आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको संघारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले सिन्धुलीको राजनीतिक वातावरण असामान्य रूपमा तातेको छ।पार्टी निर्णयप्रति असन्तुष्टि जनाउँदै सिन्धुली क्षेत्र नम्बर २ मा नेकपाका नेता महेश्वर दाहालले बागी उम्मेदवारी दर्ता गराएपछि स्थानीय राजनीति मात्र नभई पार्टीको संगठनात्मक संरचना र निर्णय प्रक्रियामाथि नै गम्भीर प्रश्न उठेको हो ।लामो समयदेखि वाम राजनीतिमा सक्रिय रहँदै आएका पूर्व मन्त्री हरिबोल गजुरेल र पार्टीका उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएका नेता दाहाललाई कार्बाही गरेपछि सिन्धुलीको राजनीतिक माहोल थप तातेको हो ।
पूर्व मन्त्री गजुरेलले पार्टीका उम्मेदवार लेखनाथ दाहाल(राजन)का विरुद्ध बागी उम्मेदवार दाहालको प्रस्तावक बनेर उम्मेदवारी दर्ता गराएपछि नेकपा सिन्धुली झन् दुई धारमा विभाजित भएको छ।दाहालको समर्थकका रूपमा जिल्ला संयोजक पानीराज बम्जन रहेका भएपनि नेकपाका संयोजक पुष्प कमल दाहाल(प्रचण्ड) र सह संयोजक माधव कुमार नेपालले हस्ताक्षर गरि एक विज्ञप्ती जारी गर्दै गजुरेल र दाहाललाई कार्बाही गरेपछि सिन्धुलीको राजनीतिक वृतमा हल्लीखल्ली मच्यिएको छ ।
सिन्धुली क्षेत्र नम्बर १ बाट सिफारिस भएका लेखनाथलाई पार्टी केन्द्रले क्षेत्र नम्बर २ बाट टिकट दिएको निर्णयलाई गजुरेल समूहले पार्टीको विधिविपरीत भन्दै आपत्ति जनाउँदै बागी उम्मेलदवारी दर्ता गरेपछि उनीहरुलाई कार्बाही गरिएको भन्दै विज्ञप्ती जारी गरेको छ ।
जुन विषय व्यक्तिगत आकांक्षा भन्दा पनि पार्टीभित्र विधि र न्यायको सवालसँग जोडिएको विषय रहेको र संयोजक प्रचण्डले त्यसलाई लत्याएका गजुरेलको आरोप छ र “यो कुनै व्यक्ति विशेषको चाहना होइन, यो अस्तित्वको लडाइँ हो,अगाडि चट्टान छ, पछाडि पहिरो । या त चट्टान फोडेर अघि बढ्नुप¥यो, या त पहिरो पन्छाएर । केन्द्रले विधि मिचेपछि हामी बाध्य भएर यो बाटो रोज्यौ ।”उनको यो अभिव्यक्तिले पार्टीभित्रको असन्तुष्टि कति गहिरो छ भन्ने स्पष्ट संकेत गरेको छ ।
गजुरेल मात्र नभई नेकपाका जिल्ला इन्चार्ज बुद्धिमान माझी(वसन्त)पनि केन्द्रको निर्णय प्रति खुलेर असन्तुष्ट देखिएका भएपनि केन्द्रले गजुरेल र दाहाललाई मात्रै कार्बाही गरेको छ ।उनका अनुसार समस्या व्यक्ति विशेषसँग होइन,निर्णय प्रक्रियासँग जोडिएको हो ।आफूलाई “विद्रोेही” भनेर चित्रण गरिनु अन्यायपूर्ण भएको बागी उम्मेदवार दाहालको दाबी छ । पार्टीकै संरचना र जिल्ला कार्यदलको सिफारिस अनुसार आफुले उम्मेदवारी दिएको दाहालले दाबी गरे ।
यता,नेकपाका उम्मेदवार लेखनाथले पार्टी केन्द्रले जिल्लाको सिफारिस अनुसार नै टिकट दिएको दाबी गरे।उनले विगतका निर्वाचनमा आफूलाई एकल सिफारिस हुँदाहुँदै टिकट नपाएको स्मरण गराउँदै यस पटकको बागी उम्मेदवारीलाई व्यक्तिगत असन्तुष्टिको परिणाम भनेका छन् ।
“२०७० र २०७४ मा हरिबोल गजुरेलले टिकट पाउँदा मैले पार्टी निर्णय मानेर सहयोग गरें,” लेखनाथ भन्छन्,“आफू हुँदा ठीक,आफू नहुँदा बेठीक भन्ने त भएन नि।”उनका अनुसार २०७९ मा टिकट पाउँदा पनि गजुरेलको सहयोग नपाएको र यस पटक पनि सुरुमै बागी उठाइनुले पार्टी अनुशासन कमजोर बनाएको छ ।
सिन्धुली क्षेत्र नम्बर २ मा देखिएको यो बागी उम्मेदवारी केवल एक निर्वाचन क्षेत्रको विवादमा सीमित छैन।यसले नेकपाभित्र विधि,अनुशासन र आन्तरिक लोकतन्त्रको अभ्यास कस्तो छ भन्ने गम्भीर प्रश्न उठाएको छ।पार्टी केन्द्र र जिल्ला नेतृत्वबीच समन्वय नहुँदा संगठनात्मक संरचनामा देखिएको दरार अब सार्वजनिक बहसको विषय बनेको छ ।