सप्तरीमा ९ हजार मतदाता थपिए

1.7k Shares

सप्तरीमा करिब डेढ महिनाको अवधिमा ९ हजारभन्दा बढी मतदाता थपिएका छन् ।स्थानीय निकायको निर्वाचन पश्चात निर्वाचन आयोगले मतदाता नामावली शंकलन सुरु गरेपछि प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मिति घोषणा भएको दिनसम्ममा सप्तरीमा ९ हजार १ सय १४ जनाको नाम संकलन भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
असार १ गतेदेखि यही साउन १९ गतेसम्म निर्वाचन आयोगले संकलन गरेको फोटो सहितको मतदाता नामावलीमा ४ हजार ८ सय ३९ पुरुष र ४ हजार २ सय ७५ महिला मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन कार्यालयले मतदाता नामावलीमा नाम समावेश भएका नयाँ मतदाताको रुजु गरेर र निर्वाचन आयोग पठाउने बताउनु भयो । निर्वाचन आयोगबाट रुजु भएर अन्तिम मतदाता नामावली आएपछि मात्र जिल्लामा कति मतदाता पुगेको हो भन्ने एकिन गर्न सकिने जिल्ला निर्वाचन अधिकारी जोशीको भनाइ छ ।
सप्तरी जिल्लामा निर्वाचन कार्यालयसँगै जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय कञ्चनपुर र बोदे बर्साइनबाट मतदाता नामावली संकलन गरेको थियो । स्थानीय निकायको निर्वाचनमा सप्तरीमा २ लाख १३ हजार ८ सय ९२ पुरुष, १ लाख ९८ हजार ५ सय ३२ महिला र २१ अन्य गरी ४ लाख १२ हजार ४ सय ४५ मतदाता रहेका निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

सम्बन्धित समाचार