पूर्वपश्चिम लोकमार्गका साथै बीपी लोकमार्गमा सीसीटीभीबाट निगरानी गर्न थालिएको छ । पथलैयास्थित मधेस प्रदेश ट्राफिक कार्यालयले सडकमा गुड्ने सवारी साधनलाई सीसीटीभीमार्फत निगरानी गर्न थालिएकोे हो ।
पूर्व–पश्चिम र लोकमार्गमा गुड्ने सवारी साधनको तीव्रतामा निगरानी गर्न सीसीटीभी प्रयोगमा ल्याइएको उक्त कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सडकमा तीव्र गतिमा गुडेको सवारी साधनलाई निगरानी गर्न समस्या देखिएपछि सीसीटीभीको फुटेज प्रयोग गरी कारबाही सुरु गरिएको हो ।
मधेस प्रदेशको पाँच स्थानमा सीसीटीभी जडान गरिएको र सवारी साधनको गति सोहीअनुसार मापन गरिएको प्रहरी उपरीक्षक गुरुङले बताउनु भयो । सवारी दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत उक्त कार्यालय जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा, महोत्तरी, सिरहा र सप्तरीमा गरी पाँच स्थानमा सीसीटीभी विथ रडारगनसमेत जडान गरिएको छ ।
सीसीटीभीको जडानले दुर्घटना गरेर भाग्ने सवारी साधनको पहिचान खुल्न सजिलो हुनाका साथै तीव्र गतिमा सञ्चालित सवारी साधनलाई कारबाहीको दायरामा ल्याउन सहज भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी निरीक्षक कमलजङ्ग थापाले बताउनु भयो ।
प्रायः जङ्गल क्षेत्रमा पर्ने हाइवे सडकखण्डमा सवारी साधनले दुर्घटना गरी भाग्नेलाई कारबाही गर्न र कुनै समस्यामा पर्नेलाई सीसीटीभीमार्फत निगरानी गर्न सजिलो भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक सुदर्शन थापाले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको फागुनदेखि सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को परिच्छेद–३ को नियम १८ उपनियम ५ मा व्यवस्था भएभन्दा बढी गतिका सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही सुरु गरिएको र सीसीटीभीको फुटेजमार्फत त्यस्ता सवारी साधनलाई कारबाही गर्न झन सहज भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी निरीक्षक टुकेन्द्र श्रष्ठले बताउनु भयो ।
राडारगन र सीसीटीभीको माध्यमले बढी गतिका सञ्चालित यात्रुबाहक सवारी साधन, मोटरसाइकल र मालबाहक सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिले उल्लेख गगर्नुभयो । उहाँका अनुसार तीव्र गतिले सडकमा गुडेको सवारी साधनलाई सीसीटीभी फुटेजमार्फत कारबाही गर्न सहज हुनाका साथै राजस्व पनि वृद्धि भएको छ ।