गोडैतामा जनजीवन सामान्य पार्न स्थानीय सर्वदलिय / सर्वपक्षिय बैठक

एसपि गौरव    प्रकाशित: २०८०-४-१७ गते   ४४८ पटक हेरिएको

सर्लाहीको गोडैता बजार तत्काल खुलाउन तथा जनजीवन सामान्य पार्न स्थानीय सर्वदलिय/सर्वपक्षिय समन्वय बैठक  बसेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहलमा स्थानीय राजनीतिक दलहरुसँग सर्वदलिय / सर्वपक्षिय समन्वय बैठक राखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
उनका अनुसार बजारका पसलहरु तत्काल संचालनमा ल्याई जनजीवन सामान्य बनाउन सबै पक्षले आवश्यक समन्वय,सहयोग र पहल गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहलमा स्थानीय सर्वदलिय/ सर्वपक्षिय समन्वय बैठक  बसेको हो ।
गत शनिबार भएको अप्रिय/असामाजिक घटनालाई लक्षित गरी सामाजिक सन्जालमा कसैले सामाजिक सद्भाव बिग्रिने खालका सामग्रीहरु पोष्ट गरे कानून बमोजिम कारवाही गरिने तथा शनिबारको घटनालाई सुक्ष्म रुपमा अनुसन्धान गरी दोषी उपर कारवाही चलाउने बुधबारको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
उनका अनुसार एक–अर्का समुदायले मानव अधिकारको सम्मान, शान्ति सुव्यवस्था कायम गर्न सबैले आ–आफ्नो दायित्व पूरा गर्ने,शान्ति सुव्यवस्था कायम,सार्वजनिक सम्पत्तिको संरक्षण,धार्मिक सद्भाव र सामाजिक सद्भाव कायम राख्न संयमता अपनाउने निर्णय गरिएको छ ।
शनिबारको घटनापछि गोडैता बजार अझै पूर्णरुपमा खुल्न नसकेपछि बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा अधिकारीले गोडैतामै पुगेर जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह,स्थानीय जनप्रतिनिधि,रातनीतिक दलका प्रतिनिधि,दुवै समुदायका अगुवा र अन्य सरोकारवालासँग छलफल गरेका हुन् ।छलफलपछि सीडीओ यादव, गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र कुमार यादव,चारवटै सुरक्षा निकायका प्रमुख लगायतले बुधबार साँझ बजारको अनुगमन समेत गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
मोहरम पर्व मनाउनेक्रममा गत शनिबार गोडैतामा हिन्दूधर्मलम्बीहरु र इसाई धर्मलम्बीहरु वीच झडप भएदेखि प्रहरीले गोडैता बजारमा रातदिन सुरक्षा पहार दिइरहेको छ । बजारमा बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ भई रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech