सर्लाहीको लालबन्दी नगरपालिका ६ स्थित रहेको खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लि.लालबन्दीको अध्यक्ष पदका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । संस्थाको आगामी ४ वर्षे कार्यकालका लागि नेपाली कांग्रेसबाट लालबन्दी नगरपालिका ७ का इन्द्र योन्जन,नेकपा(माओवादी केन्द्र)बाट लालबन्दी नगरपालिका ४ का हेमबहादुर श्रेष्ठ (श्याम) र नेकपा(एमाले)बाट लालबन्दी नगरपालिका ६ का देवनाथ पोखरेलबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुने भएको हो ।
निर्वाचन समितिले उम्मेदवारहरुलाई बिहीबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको भएपनि कोषाध्यक्ष पदका एक जना उम्मेदवार सुनिलकुमार साहबाहेक पदाधिकारी पदका अन्य कोही पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएका निर्वाचन समितिले जनाएको छ । खानेपानीको निर्वाचनका लागि नेपाली कांग्रेसले नेकपा (एकीकृत समाजवादी)सँग तालमेल गरेको छ ।कांग्रेस(समाजवादीको समूहबाट अध्यक्षमा योन्जन, उपाध्यक्षमा अर्जुन चौधरी, सचिवमा अप्सरा वाग्ले र कोषाध्यक्षमा डुकेन्द्र बहादुर खत्री (कपिल) को उम्मेदवारी परेको छ ।
यस्तै, माओवादी केन्द्रले जसपा र लोसपासँग तालमेल गरेको छ । माओवादी केन्द्रबाट अध्यक्षमा श्याम,उपाध्यक्षमा इन्द्र बल,सचिवमा राधादेवी भण्डारी र कोषाध्यक्षमा घमकुमार श्रेष्ठ (राजकुमार) को उम्मेदवारी परेको छ ।
यस्तै, एमालेबाट अध्यक्षमा पोखरेलले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा गंगाराम महतो,सचिवमा हरिमाया थिङ र कोषाध्यक्षमा मानबहादुर विश्वकर्माको उम्मेदवारी परेको छ । दलहरुले खानेपानीको यो निर्वाचनलाई प्रतिष्ठाको विषय बनाइरहेका छन् । लालबन्दी खानेपानीको अध्यक्षमा यसअघि बासुदेव अधिकारी अध्यक्ष रहनु भएको थियो । अधिकारी गत वैशाख ३० मा सम्पन्न स्थानीय निकायको निर्वाचनबाट लालबन्दी नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित भएपछि उपाध्यक्ष शान्ता भण्डारीले अहिले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाली रहनु भएको छ ।
खानेपानीको नयाँ नेतृत्व चयन गर्न साउन २८ गते मतदान हुने छ । खानेपानीका नियमित महशुल तिरेका र ब्ल्याक लिष्टमा नपरेका ६ हजार ८ सय ३४ जना उपभोक्ताले २८ गते हुने निर्वाचनको मतदाता गर्ने छन् ।
निर्वाचन समितिले २८ गतेको निर्वाचनका लागि मतदान स्थल समेत तोकेको छ । वडा नं. ३, ४ र ५ का लागि शिशु कल्याण जनता मावि हरिभवन, वडा नं. ६, ७, ८ र ९ का लागि खानेपानीकै कार्यालय लालबन्दी नगरपालिका ६ लेखाली चौर र वडा नं. १०, ११, १२ र १३ का लागि हीरापुर आधारभूत विद्यालयमा मतदान केन्द्र तोकिएको निर्वाचन समितिले जनाएको छ । लालबन्दी नगरपालिकाको ११ वटा वडामा खानेपानी वितरण हुँदै आएको छ ।
त्यस्तै,माओवादी केन्द्र,लोसपा र जसपाका तर्फका उममेदवारका लागि घर छाप,कांग्रेस र एकिकृत समाजवादीको तर्फका उम्मेदवारहरुका लागि करुवा र नेकपा(एमाले)का उम्मेदवारका लागि चस्मा छाप चुनाव चिन्ह पनि निर्वाचन समितिले उम्मेदवारहरुलाई प्रदान गरेको छ ।