इश्वरपुरको सरकारी एम्बुलेन्स नै बिरामी,चर्काे भाडा तिर्न स्थानीय वाध्य

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-११ गते   ५५० पटक हेरिएको

ईश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजारको हुलाकी सडक छेउमा विगत करिब ८ वर्षदेखि बिरामी परेको सरकारी एम्बुलेन्स

सर्लाहीको ईश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजारको हुलाकी सडक छेउमा सरकारी एम्बुलेन्स विगत करिब ८ वर्षदेखि अलपत्र परेको छ । ईश्वरपुर नगरपालिका ६ मा रहेको ईश्वरपुर स्वास्थ्य चौकीको सरकारी एम्बुलेन्स ईश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजारको हुलाकी सडक छेउमा  विगत करिब ८ वर्षदेखि अलपत्र परेको हो । 
देश सङ्घीय संरचनामा जानु पहिला नै खरिद भएको एम्बुलेन्स विगत लामो समयदेखि सडक छेउमै अलपत्र अवस्थामा हुँदा समेत सरोकारवाला निकाय मौन देखिएको छ । ना १ झ ९६८ नंम्बरको एम्बुलेन्समा स्थानीय सरकारको नजर पुगेको छैन भने सेवाग्राहीहरु महँगो भाडा तिरेर निजी एम्बुलेन्सको प्रयोग गर्न बाध्य भएका छन् ।


भारत सरकारको सौजन्यमा खरिद भएको उक्त एम्बुलेन्स सोही चौकीको एम्बुलेन्स सञ्चालन समितिमार्फत सञ्चालनमा हुँदै आएकामा स्थानीय तहका पूर्वजनप्रतिनिधि र समिति बीचको विवादका कारण बेवारिसे भएको हो । समितिको खातामा करिब रु सात लाख बचत रहे पनि एम्बुलेन्स मर्मतमा कसैको पनि ध्यान नपुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
“उक्त एम्बुलेन्स विगत लामो समयदेखि बेवारिसे छ । एम्बुलेन्स मर्मत गरी सञ्चालनमा ल्याउन आफूहरुले पूर्व नगरप्रमुखसँग पटक पटक आग्रह गरे पनि उनले वास्ता नगरेको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक सुगेन्द्र महतोले बताए ।उनका अनुसार लामो समय भैसकेकाले अब मर्मत गरेर पनि एम्बुलेन्स प्रयोगमा ल्याउन

सकिने अवस्था छैन तर समितिको खातामा करिब रु सात लाख रकम रहेकाले त्यसको सट्टामा अर्को एम्बुलेन्स खरिद सकिन्छ ।तत्कालीन नगरप्रमुख मनोजकुमार देवकोटाले उक्त एम्बुलेन्स नगरपालिकाका नाममा आउने भए मर्मत गर्ने नत्र नगर्ने बताएपछि सरकारी एम्बुलेन्स थन्किएको एम्बुलेन्स सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष अवध रौनियारले बताए ।


पूर्वनगरप्रमुख देवकोटाले उक्त एम्बुलेन्स मर्मत नहुने भएका कारण रु १० लाखको लागतमा अर्को एम्बुलेन्स खरिद गरी वडा नं. ३ को भक्तिपुर स्वास्थ्य चौकीमा पठाएको थियो । उनका अनुसार सो एम्बुलेन्स मर्मत नहुने भएपछि लिलामी गर्न पनि दाताका नाममा रहेका कारण समस्या भएको भएको थियो । पन्ध्र वटा वडा रहेको उक्त नगरपालिकामा पाँचवटा स्वास्थ्य चौकी, सात वडा सामुदायिक आधारभूत स्वास्थ्य केन्द्र र एउटा नगर अस्पताल गरी १३ वटा सरकारी स्वास्थ्य संस्थामा एउटामात्र सरकारी एम्बुलेन्स रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
नगरपालिकाभित्र करिब २० वटा निजी एम्बुलेन्स छन् । नगरपालिकाको एउटा मात्र सरकारी एम्बुलेन्स हुँदा यहाँका बिरामी निजी एम्बुलेन्स प्रयोग गर्न बाध्य भएका स्थानीय सुरेश साफीले बताए ।उनका अनुसार नगरपालिकाका १५ वटा वडामध्ये १३ वटा वडामा सरकारी स्वास्थ्य संस्था छन्। निजी एम्बुलेन्स लिएर जाँदा महँगो रकम तिर्नुपरेको छ ।
नगर स्वास्थ्य शाखाका अनुसार नगरबाहिर उपचारका लागि बिरामी पठाउनु पर्दा जिल्लाका अरू स्थानीय तहहरुसँग एम्बुलेन्स माग्नुपर्ने बाध्यता छ ।समयमै एम्बुलेन्स नपाउँदा बिरामीहरुको अकालमै ज्यानसमेत जाने गरेको स्थानीयवासीले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech