सर्लाहीको बागमती नगरपालिका ११ कर्मैयाबाट सिन्धुलीको हरिहरपुरगढी जोड्ने सडक अवरुद्ध भएको छ ।बागमती नगरपालिका ११ स्थित पर्ने चिप्लेटी भीरमा पहिरो खसेपछि बागमती नगरपालिका ११ कर्मैया र हरिहरपुरगढी जोड्ने सडक अवरुद्ध भएको बागमती नगरपालिका ११ का वडाध्यक्ष प्रदीप आचार्यले जानकारी दिए ।उनका अनुसार बिहीबार रातभर परेको अविरल वर्षाका कारण बागमती नगरपालिका ११ स्थित पर्ने चिप्लेटी भीरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएपनि स्थानीयले मोटरसाईकल आवत जावत गर्न सक्ने बनाएका भएपनि यात्रुबाहक र मालबाहक सवारी साधन सञ्चालन हुन नसकेका वडाध्यक्ष आचार्यले बताए ।हरिहरपुरगढी गाउँपालिकाले जेसिबी खर्च र बागमती नगरपालिकाले इन्धन बेहोर्ने सहमतीमा पहिरो पन्छाउने र खाल्डा खुल्डी परेका ठाउँमा मर्मत गर्ने काम सुरु गरिएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाले बताए।
उनका अनुसार हरिहरपुरगढी गाउँपालिकाका विभिन्न ३ वटा वडाका मानिसहरु यही सडक भएर हाट बजार भर्न बागमती आइपुग्ने गर्थे ।चाडपर्वको मुखैमा सडक अवरुद्ध भएपछि हाट बजार गर्न आउने मानिसहरुलाई सास्ती भएको छ ।