Close This

हरिवन खानेपानीमा अनियमितता, वडाध्यक्ष ढुंगानाको संयोजकत्वमा छानबिन समिति गठन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-२५ गते   १६०३ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ८ र ११ मा खानेपानी वितरण गर्दै आएको खानेपानी उपभोक्ता समितिले अनियमितता गरेको भन्दै छानबिन समिति गठन गरिएको छ । हरिवन नगरपालिका ८ र ११ मा खानेपानी वितरण गर्दै आइरहेको समिति भित्र अनियमितता भएको भन्दै छानबिनको माग भएपछि छानबिन समिति गठन गरिएको छ ।
बुधबार भएको भेलाले हरिवन नगरपालिका ८, का वडाध्यक्ष प्रज्वल ढुंगानाको संयोजकत्वमा ११ सदस्यीय छानबिन समिति गठन भएको हो । हरिवन खानेपानीको साधारण सभा अन्तर्गत साउन १५ गते खुल्ला सत्र भएको थियो । त्यसदिन अनियमितताको कुरा उठेपछि नयाँ नेतृत्वका लागि सहमती जुट्न सकेन । सहमती नजुटेपछि विवाद उत्पन्न भएको थियो ।
त्यसपछि नयाँ नेतृत्व चयनका लागि बुधबार साउन २५ गते बन्द सत्र गर्ने सहमती भएको थियो । तर बुधबार पनि नयाँ नेतृत्वमा सहमती जुट्न सकेन र समितिभित्रकै सदस्यले अनियमितताको कुरा उठाएपछि छानबिन समिति गठन गरिएको हो ।
हरिवन खानेपानीको धेरै वर्षसम्म हालका प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीले नेतृत्व गर्नु भएको थियो । २०७४ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि उप्रेतीले अध्यक्ष पदबाट राजिनामा दिनुभएको थियो ।
त्यसपछि २०७४ सालमा नै स्थानीय निकायको निर्वाचनबाट निर्वाचित वडाध्यक्ष यज्ञविनोद ढुंगेल आफैले खानेपानीको समेत अध्यक्ष भएर ५ वर्ष चलाउनु भएको थियो । अनियमितता लगायतका कुरा उठेपछि खानेपानीले नयाँ नेतृत्व पाउन नसकेको छैन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech