर्लाहीसहित मधेश प्रदेशको जनजीवन नराम्रोसँग प्रभावित भएको हो।
हावा नचल्ने, चर्काे घाम र अत्याधिक गर्मीका कारण स्थानीयहरू घरभित्रै उकुसमुकुस हुने र घरबाहिर निस्किएपछि पसिनाले निथ्रुक्क भिज्ने गरेका छन्। गर्मीका कारण ग्रामीण सडकका सवारीसाधनमा यात्रुको चाप निकै घटेको छ। भने दैनिक क्रियाकलाप गर्न समस्या भएको छ ।
मधेश प्रदेशमा अचानक बढेको अत्याधिक गर्मीका कारण ग्रामीण बासिन्दाको स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिन थालेका छन्। विशेषगरी ज्वरो, रुघाखोकी तथा छाला सम्बन्धी रोगको प्रकोप बढेको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख सुदिप प्रसाद काफ्लेले जानकारी दिनु भयो । उहाँका अनुसार अचानक बढेको गर्मीका कारण ज्वरो, रुघाखोकी र छाला सम्बन्धी रोगका बिरामी बढी आउने गरेका छन् । बिरामीहरूमा टाउको, हातखुट्टा र जीउ दुख्ने लगायतका समस्या समेतदेखा परेका प्रमुख काफ्लेले बताउनु भयो ।
धान रोपाइँको मध्य समयमा खडेरी परेपछि मधेश प्रदेशका किसान समेत निराश भएका छन्। यस क्षेत्रमा पानी नपर्दा किसानहरुले रोपाइँ गर्न नपाएका र रोपेको धान बाली पनि सुक्न थालेको छ ।
वर्षा हुने आशमा किसानहरु रातदिन आकाशतिर हेरेर बस्न बाध्य भएका छन्। मधेश प्रदेशका जिल्लामा यो वर्ष पर्याप्त वर्षा हुन सकेको छैन्। असार दोस्रो साता सामान्य झरी परे पनि त्यसपछि पानी पर्न सकेको छैन। मध्य असारमा सामान्य झरी पर्दा हतार हतारमा रोपाइँ गरेका किसान फेरि पानी नपरेपछि खेतमा धाँजा फाटेर भर्खरै रोपेको धानबाली सुक्न थालेपछि चिन्तीत देखिएका छन् ।
रोपाइँ गर्न दमकलबाट सिँचाइ गर्नुपर्दा किसानहरूलाई थप आर्थिक भार समेत परेको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिले दमकलबाट सिँचाइ गर्दा निकै खर्चिलो भएको किसानहरूको भनाइ छ।
त्यसैगरी गर्मीका कारण जिल्लाका केही पालिकाहरूले विद्यालयमा बिदा दिए पनि अधिकांश पालिकाका विद्यालय सञ्चालनमा रहेका छन्। सञ्चालनमा रहेका विद्यालयमा विद्यार्थी तथा शिक्षकहरू गर्मीले आजित हुने गरेका छन्।
दिन प्रतिदिन बढ्दै गएको गर्मीका कारण जिल्लाका व्यापारिक बजारमा चहल पहलसमेत घट्दै जान थालेको उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र कुमार बलम्पाकी(दिपक)ले बताउनु भयो । उहाँका अनुसार जिल्लाका प्रमुख व्यापारिक बजार लालबन्दी,बयलवास,हरिवन,बरहथवा र मलंगवालगायतका बजारमा सर्वसाधारणहरुको चहल पहल बढ्दै जान थालेको छ । जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजारमा समेत सर्वसाधारण र किनमेल गर्नेहरुको चहल पहल कम हुँदै जान थालेको व्यापारीहरुले बताएका छन् ।