सर्लाहीको बागमती युवा क्लवका ३ खेलाडी २० वर्षमुनिको राष्ट्रिय टोलीमा छनौट हुन सफल भएका छन् । भारतमा हुन लागेको साफ यू–ट्वान्टी प्रतियोगिताको लागि अखिल नेपाल फुटवल संघ (एन्फा) ले सार्वजनिक गरेको खेलाडीको सूचीमा बागमती युवा क्लव बागमतीका ३ जना खेलाडी पर्न सफल भएका बागमती युवा क्लबका महा सचिव एवम नगर खेलकुद संयोजक सागर मैनालीले जानकारी दिनु भयो । उहाँका अनुसार एन्फाले सार्वजनिक गरेको खेलाडीको सूचीमा बागमती यूवा क्लवका अमर श्रेष्ठ, अभिषेक वाईवा र दिपेश चाम्लिङ राई छनौट भएका हुन् ।
एन्फाले प्रतियोगिताको लागि २३ खेलाडीको नाम सार्वजनिक गरेकोमा बागमती युवा क्लबका खेलाडीहरु अमर श्रेष्ठ र अभिषेक वाईवा डिफेन्डरमा र दिपेश चाम्लिङ राई फर्वाडमा खेल्ने छन् । तीनै जना खेलाडी क्लवमा समेत निकै अनुशासित र मिहेनती रहेका क्लवका अध्यक्ष किस्मत राज मैनालीले बताउनु भयो । यस क्षेत्रमा निकै प्रतिष्ठित प्रतियोगिता राजर्षि जनक कप आयोजना गर्दै आएको बागमती यूवा क्लवले स्थानीय खेलाडीहरुलाई समेत प्रशिक्षित गरेर अवसर प्रदान गर्दै आएको छ ।
यसरी मोफसल क्लवका खेलाडी समेत राष्ट्रिय टिममा पर्नु निकै खुसीको कुरा भएको क्लवका सचिव कुमार प्रधानले बताउनु भयो । उहाँले स्थानीय स्तरमा रहेका प्रतिभालाई निखार्ने र तिखार्ने तथा क्लवलाई ए डिभिजनमा पु¥याउने लक्ष्य रहेको बताउनु भयो ।
बागमती यूवा क्लवले बागमती नगरपालिकासगँको सहकार्यमा पारिश्रमिकको समेत व्यवस्थासहित खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्ने गरेको छ । नगरको समग्र विकासमा खेल क्षेत्र पनि महत्वपूर्ण रहेको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले बताउनु भयो । खेल क्षेत्रलाई बागमती नगरपालिकाको पहिचान बनाउने उद्देश्य सहित आफूहरुले क्लबका लागि आफ्नै सवारी साधन र महिला पुरुष छुट्टा छुट्टै स्पोर्ट एकेडेमी समेत सञ्चालन गरि रहेको नगर प्रमुख थापाले बताउनु भयो ।