लालबन्दी १७ को प्रिन्स क्रसरलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन,मापदण्डको खिल्ली उडाउँदै सर्लाहीका क्रसर उद्योग

787 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १७ मा विगत १५ वर्षदेखि अवैध रुपमा सञ्चालनमा रहेको प्रिन्स क्रसर उद्योगलाई आवश्यक कार्बाही गर्न नेपाल सरकार गृह मन्त्रालयले परिपत्र गरेको पाइएको छ।लालबन्दी नगरपालिका १७ स्थित साहेवगन्जको घना बस्तीको वीचमा विगत १५ वर्षदेखि कुनैपनि मापदण्ड पुरा नगरी सञ्चालन भई रहेको प्रिन्स क्रसर उद्योगलाई १५ दिन भित्र कार्बाही गर्न नेपाल सरकार गृह मन्त्रालयले परिपत्र गरेको पाइएको हो ।

लालबन्दी नगरपालिका १७ स्थित साहेवगन्जको घना बस्तीको वीचमा विगत १५ वर्षदेखि कुनैपनि मापदण्ड पुरा नगरी सञ्चालन भई रहेको प्रिन्स क्रसर उद्योगको विषयमा स्थानीयले वैशाख १२ गते उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेलाई सम्बोधन गरेर बस्ती बीचमा सञ्चालित अवैध क्रसर उद्योग बन्द गरिपाऊँ भन्दै निवेदन दिएपछि गृह मन्त्राललयले आवश्यक कार्वाहीका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई पत्राचार गरेको पाइएको हो ।

“उपरोक्त विषयमा निवेदक लालबन्दी  नगरपालिका १७ का सम्पूर्ण पीडित नागरिकहरुले मिति २०८१ वैशाख १२ गते माननीय उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेलाई सम्बोधन गरी बस्ती बीचमा सञ्चालित अवैध क्रसर उद्योग बन्द गरिपाऊँ भनी पेश भएको निवेदन साथ प्राप्त कागजातका आधारमा आवश्यक कारबाही गरी त्यसको जानकारी १५ दिन भित्र यस मन्त्रालयमा पठाउनुहुन आदेशअनुसार अनुरोध छ।”गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले गरेको परिपत्रमा उल्लेख गरिएको छ ।

पीडित पक्षले स्थानीय नागरिकको कीर्ते हस्ताक्षर गरेर जालसाजीपूर्ण रूपमा दर्ता भएर सञ्चालनमा रहेको उक्त क्रसर उद्योगबाट उत्पन्न धुलो र धुँवाका कारण त्यहाँका हजारौँ स्थानीयबासी वर्षौँदेखि प्रभावित भएको भन्दै गृहमन्त्री लामीछानेलाई पत्र बुझाएका थिए ।

बस्तीबीचमा यसरी क्रसर उद्योग सञ्चालन गर्दा, त्यस ठाउँमा बसोबास गर्दै आएका आम सर्वसाधारणलाई जीवनयापन गर्न कठिनाइ भएको, प्रत्येक व्यक्तिको जनस्वास्थ्यमा असर परेको उजुरीमा उल्लेख गरिएको थियो।उजुरी अनुसार उद्योगले सार्वजनिक जग्गा मिचेर स्थानीय फुटबल मैदानमा गिट्टी ढुङ्गा थुपारेको र स्थानीय खोलामा गिट्टी बालुवा थुपारी खोला पुरिएको भनिएको छ ।

यसरी अवैध रूपमा सञ्चालन हुँदै आएको उद्योगले स्थानीय नागरिकको जनस्वास्थ्यमा संकटमात्रै सिर्जना नगरेर त्यहाँका सयौँ विगाह सरकारी जग्गा समेत हस्तक्षप गरेको उजुरीमा आरोप लगाइएको गृह मन्त्राललयले जनाएक्को छ।राजनीतिक शक्तिको आडमा उद्योगले गैरकानुनी रूपमा प्राकृतिक स्रोतको निर्बाध दोहन गरिरहँदा स्थानीय सरकार तथा प्रशासनसमेत मौन बसेको उजुरीमा उल्लेख छ ।

जन स्वास्थ्यमा असर पर्ने गरी लामो समयदेखि अवैध तरिकाबाट सञ्चालित उक्त क्रसर उद्योग तत्काल बन्द गर्ने प्रक्रियाको थालनीको माग गर्दै स्थानीय नागरिकहरुले हस्ताक्षर गरेर पटक–पटक जिल्ला प्रशासन कार्यालय सर्लाहीका साथै विभिन्न सरोकारवाला निकायहरुमा ज्ञापन पत्रसमेत बुझाइसकेका थिए।यस्तै राजधानी जोड्ने सहायक बाटोमा टिपर जथाभाबी सञ्चालन गरी बाटो अस्तव्यस्त दुर्घटना हुने तथा बाटो भत्काउने कार्य पनि भएको उजुरीमा उल्लेख गरिएको जनाइएको छ ।

प्रिन्स क्रसर उद्योग बिना इजाजत अवैध तरिकाबाट सञ्चालनमा रहेको,सार्वजनिक सम्पत्ति हस्तक्षेप गरेको,स्थानीय खेलमैदान तथा विद्यालय नजिकै र घना बस्ती नजिकै रहेको, सार्वजनिक खोला पुरेको,सञ्चालन गर्न नमिल्ने ठाउँमा कानुन विपरीत सञ्चालन गरेको उजुरीमा उल्लेख छ ।

यस्तै,२०६५ सालदेखि अहिलेसम्म करोडौँ राजस्व छलेर सरकारलाई तिर्नुपर्ने करसमेत नतिरी सञ्चालनमा रहेको,स्थानीय सार्वजनिक वनको नजिक इजाजत दिन नमिल्ने ठाउँमा सञ्चालन गर्दै आएको उल्लेख छ।उजुरीमा क्रसर उद्योगका सञ्चालक नवराज अधिकारी,पुरुषोत्तम अधिकारी,यादव अधिकारी र पुरन अधिकारीलाई कारबाहीको मागसहित क्रसर उद्योग बन्द गरिपाऊँ भन्दै स्थानीय ७२ जनाले बैठक बसि निर्णय र  हस्ताक्षर समेत उजुरीसँगै संलग्न गरेर समितिमा बुझाएका समेत पाइएको छ ।पीडितले गृह मन्त्रालयसँगै उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय,वन तथा वातावरण मन्त्रालय र विभिन्न संसदीय समितिमा पनि पनि उजुरी दर्ता गरेका थिए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को घ(६)को व्यावस्था,मधेश प्रदेश सरकारको आर्थिक ऐन २०७९ को दफा ७ “ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी  मापदण्ड २०७७” पहिलो संसोधन २०७९ र संघिय सरकारको “ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी(पहिलो संसोधन)मापदण्ड २०७९” को धज्जी उडाउँदै जिल्लाका क्रसर उद्योगहरु सञ्चालन भई रहेका जानकारहरु बताउँछन् ।

क्रसर उद्योगको अनुमती,दर्ता तथा नियमन सम्बन्धी प्रक्रिया तथा मापदण्ड २०८० मा के व्यावस्था छ ?

कसर उद्योगको अनुमतिको लागि निवेदन साथ पेश गर्नु पर्ने आवश्यक कागजात:रीतपूर्वकको निवेदन,परियोजनाको विवरण,नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा विदेशी नागरिक भए राहदानीको प्रतिलिपी,निवेदक फर्म वा कम्पनी भएमा फर्म वा कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि,प्रतिनिधि नियुक्त गरेको भए अख्तियारीपत्र र अख्तियारवालाको परिचय खुल्ने कागजात,साझेदारीमा उद्योग स्थापना गर्न चाहेको भए साझेदारवीच भएको सम्झौता, निवेदक कम्पनी भएमाःकम्पनी दर्ता प्रमाणपत्र,स्वीकृत प्रवन्धपत्र तथा नियमावलीको प्रतिलिपि,संचालक समितिको निर्णय,अद्यावधिक शेयर लगत र अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र करचुक्ता प्रमाणपत्र,उद्योग स्थापना गर्ने क्षेत्रको गाउँपालिका वा नगरपालिकाको सिफारिश,उद्योग रहने स्थानको टोपो सिट तथा कित्ता नापीनक्सामा अक्षांश देशान्तर खुलेको कम्पाइल नक्सा,दफा ३ मा उल्लेख भएको दुरी प्रमाणित गर्ने निकायवाट उद्योग दर्ता सम्वन्धमा प्रचलित ढुंङगा,गिट्टी,बालुवा उत्खनन् विक्री तथा व्यवस्थापन सम्वन्धी मापदण्डमा उल्लेख भएको क्रसर उद्योग संचालनका लागि तोकिएको दुरी सम्वन्धी मापदण्ड बमोजिमको दुरी खुल्ने प्रमाणित कागजात,उद्योग रहने स्थलको जग्गाधनी प्रमाण पुर्जा÷लिज लिएको भए सम्झौताको प्रति र प्राविधिक समितिको स्थलगत निरिक्षण प्रतिवेदन आवश्यक हुने भनिएको छ ।

क्रसर उद्योगको दर्ताको लागि निवेदन साथ पेश गर्नुपर्ने आवश्यक कागजात:उद्योग दर्ता निवेदन फाराम,अनुमति पत्र,स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन,हाल अनुमति प्राप्त गरिसकेका उद्योगको हकमा दुरी सम्बन्धी मापदण्डको अनुगमन प्रतिवेदन,दफा ४ मा उल्लिखित कागजात,क्रसर उद्योगले उद्योग संचालनमा आएपछि उद्योग विभागमा उद्योग संचालनमा आएको जानकारी गराउनुपर्ने साथै उद्योग विभागले क्रसर उद्योग संचालनमा आए पछि समय समयमा अनुगमन गरी प्रतिवेदन प्राप्त गर्ने ।

३.क्रसर उद्योगको लागि दुरी सम्बन्धी मापदण्ड:नेपाल सरकारद्वारा जारी गरिएको प्रचलित ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन् विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्डमा उल्लेख भएको क्रसर उद्योग सञ्चालनका लागि तोकिएको दुरी सम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ।उक्त दुरी सम्बन्धी मापदण्ड निम्नानुसारको निकायबाट प्रमाणित गरी पेश गर्नुपर्नेछ र सोही प्रमाणित कागजातका आधारमा उद्योग विभागले अन्य प्रक्रिया शुरु गर्नुपर्नेछ ।

राजमार्गको राइट अफ वेबाट:सम्बन्धित प्रदेश सडक डिभिजन कार्यालय,खोला वा नदी किनारबाट:सम्बन्धित स्थानीय तह,शिक्षण संस्था,स्वास्थ्य संस्था,धार्मिक,सम्बन्धित स्थानीय तह सांस्कृतिक,पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकायबाट:सम्बन्धित स्थानीय तह,पक्की पुलबाटःसम्बन्धित स्थानीय तह,अन्तर्राष्ट्रिय सिमबाट:सम्बन्धित स्थानीय तह,वन,निकुन्ज तथा आरक्षबाट:सम्बन्धित प्रदेश वन डिभिजन कार्यालय वा राष्ट्रिय निकुन्जको कार्यालय,घनावस्ती बाटःसम्बन्धित स्थानीय तह,हाइटेन्सन लाइनबाटःसम्बन्धित विद्युत प्राधिकरण कार्यालय,ऐतिहासिक ताल,तलैया,जलाशयबाटःसम्बन्धित स्थानीय तह र चुरे पहाडबाटMसम्बन्धित प्रदेश वन डिभिजन कार्यालय वा राष्ट्रपति चुरे मधेश संरक्षण समिति वा राष्ट्रिय निकुन्जको कार्यालयबाट दुरी प्रमाणित गर्नु पर्ने क्रसर उद्योगको अनुमती,दर्ता तथा नियमन सम्बन्धी प्रक्रिया तथा मापदण्ड २०८० को मिति २०८० भदौ ८ गते स्वीकृत गरिएको छ ।उद्योगको स्वामित्वमा रहेको कम्तीमा ४० रोपनी (२०३५० वर्गमिटर जग्गा),उद्योगको आफ्नै स्वामित्वमा जम्मा नभएमा लिज(भाडा)मा लिएको भए कम्तिमा पाँच वर्षको सम्झौता भएको जग्गा हुनु पर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी उद्योगको अनुमतिका लागि माथि दफा १ मा उल्तिरि कागजात पेश गर्ने,विभागले काराजात रुजु गरी औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड समक्ष प्रस्ताव पेश गर्ने,औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डबाट स्वीकृत भए पश्चात वातावरण संरक्षण ऐन तथा वातावरण संरक्षण नियमावली बमोजिम सम्बन्धित निकायवाट वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गराउने,प्रारम्भिक वातावरणीय परीक्षण (IEE)को हकमा उद्योगको अनुमति प्राप्त भए पश्चात कसर उद्योगले ४५ दिन भित्र प्रारम्भिक वातावरणीय परीक्षण (IEE) संग सम्बन्धित कार्यसूची (IEE) तयार गरी स्वीकृतिको लागि उद्योग विभाग समक्ष पेश गर्नपर्नेछ। उद्योग विभागले वातावरण संरक्षण नियमावली बमोजिम त्यस्तो कार्यसूची(TOR)१५ दिन भित्र निर्णय गर्नुपर्ने,क्रसर उद्योगले कार्यसूची स्वीकृत भएको दश महिना भित्र प्रारम्भिक वातावरणीय परीक्षण(IEE)प्रतिवेदन उद्योग विभाग समक्ष पेश गर्नु पर्नेछ। उद्योग विभागले वातावरण संरक्षण नियमावली बमोजिम त्यस्तो प्रारम्भिक वातावरणीय परीक्षण(IEE)प्रतिवेदन सम्बन्धमा १५ दिन भित्र आवश्यक निर्णय गर्नुपर्ने साथै प्रारम्भिक वातावरणीय परीक्षण (IEE)प्रतिवेदन स्वीकृतको लागि दिन गणना गर्दा कुनै विषयमा थप स्पष्ट गर्न लेखि पठाएको वा थप कागजात माग गरेकोमा माग बमोजिमको विषयमा स्पष्ट भई आएको वा थप कागजात प्राप्त भएको मितिबाट गणना गर्नुपर्नेछ।उद्योग विभागले दर्ता अनुमतिको म्यादभित्र प्रारम्भिक वातावरणीय परीक्षण (IEE)  स्वीकृत सम्बन्धी निर्णय गर्नुपर्ने,दुरी सम्वन्धमा स्थलगत अनुगमन भएको प्राविधिक समितिको प्रतिवेदन हुनु पर्ने,क्रसर उद्योगले माथि -घ_ र -ङ_ मा उल्लिखित समय भित्र कार्यसूची तथा प्रारम्भिक वातावरणीय परीक्षण (IEE)  प्रतिवेदन पेश नगरेमा कसर उद्योगको अनुमति स्वतःखारेज हुने र उद्योगले विभाग समक्ष पेश गरेको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको अध्ययन गरी सिफारिस गर्न देहाय बमोजिमको वातावरणीय अध्ययन प्रतिवेदन मुल्यांकन समितिले गर्नुपर्ने तब मात्रै उद्योग अनुमति तथा वातावरणीय अध्ययन प्रक्रिया पुरा हुने भनिएको छ ।

साथै  दुरी सम्बन्धी मापदण्ड पुगे नपुगेको सम्बन्धमा (IEE) पुनरावलोकन समितिले निर्णय गरी सम्बन्धित स्थानीय निकायको प्रतिनिधि रहने गरी समिति वा समितिको सदस्य मध्येबाट स्थलगत अध्ययन गरी प्रतिवेदन प्राप्त गर्ने भनिएको छ ।

प्रविधि तथा वातावरण शाखा,उद्योग विभाग,अनुमति तथा दर्ता शाखा,उद्योग विभाग,कानून शाखा उद्योग विभाग,उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय,वन तथा वातावरण मन्त्रालय,खानी तथा भूगर्भ विभाग,प्रस्तावसँग सम्वन्धित सरोकारवाला निकाय -आवश्यकता अनुसार,विषयगत विज्ञ -आवश्यकता अनुसार_ र प्रविधि तथा वातावरण शाखा,उद्योग विभागको अनुगमन तथा छानविन समिति रहने व्यावस्था गरिएको छ ।

क्रसर उद्योग चलाउने मापदण्ड संशोधन सर्वोच्चद्वारा बदर

सर्वोच्च अदालतले बस्ती,वनजंगल,राजमार्ग र खोला नजिक क्रसर उद्योग चलाउन पाउने गरी सरकारले दुई वर्षअघि गरेको मापदण्ड संशोधन खारेज गरेको छ ।सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र अब्दुल अजिज मुसलमानको सोमबारको इजलासले गिटी,बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड,२०७७ को पहिलो संशोधन बदर गर्दै पुरानै मापदण्ड लागू गर्न निर्देशनात्मक आदेश जारी गरेको हो।

मन्त्रिपरिषद्को २०७९ जेठ ६ को बैठकले क्रसरलाई बस्ती,शिक्षण संस्था,नदी किनार,वन र राजमार्गबाट अझ नजिक पुग्ने बाटो खोलिदिएको थियो।क्रसर उद्योग सञ्चालन गर्दा पालना गर्नुपर्ने दूरीसम्बन्धी मापदण्ड सबै भौगोलिक क्षेत्रमा एउटै रहेकामा पहाड र तराईलाई छुट्याएर अलग–अलग कायम गरिएको थियो।

क्रसरले गरिरहेको दोहनलाई झनै सहज हुने गरी मापदण्ड संशोधन भएको भन्दै वातावरण कानुनविद् अधिवक्ता पदम श्रेष्ठ,राजु फुँयाल र राकेशकुमार शाहले संशोधित मापदण्ड बदरको माग गर्दै २०७९ असार ६ मा सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चले वैज्ञानिक कारणविना जथाभावी रूपमा मापदण्ड संशोधन नगर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सर्वोच्चले यसअघि २०७९ असार ८ मा संशोधित मापदण्ड लागू नगर्न अन्तरिम आदेश जारी गरेकामा हाल आएर बदर नै गरिदिएको हो।

बदर के के भयो ?

क्रसर चलाउन तथा ढुंगा, गिटी, बालुवा झिक्नेसम्बन्धीका संशोधित मापदण्डका बुँदाहरू बदर भएका हुन्। सरकारले संशोधन गरेर पहाडमा क्रसर उद्योग राजमार्गको “राइट अफ वे” र खोला वा नदी–किनारबाट दुई सय मिटर कायम गरेको थियो, जुन खारेज भएको छ। अब साबिककै व्यवस्था अर्थात् तराई र पहाड दुवै क्षेत्रमा राजमार्ग र खोला वा नदीबाट क्रसर पाँच सय मिटर टाढा हुनुपर्ने व्यवस्था लागू हुनेछ।

त्यस्तै,शिक्षण संस्था,स्वास्थ्य संस्था,धार्मिक,सांस्कृतिक,पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकायबाट दुई किलोमिटर टाढा रहनुपर्ने साबिकको व्यवस्था नै लागू हुनेछ।सरकारले मापदण्ड संशोधन गरेर तराईमा एक किलोमिटर र पहाडमा पाँच सय मिटर कायम गरेकामा बदर भएको छ।

त्यस्तै,अन्तर्राष्ट्रिय सीमाबाट क्रसर उद्योगको दूरी एक किलोमिटरमा झारिएकामा बदर भएको छ। अब दुई किलोमिटर साबिककै व्यवस्था लागू हुनेछ।वन,निकुञ्ज तथा आरक्षबाट दुई किलोमिटर टाढा हुनुपर्ने साबिकको व्यवस्था ब्युँतिएको छ। यसअघि सरकारले वनक्षेत्रबाट पाँच सय मिटर मात्र टाढा कायम गरेकोमा सो बदर भएको छ।

घना बस्तीबाट तराईमा एक किलोमिटर र पहाडमा पाँच सय मिटर क्षेत्रमा कसर चलाउन पाउने संशोधित व्यवस्था पनि खारेज भएको छ।साबिककै अर्थात् दुई किलोमिटर टाढा रहनुपर्ने व्यवस्था ब्युँतिएको छ। यसैगरी, हाइटेन्सन लाइनबाट दुई सय मिटरको साबिकको दूरी घटाएर सय मिटर कायम गरिएकामा यो पनि बदर भएको छ।

स्थानीय तहले नदीजन्य पदार्थको संकलन, उत्खनन र बिक्री गर्दा घना बस्ती र वनक्षेत्रको दुई किलोमिटर, राजमार्गको पाँच सय मिटर दूरीभित्रको नदीमा निर्माण सामग्री उत्खनन र संकलन गर्न पाउनेछैनन्।

“ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी(पहिलो संसोधन)मापदण्ड २०७९” मा के छ  ?

“ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी(पहिलो संसोधन)मापदण्ड २०७८”स्वीकृत गर्ने विषयको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको दर्ता नं. १९/२–०३९/१/४ को प्रस्ताव मन्त्री परिषद् बैठक स.१/२०७९ मिति २०७९/१/१३ को मन्त्रिपरिषदको बैठकमा पेश वा मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा छलफल गरी पेशा गर्ने निर्णय भएअनुसार मिति २०७१/१/२२ मा बसेको मन्त्रिपरिषद्,आर्थिक तथा पूर्वाधार समितिबाट परिमार्जन भएबमोजिम यसैसाथ संलग्न “ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी(पहिलो संसोधन)मापदण्ड २०७९”स्वीकृत गर्ने निर्णय गरि मुख्य सचिव शंकरदास बैरागीले सचिव,मन्त्रिपरिषद्,आर्थिक तथा पूर्वाधार समितिलाई जानकारी गराएका छन् ।

“ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७”मा रहेको अनुगमन सम्बन्धी व्यवस्था,क्रसर उद्योगको लागि निर्धारित दूरीसम्बन्धी मापदण्ड,केन्द्रीय तहमा समन्वय संयन्त्रको व्यवस्थाल गायतका अन्य सान्दर्भिक विषयहरूमा समसामयिक संशोधन गर्न वाञ्छनीय भएकोले,नेपाल सरकारले देहायको मापदण्ड बनाएको छ।

जसमा“प्राविधिक टोली गठन सम्बन्धी व्यवस्था जिल्ला विपद् व्यवस्थापन समितिले तोके बमोजिम हुने,“घना बस्ती र वन क्षेत्रको दुई किलोमिटर,राजमार्गको पाँच सय मिटर दूरीभित्रको नदी,”भन्ने वाक्यांश हटाइएको छ।मापदण्डको दफा ४ को उपदफा (१३ क) मा गाउँपालिका वा नगरपालिकाले नदीजन्य पदार्थको संकलनका लागि नदीको धारमा परिवर्तन नहुने व्यवस्था मिलाई ड्याम वा तटबन्ध निर्माण गरी उन्नत प्रविधिको प्रयोगद्वारा रिभर माइनिङ गरी बालुवा प्रशोधन र बिक्री गर्ने कार्य सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्न सक्ने र (१३) ख.मा  आवश्यक अन्य व्यावस्था जिल्ला अनुगमन समितिले तोके बमोजिम हुनेछ ।”भनिएको छ ।

“मापदण्डमा अन्यत्र जुनसकै कुरा लेखिएको भए तापनि प्रत्येक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन् गर्न पाइने छैन,बेमौसमी वर्षाका कारणले खोला वा नदीको बहाव औसत तहभन्दा बढी भएमा जिल्ला विपद् व्यवस्थापन समितिले उपदफा (१६) मा उल्लेख भएको अवधिभन्दा १५ दिन अघि वा पछिसम्मको अवधिमा उत्खनन् कार्यलाई निषेध गर्न सक्नेछ।“ढुंङ्गा,गिट्टी,बालुवा जस्ता साधारण निर्माणमूखी वस्तुहरुको उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी नीतिगत निर्देशन,समन्वय एवम सहजीकरणका लागि केन्द्रीय समन्वय तथा सहजीकरण समिति रहनेछ ।”

जुन समितिमा“संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव,प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,गृह मन्त्रालय,वन तथा वातावरण मन्त्रालय,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवहरुका साथै खानी तथा भूगर्भ विभागका महानिर्देशक,सम्बन्धित प्रदेशको वातावरण हेर्ने मन्त्रालयका प्रदेश सचिव,योजना तथा विकास सहायता समन्वय महाशाखाका सह सचिव र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सम्मीलित समिति गठन हुने“ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी(पहिलो संसोधन)मापदण्ड २०७९”मा व्यावस्था रहेको छ ।

मापदण्डको दफा दफा ११ को उपदफा(४)मा राजमार्गको दुवै तर्फ तराईमा पाँच सय र पहाडमा दुई सय,खोला वा नदी किनारबाट तराईमा पाँच सय,पहाडमा दुई सय मिटर,शिक्षण संस्था,स्वास्थ्य संस्था,धार्मिक,साँस्कृतिक,पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकायबाट तराईमा एक किलो मिटर र पहाडमा पाँच सय मिटर,पक्की पुलबाट तराई र पहाडमा पाँच सय मिटर,अन्र्तराष्ट्रिय सीमाबाट तराई र पहाडमा एक किलो मिटर,निकुञ्ज तथा आरक्षणबाट तराई र पहाडमा दुई किलो मिटर,वन क्षेत्रबाट तराई र पहाडमा पाँच सय मिटर,घना बस्तीबाट तराईमा एक किलो मिटर र पहाडमा पाच सय मिटर,हाईटेन्सन लाईनको पोलबाट तराई र पहाडमा सय मिटर,ऐतिहाँसिक ताल,तलैया,पोखरी र जलाशयबाट तराई र पहाडमा पाँच सय मिटर,सिमसार क्षेत्रबाट तराई र पहाडमा एक लिो मिटरका साथै चुरे पहाडको फेदीबाट तराई र पहाडमा एक किलो मिटर पाँच सय मिटरको दुरी कायम भएको हुनु पर्ने “ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी(पहिलो संसोधन)मापदण्ड २०७९”मा व्यावस्था गरिएको छ,तर सर्लाहीका कुनैपनि क्रसर उद्योगहरुले यस प्रकारको मापदण्ड पुरा गरेका छैनन् । भने सरोकारवाला निकाय मौन देखिएको छ ।

 

सम्बन्धित समाचार