करिब १५ वर्षसम्म पत्रकारितामा योगदान दिएका अभिषेक नगरकोटी अहिले होटल तथा पर्यटन व्यवसायमा सक्रिय रहेका छन्।लामो समय विभिन्न सञ्चार माध्याममा काम गरेका नगरकोटी अहिले सर्लाहीको लालबन्दी १३ पत्थरकोट मा आफ्नो होटल तथा रिसोर्ट सञ्चालन गर्दै पर्यटन प्रवद्र्धनमा क्रियाशील छन्। पत्रकारिता क्षेत्रबाट अलग्गिएर व्यवसायमा लाग्ने निर्णय गर्न निकै कठिन भएको उनको भनाई छ । “पत्रकारिता मेरो पहिचान थियो। त्यो रसमा पसेको म त्यहाँबाट निस्केर यस क्षेत्रमा तल्लिन हुन निकै गार्हाे भयो।अब त वानी परीसकेँ । उनले भने।नगरकोटीले आफ्नो व्यवसायिक यात्रा करिब चार वर्षअघि सुरु गरेका थिए। पत्रकारीताको नसामा फसेर मकवानपुरबाट सर्लाही आएर पत्रकारिता गरेका उनी पत्रकारीता क्षेत्रबाट अलग्गिएर प्रकृतिसँग नजिक रहदै पर्यटकलाई लक्षित गर्दै लालबन्दी नगरपालिका १३ पत्थरकोट स्थित पहाडको फेदीमा होटल होलिडे एण्ड फेमिली रिसोर्ट संचालन गरिरहेका छन ।

शान्त, आरामदायी र मनोरन्जनात्मक वातावरणमा स्विमिङ पुल सहित सभा,सेमिनार,सम्मेलन र गोष्ठीहरु आदि सञ्चालन गर्न र अर्गानिक खाना पाईने उक्त होटलले छोटो समयमा नै राम्रो सफलता प्राप्त गरेको छ।उनका अनुसार, पत्रकारिता क्षेत्रमा सिकेका सम्पर्क व्यवस्थापन तथा अनुसन्धान गर्ने क्षमताले नै व्यवसायलाई सफल बनाउन ठूलो भूमिका खेलेको छ। “समाचार संकलन गर्दा सिकेका सञ्जाल निर्माण गर्ने सीप, ग्राहकहरूको आवश्यकता पहिचान गर्ने क्षमता र मार्केटिङको ज्ञान अहिले होटल व्यवसायमा निकै सहयोगी बनेको छ,”उनले थपे।होटल तथा पर्यटन व्यवसायमा नगरकोटीको आगमन संयोग मात्रै होइन। उनले लामो समयदेखि होटल व्यवसायी तथा पर्यटन व्यवसायी गरी रहेकाहरू सँग भेटघाट गरेका थिए।उनीहरूका अनुभवबाट प्रभावित हुँदै उनले यो क्षेत्रमा लगानी गर्ने सोच बनाएका थिए।
उनले होटल व्यावसाय मात्रै नभई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा समेत ठुलो टेवा पुर्याएका छन्।१६ कठ्ठा जमिनमा उनले होटल व्यवसाय सुरु गरेका हुन।उनका अनुसार, नेपालको ग्रामीण पर्यटनमा अझ धेरै सम्भावना रहेको छ। “हामीले नेपालका मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्न सके अझ राम्रो व्यवसायिक सम्भावना देख्न सक्छौं,”नगरकोटीले बताए । उनले होटल व्यवसायलाई डिजिटल माध्यमबाट प्रवद्र्धन गर्नु,सामाजिक सञ्जाल,अनलाइन बुकिङ प्लेटफर्म तथा डिजिटल मार्केटिङमार्फत व्यावसय चलाउनु पर्ने आवश्यकता भए पनि आफ्नो होटलमा त्यस प्रकारको सञ्जाल प्रयोग गर्नु नपरेको उनले बताए।नगरकोटीले होटल व्यवसायको अनुभवबाट सिक्दै अघि बढ्ने बताएका छन्।पर्यटन क्षेत्रलाई अझ व्यवस्थित र गुणस्तरीय बनाउन आवश्यक रहेको उनको धारणा छ।“हामीले अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप सेवा दिएमा नेपालमा अझ धेरै पर्यटक भित्र्याउन सक्छौं,”उनी भन्छन्।पत्रकारिताबाट व्यवसायमा आएको देख्दा धेरैले अचम्म माने पनि उनी आफ्नो निर्णयमा सन्तुष्ट छन्।
“जीवनमा नयाँ अवसरहरू खोज्नुपर्छ।पत्रकारिताले मलाई धेरै ज्ञान दियो,तर अब म पर्यटन प्रवद्र्धनमा केन्द्रित छु,”नगरकोटीले उत्साहका साथ भने।उनको अनुभव अन्य पत्रकार तथा अन्य पेशामा कार्यरत व्यक्तिहरूका लागि प्रेरणादायी बन्न सक्छ।व्यवसाय गर्ने सोच बनाएका अन्यले पनि सही योजना बनाएर अघि बढे सफलता प्राप्त गर्न सक्ने नगरकोटीको विश्वास छ।उनले आफ्नो जीवनको उर्जावान १५ वर्ष अर्थहिन रुपमा पत्रकारीतामा बिताएको समेत बताए ।