पूर्वपश्चिम लोकमार्गमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले खाडल पुर्न प्रयोग गरेको इमोस्नल (कालोपत्र) एक महिना टिक्न नपाउँदै फेरी भत्किएको छ । ठुल्ठूला खाल्डा टाल्न पूर्वपश्चिम लोकमार्गमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले खाडल पुर्न प्रयोग गरेको इमोस्नल (कालोपत्र) फेरि भत्किएको हो ।
लोकमार्गमा भएको खाल्डाका कारण दुर्घटनाको जोखिम बढेको सवारी चालकहरुको भनाइ छ । सर्लाहीको बाँकेदेखि रौतहटको धन्सार सम्मको करिब ५६ किलोमिटर खण्ड हेर्ने सडक डिभिजन कार्यालयले आँखा छारो हाल्ने बाहेक केही काम नगरेको स्थानियको भनाई छ । उक्किएको पिच र खाल्डा पुर्न सडक कार्यालयले इमोस्नल प्रविधिको कालोपत्रे गरेको थियो ।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका कार्यालय प्रमुख दरोगा प्रसाद साह इन्जिनियर रमेशकुमार गोइतले पानी परेको समयमा टाल्ने काम भएकोले टिकाउ नभएको बताउनु भयो । राष्ट्रिय लोकमार्गमा खाल्डा भएपछि टाल्नलाई घाम पर्खिने कुरै भएन, उहाँको भनाई छ । पानीमै इमोस्नलमा गिट्टीबालुवा हालेर टाल्ने काम भएकोले भत्किन थालेको हो । सडक कार्यालयले सर्लाहीको बाँकेदेखि रौतहटको धन्सार सम्मको करिब ५६ किलोमिटर खण्ड र त्यो विचमा पर्ने पुलहरु टाल्दै आएको छ । हरेक एक पटक टाल्दा करिब २५÷३० लाख खर्च हुने इन्जिनिएर गोइतले बताउनु भयो ।
सडकले पछिल्लो समय लोकमार्गको खाडलमा इमोस्नल प्रविधिबाट टाल्न थालेको छ । यसमा गिट्टीबालुवा राखेर घोले पुग्छ । यसलाई पकाउनु पर्दैन् । केही समयअघि अलकत्रा पकाएर गिट्टीबालुवा राख्ने गरिन्थ्यो । खाडल भएको ठाउँमा पुरेर माथिबाट रोलर चलाएन्थ्यो । तर इमोस्नल प्रविधि अपनाउँदा रोलर लगाउनु पर्दैन, खाल्डोमा सिधै मेटेरियल हाले पुग्छ । अहिले सर्लाहीको बाँकेदेखि रौतहटको धन्सार सम्मको करिब ५६ किलोमिटर खण्डको भत्कीएको स्थानमा टल्ने काम चलि रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साह÷एलाइट जेभीले रु १० करोडमा सर्लाहीको बाँकेदेखि रौतहटको धन्सार सम्मको करिब ५६ किलोमिटर खण्डको ठेक्का सकारेको हो । अहिले वर्षा भइरहेको र घाम लाग्न थालेपछि काम सुरु हुन्छ, गोइतले बताउनु भयो । उहाँले त्यसपछि वर्षाका बेला खाल्डो हुने समस्या नरहने बताउनु भयो ।
धनुषाको ढल्केवरदेखि पश्चिम बाराको पथलैयसम्म लोकमार्गका खाल्डो नपुरिदाँ दुर्घटनाको जोखिम बढेको छ । लोकमार्गमा अधिकांश दुर्घटना खाल्डो छल्ने क्रममा भइरहेको ट्राफिक प्रहरीको बुझाई छ । गहिरो खाल्डोले केही न केही ठाउँमा सवारी दुर्घटना हुने गरेको देखिन्छ । निरन्तरको वर्षाले टालटुल गरेको लोकमार्गको उस्तै हालत भएको छ । टालटुलका भरमा चल्दै आएको लोकमार्गमा हरेक वर्ष वर्षाको समयमा गहिरो खाल्डा बन्दा सडकमा साना तथा ठूला सवारी चलाउन समस्या हुने गरेको सवारी चालकहरुको भनाई छ ।
भत्किएको सडकमा दुर्घटनासगैँ टायर कट लाग्ने,पट्टा भाचिनेजस्ता समस्या बढेको माल बाहक सवारी साधन सञ्चालकहरुको भनाई छ । राजमार्गमा खाल्डा भएकै कारण साना सवारीसाधनहरु र मोटरसाइकल चलाउ समेत समस्या हुने गरेको छ ।
बढी भार क्षमताको मालवाहक सवारीसाधनका कारण पनि टालेको स्थानमा चाडै उक्कने गरेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका कार्यालय प्रमुख साहले बताउनु भयो । खाल्डा खुल्डीले मोटरसाइकल,टेम्पो,जीप,कारलगायतका साना सवारी साधन दुर्घटनामा पर्ने खतरा बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख प्रहरी निरीक्षक इश्वर कार्कीले बताउनु भयो । उहाँका अनुसार असार अन्तिमदेखि भइरहेको लगातार वर्षाका कारण पूर्व(पश्चिम लोकमार्गका अधिकांश पुलहरुमा खाल्डो परेको र तीव्र गतिमा चलाइएका सवारी खाल्डोमा परेर गम्भीर किसिमको दुर्घटना हुने खतरा बढेको छ भने लोकमार्गको खाल्डो पुर्न सडकको ध्यानाकर्षण गराएको उहाँले बताउनु भयो । लोकमार्ग पुरानो भइसकेकोले पानी परेको समयमा सवारी गुड्दा कालोपत्रे उप्किने समस्या बढ्दै गएको सडक डिभिजन कार्यालयको भनाइ छ । ५० वर्षअघि निर्माण गरिएको लोकमार्ग अहिले जताततै जिर्ण भईसकेको छ । भने पुलहरुको हालत समेत उस्तै भएको छ ।