अब कता जाला हरिवन माओवादी केन्द्रको राजनीति

2.6k Shares

नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटिमा रँडाको मच्चिएको छ । हरि।न नगर कमिटि भित्र कै एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्नेदेखि पार्टीबाट निस्काशन गर्नेसम्मको गतिविधि गर्दा नगरको माओवादी केन्द्रको राजनीतिक यात्रा कता जाने भन्नेमा शुभेच्छुक,शुभचिन्तकहरुले चिन्ता व्यक्त गरेका छन् ।एकले अर्कालाई कारवाही गरेको भन्दै सिलसिलेबार ज्ञापन पत्र आइरहेका छन् । पार्टीभित्रको आन्तरीक विवाद छताछुल्ल भएको छ । अब माओवादी केन्द्र हरिवनकोराजनीति कता जाने हो । भन्नेमा शुभेच्छुक,शुभचिन्तकहरुले चिन्ता छ ।
तत्कालिन माओवादी र जनमोर्चाबीचको विवाद बढेर अहिले एक पक्षले अर्को पक्षलाई गन्दै नगन्ने अवस्था सिर्जना भएको छ । संस्थापन र संस्थापन ईतरको रुपमा माओवादी केन्द्र हरिवन नगर कमिटिको  विवाद बाहिरिएको छ । माओवादी पक्षीय नेता एकातर्फ र जनमोर्चा पक्षीय नेता अर्कोतर्फ लाग्दा पार्टीभित्र द्वन्द्व चर्किदै गएको छ । केही दिनअघि माओवादी केन्द्र नगर सचिवालय सदस्य फडिन्द्र अधिकारीले आफू संयोजक रहने गरी समान्तर कमिटी गठन भएको भन्दै एक पत्र सार्वजनिक गरे पश्चात दुई पक्षले एक अर्काविरुद्ध सिलसिलेबार रुपमा ज्ञापन पत्र सार्वजनिक गर्ने होडबाजी चलेको छ ।


शुक्रबारकै मितिका फरक–फरक पत्र शनिबार दुवै पक्षले सार्वजनिक गर्दै एकले अर्कालाई पार्टीबाट निकालेको उल्लेख गरेका छन् । माओवादी केन्द्र हरिवनका नगर कमिटी अध्यक्ष अर्जुन पन्तले सार्वजनिक गरेको पत्रमा नगर कमिटी सचिवालय सदस्य अधिकारीलाई एक वर्षसम्मका लागि पार्टीबाटै निष्काशन गरिएको उल्लेख गरिएको भएपनि आफ्ना कमिकमजोरी सच्याएर आए पुर्न विचार गर्न सक्ने ज्ञापन पत्र बाहिरिएको छ  ।
अनुशासन उल्लंघन गरेको र पार्टीलाई कमजोर बनाउन समानान्तर कमिटी गठन गरी सामाजिक संजालमा प्रचारप्रसार गर्दै हिँडेको भन्दै माओवादी केन्द्र हरिवन नगर कमिटी सचिवालय सदस्य अधिकारीलाई पार्टीबाटै निकालिएको सोज्ञापन पत्रमा उल्लेख गरिएको छ । सचिवालयको विस्तारित बैठकले पार्टीको विधान २०७८ को धारा ५६ अनुसार कारवाही गर्दै अधिकारीलाई एक वर्षका लागि नगर कमिटीबाट निष्काशन र पार्टी सदस्यता निलम्बन गर्ने निर्णय भएको माओवादी केन्द्र हरिवन नगर कमिटि अध्यक्ष पन्तले बताए । 
नगर कमिटि अध्यक्ष पन्तले अधिकारीमाथि भएको कारवाहीको पत्र सार्वजनिक गर्दै एक वर्षको अवधीमा सच्चिएर आफूले गरेको गल्तीलाई आत्मआलोचना गरेमा पार्टीले पुर्नविचार गर्ने निर्णय भएको उल्लेख गरेका छन् । नगर कमिटि अध्यक्ष पन्तको यो पत्रलाई ‘काउन्टर’ दिँदै समानान्तर नगर कमिटीका संयोजक अधिकारीले नगर कमिटी अध्यक्ष पन्तलगायतका नेतालाई पार्टीबाट निकालिएको पत्र सार्वजनिक गरेका छन् ।
नेता तथा कार्यकर्तामाथि भ्रम पैदा गर्ने गरी पार्टीको लेटरप्याड र छाप बारम्बार दूरुपयोग गरेर आफूमाथि गम्भीर आरोप लगाउँदै कार्यकर्तामाथि निराशा छाउने गतिविधि गरेको भन्दै नगर कमिटी अध्यक्ष पन्त, नगर कमिटी सचिव गौरी महतो, नगर कमिटि सह सचिव विवेक मैनालीलाई एक वर्षका लागि पार्टीबाट निकालेको अधिकारीले निकालेको पत्रमा उल्लेख गरिएको छ ।
अधिकारीले पन्त, महतो र मैनालीले नीति र वैधानिक व्यवस्थाको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको र पार्टीलाई कमजोर बनाउन कथित गतिविधि गर्दै स्थानीय निर्वाचनमा पार्टीलाई हराउन भूमिका खेलेकाले पार्टीबाट निकाल्नु परेको पत्रमा भनिएको छ । यदि सच्चिएर आफूले गरेको गल्तीलाई आत्मआलोचना गरी आगामी भदौ १५ गते हुने पार्टीको नगर कमिटीको नगर सम्मेलनमा सहभागी भएमा पार्टीले पुर्नरविचार गरी उचित जिम्मेवारी दिने अधिकारीको पत्रमा उल्लेख छ ।
दुई पक्षबीचको यो विवादका कारण हरिवनमा माओवादी केन्द्रको आधिकारिक पक्ष को हो ? भन्नेमा नै अन्यौलता देखिएको छ ।समानान्तर कमिटी गठन गर्नुभएका अधिकारीलाई माओवादी केन्द्रका अध्यक्ष एवम गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पक्षको र पन्त समूहलाई वरिष्ठ उपाअध्यक्ष नारायणकाजी श्रेष्ठ(प्रकाश)पक्षको साथ रहेको पार्टीका एक नेताले बताए ।
अन्तरघाताको चर्चा भइरहँदा वैशाख ३० मा सम्पन्न स्थानीय निकायको निर्वाचनमा माओवादी केन्द्रले हरिवन नगरपालिकाको नगर प्रमुख जितेको थियो । एक जना वडा सदस्य समेत नजिते पनि माओवादी केन्द्रका जिल्ला संयोजक समेत रहेका रमेश बुढाथोकी(कमल) निवर्तमान नगर प्रमुख एवमनेकपा(एमाले)का प्रभावशाली नेता गणेश प्रसाद प्रसाईलाई हराउँदै नगर प्रमुखमा निर्वाचित भएका थिए ।
त्यस्तै माओवादी केन्द्रको शुभेच्छुक संगठन प्रेस सेन्टर नेपाल सर्लाहीको जिल्ला कमिटिको बैठकले पार्टीका नेताहरुको मोनोपोलीका कारण आफुहरु पार्टीको निर्देशन नमान्ने निर्णय गरेको छ । संस्थापन वा संस्थापन ईतर नभई सिङ्गो माओवादी केन्द्र एक भएर नलागे आगामी निर्वाचनमा ठुलै चुनौतीको सामाना गर्नु पर्ने भएकाले प्रेस सेन्टर नेपाल आफैँ स्वयत संगठन भएकाले पार्टीका कुनै पक्ष विपक्षका नेताहरुको कुरा आफुहरुलाई मान्य नहुँदै भन्दै नेताहरुको मानोपोलीको आफुहरुले खुलेर विरोध गरेको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिका अध्यक्ष पत्रकार शंखर पहाडी(गौरब)ले बताए । उनले भने हाम्रो चाहना पार्टी भित्रको आन्तरीक कुरा बसेर छलफलबाट निष्कर्ष निकाल्नु पर्छ भन्ने हो तर एउटा नगर कमिटिको आन्तरीक विवादका कारण आन्तरीक सामान्य कुरा पनि बजार हल्लामा परिणत भयो । यो कार्य हाम्रो लागि स्विकार्य छैन ।
प्रेस सेन्टर नेपाल सर्लाहीले पाँचौँ पुर्ण  बैठक गर्दै शुभेच्छुक संगठनको हिसाबले पार्टीलाई गर्न सक्ने सहयोग लगायतका निर्णयहरु गरेको छ । संस्थापन वा संस्थापन ईतर थाहा छैन सिङ्गो पार्टीलाई थप व्यावस्थित र अनुशासित पार्दै लैजाने विषयमा जिल्ला पार्टीलाई हाम्रो साथ र सुझाब हुन्छ । प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष पत्रकारएस.पी.गौरबले कमलामाई खबरलाई बताए । उनले पछिल्लो समय पार्टीका नेता तथा कार्यकर्ताहरुमा मोनोपोली बढेको भन्दै त्यस प्रकार गतिविधिहरु नगर्न नगराउन समेत प्रेस सेन्टर नेपाल सर्लाहीको पाँचौँ पुर्ण बैठकले आग्रह गरेको छ । 

सम्बन्धित समाचार