बाढी डुवान पीडितलाई राहतमा वितरणमा राजनीति,बलरा नगरपालिकामा जनमत पार्टीको घेराउ गर्दै प्रदर्शन

289 Shares

सर्लाहीको बलरा नगरपालिकामा बाढी तथा डुवान पीडितहरुलाई राहत वितरण गर्दा भेदभाव भएको भन्दै जनमत पार्टीले बलरा नगरपालिकाको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेको छ।बलरा नगरपालिकाका नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले बाढी तथा डुवान पीडितको राहत वितरणमा भेदभाव गरेर आफूखुसी आफ्ना आसेपासेलाई राहत वितरण गरेका भन्दै बलरा नगरपालिकाको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेको जनमत पार्टीका जिल्ला ईन्चार्ज श्रीचन यादवले जानकारी दिए ।
उनका अनुसार गत असोज १२ गते बागमती नदीमा आएको बाढी गाउँ पसेपछि डुवान भएको र समस्यामा परेका स्थानीयलाई राहत वितरण गर्नुपर्नेमा नगर प्रमुख कुशवाहाले अफूखुसी राजनीतिक पहुँचको आधारमा राहत वितरण गरेका भन्दै जनमत पार्टीले नगरपालिका कार्यालय घेराउ गर्दै प्रदर्शन गरेको हो ।जनमतका नेता कार्यकर्ताले राहत वितरणको सूची तथा आय(व्यय सार्वजनिक हुनुपर्ने,राहत वितरणको अधिकार वडाध्यक्षलाई दिनुपर्ने,सर्वदलिय बैठक बसी राहत वितरण गर्नुपर्ने,राहत वितरणको छानविन हुनुपर्ने र वास्तविक बाढी पीडितलाई राहत दिनुपर्ने लगायतका माग राखेका छन् ।
यता,वास्तविक बाढी तथा डुवान पीडितहरुको तथ्यांक संकलन गरेर मात्र राहत वितरण भइरहेको बलरा नगरपालिकाका नगर प्रमुख कुशवाहाले बताए ।जनमत पार्टीले राजनीतिक प्रतिशोधको साथसाथै राहतमा नै राजनीति गर्न खोजेको नगर प्रमुख कुशवाहाको आरोप छ।विभिन्न समयमा आएका प्राकृतिक तथा दैविय विपतीहरुमा पीडित भएका नागरिकहरुलाई राहत वितरण गर्दा जताततै राजनीति हुने गरेको र जसको प्रत्यक्ष मार वास्तविक पीडितहरुलाई पर्ने गरेको जानकारहरु बताउँछन् ।
विपद् पीडित उद्धार र राहत वितरण सम्बन्धी मापदण्डमा के छ ?
विपद् पीडित उद्धार र राहत सम्बन्धी(सातौँ संशोधन) मापदण्ड २०७७ को परिच्छेद २ को १ (ङ)मा पीडितहरुलाई राहत वितरण गर्दा स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समिति मार्फत वितरण गर्नु पर्ने प्रावधान रहेको छ।विपद् पीडित उद्धार र राहत सम्बन्धी(सातौँ संशोधन) मापदण्ड २०७७ राहत वितरणमा एकद्धार प्रणाली लागु गराउनका लागि मापदण्ड बनाएको भएपनि अधिकांश स्थानीय तहहरुले मापदण्डलाई वेवास्था गर्ने गरेका पाइएको छ ।जसको कारण वास्तविक पीडितहरु सबै भन्दा धेरै मारमा पर्ने गरेका छन्।असोज १२ गते आएको बाढीका कारण जिल्लाका अन्य स्थानीय तहहरुको तुलनामा बलरा नगरपालिकामा बढी क्षेती पुगेको तथ्यांकहरुमा उल्लेख छ ।

सम्बन्धित समाचार