सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८÷०७९ मा रु २ अर्ब ४५ करोड २४ लाख ७१ हजार ९ सय ३० को तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका ७ मा रहेको कृषि थोक बजार व्यावस्थापन समितिले विसं २०७८ साउन १ देखि विसं २०७९ को असार मसान्तसम्ममा रु ६ करोड १ लाख ६३ हजार २ सय ५० किलो तरकारी निकासी गर्दा रु २ अर्ब ४५ करोड २४ लाख ७१ हजार ९ सय ३० को रकम सङ्कलन गरेको हो ।
साथै आव २०७८÷०७९ को अन्तिम महिना असारमा ५५ लाख ५० हजार २ सय किलो तरकारी निकासी गर्दा रु २० करोड २३ लाख १७ हजार ५ सय बराबरको तरकारी निकासी गरिएको बजार व्यवस्थापन समितिका व्यावस्थापक शम्भु घिमिरेले जानकारी दिनुभयो ।
आर्थिक वर्ष ०७८÷०७९ को पहिलो महिना साउनमा ५५ लाख ५० हजार २ सय किलो तरकरीबाट रु १९ करोड ६४ लाख ७४ हजार २ सय ५०,भदौमा ५४ लाख ४० हजार ८ सय किलोको २४ करोड ३ लाख ६१ हजार २ सय ५०,असोजमा २७ लाख १८ हजार ४ सय किलोको रु १० करोड ६७ लाख २२ हजार ४ सय ५०,कार्तिकमा १५ लाख ४७ हजार ९ सय किलोको रु ८ करोड ६५ लाख ५५ हजार २ सय ५०,मंसिरमा ४७ लाख २१ हजार ९ सय ५० किलोको रु २५ करोड १२ लाख ३३ हजार ५ सय,पुषमा ६७ लाख ५ हजार ५ सय ५० किलोको रु २८ करोड ४ लाख ९७ हजार २ सय,माघमा ८ करोड ५९ लाख ७ हजार ३ सय ५० किलोको रु ३० करोड ८५ लाख ८५ हजार ६ सय २५, फागुनमा ८१ लाख २५ हजार २ सय किलोको रु ३४ करोड ५८ लाख ३१ हजार ७५,चैतमा ३७ लाख ६५ हजार १ सय किलोको रु १३ करोड ८६ लाख १ हजार,बैशाखमा ३८ लाख ४० हजार ३ सय किलोको रु १८ करोड ९९ लाख ४० हजार ६ सय ३० र जेठमा ४४ लाख ८ हजार ३ सय किलोको रु १० करोड ५३ लाख ५२ हजार २ सय बराबरको तरकारी निकासी भएको कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीले जनाएको छ ।
जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका टमाटर, परबर, बोडी, सिमी, भाण्टा, करेलालगायतका तरकारी लालबन्दीको तरकारी बजारमा आउने गरेको छ । देशका सिन्धुली, रामेछाप, काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सितामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुने गरेको तरकारी थोक बजार व्यवस्थापन समितिका अध्यक्ष तोरण बहादुर मगरले जानकारी दिनु भयो ।
त्यसमध्ये टमाटर ५० प्रतिशत, पर्वल २५ प्रतिशत, बोडी १० प्रतिशत, सिमी १० प्रतिशत र अन्य तरकारी पाँच प्रतिशत गरी कूल रु ६ करोड १ लाख ६३ हजार २ सय ५० किलोको रु २ अर्ब ४५ करोड २४ लाख ७१ हजार ९ सय ३० को तरकारी लालबन्दीबाट निकासी भएको हो ।