शिक्षक सेवा आयोग परीक्षाका लागि नियुक्त केन्द्राध्यक्षहरूको एक दिने अभिमूखीकरण सम्पन्न

2.4k Shares

सर्लाहीमा शिक्षक सेवा आयोगको परीक्षा सञ्चालनका लागि नियुक्त भएका केन्द्राध्यक्षहरुको एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरले निम्नमाध्यमिक तह अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको  लागि जिल्लामा रहेका केन्द्रहरुका केन्द्राध्यक्षहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरको सूचना अनुसार साउन २८ गते विहान ८ः०० बजेदेखि सञ्चालन हुने निम्नमाध्यमिक तह अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको केन्द् सर्लाहीमा पनि तोकिएको र ती केन्द्रहरुमा अटिने केन्द्राध्यक्षहरुलाइ एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले जनाएको छ ।
अभिमुखीकरण कार्यक्रममा जिल्ला परीक्षा समन्वय समिति सर्लाहीका अध्यक्ष एवम सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले शिक्षक सेवा आयोग परीक्षा सञ्चालन निर्देशिका,२०७८, शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरको परीक्षा सञ्चालन विषयक परिपत्र तथा जिल्ला परीक्षा समन्वय समिति सर्लाहीको निर्देशनानुसार स्वच्छ, निष्पक्ष, मर्यादित,अनुशासित,व्यवस्थित,विश्वसनीय र भय रहित वातावरणमा परीक्षा सञ्चालन, व्यवस्थापन एवम सम्पादन गर्न÷गराउन आग्रह गर्नुभयो । उहाँले तराई मधेश क्षेत्रमा परीक्षामा हुने गरेको अनियमिततालाई पूर्णरुपमा बन्द गरी जिल्लाको साख जोगाउने सोचले राष्ट्रसेवक कर्मचारीहरुलाई केन्द्राध्यक्ष,सहायक केन्द्राध्यक्ष र निरीक्षकमा नियुक्ति गरिएको बताउनु भयो । उर्जावान युवा  केन्द्राध्यक्षहरुबाट परीक्षा मर्यादित  रुपमा सञ्चालन हुनेमा आफु विश्वस्त रहेको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनु भयो । 
यसैगरी जिल्ला परीक्षा समन्वय समितिका सदस्य सचिव एवम निमित्त इकाइ प्रमुख रामआधार सिंह कुशवाहाले शिक्षक सेवा आयोगको लिखित परीक्षा“शिक्षक सेवा आयोग परीक्षा सञ्चालन निर्देशिका,२०७८”बमोजिम सञ्चालन गर्नु पर्ने बताउनु भयो । उहाँले परीक्षाको मर्यादा कायम गर्न हरसम्भव प्रयास गरिने बताउनु भयो । 
यसैगरी अभिमुखीकरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक सुनिल कुशवाहाले शिक्षक सेवा आयोगको परीक्षालाई स्वच्छ,निष्पक्ष,मर्यादित,अनुशासित, व्यवस्थित,विश्वसनीय र भय रहित वातावरणमा सञ्चालन,व्यवस्थापन एवम सम्पादन गर्न आवश्यक कानून,विधि र प्रकृयाको बारेका सहजीकरण गर्नु भयो । उहाँले शिक्षक सेवा आयोगबाट भए गरेका निर्देशनहरुको पुर्ण रुपमा पालना गर्न आग्रह गर्नुभयो ।
“शिक्षक सेवा आयोग परीक्षा सञ्चालन निर्देशिका, २०७८”बमोजिम सम्भव भएसम्म संघीय÷प्रदेश÷स्थानीय÷सार्वजनिक संस्थानका अधिकृत एवम सहायकस्तरका(स्थायी÷करार) कर्मचारीहरुलाई खटाइने व्यवस्था रहेको हुदाँ राष्ट्रसेवक कर्मचारीलाई नै जिल्ला परीक्षा समन्वय समिति सर्लाहीले केन्द्राध्यक्ष,सहायक केन्द्राध्यक्ष र निरीक्षकमा नियुक्ति गरेका छन् । । जिल्लामा २० वटा परीक्षा केन्द्रहरु रहेका छन् । परीक्षार्थीहरुको यातायात र बसाईलाई मध्यनजर गर्दै जिल्लाका सदरमुकाम मलंगवामा ९ वटा र पुर्व पश्चीम लोकमार्गमा ११ वटा गरी जम्मा २० वटा परीक्षा केन्द्र कायम गरिएको शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीले जनाएको छ । उक्त परीक्षा केन्द्रहरुमा प्रतिकेन्द्र २ सय ५६ जना परीक्षार्थीहरुका दरले जिल्लाभरीका २० वटा केन्द्रमा गरी जम्मा ५ हजार १ सय २० जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुने बताइएको छ । यसका लागि २० जना केन्द्राध्यक्ष,४० जना सहायक केन्द्राध्यक्ष, २ सय ५६ जना निरीक्षक, ६० जना सहयोगी र आवश्यकता अनुसार सुरक्षाकर्मी समेत खटाइएको छ । 

सम्बन्धित समाचार