गैर सरकारी संस्थाको अधिनमा गाउँपालिका चलेको भन्दै सात पार्टीद्धारा सुचना माग

997 Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले गाउँपालिकालाई गैर सरकारी संस्थाको अधिनमा राखेर अनियमितता गरेका आरोप लागेको छ । चन्द्नगर गाउँपालिका अध्यक्ष महतोले आफ्नै निकट करारको कर्मचारी पच्चु माझीलाई योजना अधिकृत बनाएर गैर सरकारी संस्था मार्फत नगरपालिका चलाएका र भ्रष्टाचार गरेका आरोप लागेको हो ।
चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोले काम भन्दा कमिशनलाई प्राथमिकता दिएका,गाउँपालिकालाई गैर सरकारी संस्थाको अधिनमा राखेर अनियमितता गरेका,पहिलाका करारका २२ जना कर्माचारीहरु हटाएर फेरी आप्ना २५ जनालाई करारमा राखेका, गाउँको विकासमा काममा वेवास्था गरेका लगायतका काम गरेका भन्दै विभिन्न सात दलले शुक्रबार सुचना माग गरेका छन् ।
उनीहरुका अनुसार चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतो भोर नामक गैर सरकारी संस्थाको सञ्चालक रहेका र करारमा नियुक्त गरिएका माझि पनि उक्त संस्थामा आवद्ध रहेका थिए ।उनी पालिका अध्यक्षमा निर्वाचित भएपछि विश्वासिलो पात्र माझीलाई करारमा नियुक्त गरेका थिए । अहिले दुबै जना मिलेर गैर सरकारी संस्थाकोे शैलीमा कार्यपालिका र आफुहरुसंग छलफल नै नगरी चन्द्रनगर गाउँपालिकालाई मनोमानि तरिकाबाट सञ्चालन गरेका वडाअध्यक्षहरुको आरोप छ ।
चन्द्रनगर गाउँपालिकामा अहिले सम्म के र कुन निर्णय भएको छ भन्ने विषयमा आफुहरुलाई पनि जानकारी नभएको भन्दै वडाअध्यक्षहरुले गुनासो गरेका छन् । पाँच जना वडाध्यक्षलाई आफ्नो गाउापालिकाको काम,कार्बाहीको विषयमा कुनै जानकारी नभएको र कार्यपालिका सदस्यहरुलाई ललाई फकाई गाउँपालिका अध्यक्ष महतोले काम गरेको उनीहरुको आरोप छ । पालिका अध्यक्ष महतोले चरम भ्रष्टाचार गरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता एवम निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्र महतोले आरोप लगाए । उनले वर्तमान गाउँपालिका अध्यक्ष महतो निर्वाचित भएसँगै २२ जना करारका कर्मचारी हटाएर आफू निकटका २५ जनालाई घुस खाएर करारमा भर्ना गरेको बताए ।
दैनिक ज्यालादारीमा पनि कतिपय कर्मचारी राखेर निजी कामकाज गराएको गाउँपालिका स्रोतको भनाई छ ।जब पालिकाले कर्मचारी आवश्यकता नरहेको भनेर हटायो तब फेरि किन भर्ना गरियो, नेता महतोले भने,उनका अनुसार‘हटाइएका कर्मचारीहरुको मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ । गाउँपालिकाका अध्यक्ष महतोले रु तीन करोड आफ्नो मातहत र रु दुई करोड उपाध्यक्ष गीतादेवी महतोलाई दिएर बजेट बाँडफाँट गरेर काम गरेका वडा अध्यक्षहरुको आरोप छ । उनीहरुका अनुसार गाउँपालिका अध्यक्ष महतोले यो सबै रकम गैर सरकारी संस्थामार्फत नै खर्च गरिरहेका छन् ।
गाउँपालिका अध्यक्ष महतोका आफ्नै व्यक्तिहरुका दर्जनौं गैर सरकारी संस्थाहरु चलाइरहेका रहेका र तीनै गैर सरकारी संस्थाहरु मार्फत गाउँपालिकाको बजेट खर्च गर्ने गरिएको पाइएको हो । गाउँपालिका अध्यक्ष महतोले सबै योजनाहरु गैर सरकारी संस्थाहरु मार्फत सेटिङ गरेर काम गरिरहेका जसबाट उत्पादनमूलक काम नभई कमाउने काम मात्रै भएको नेकपा(माओवादी केन्द्र) चन्द्रनगरका नेता लखिन्द्र मुखियाले बताए । उनका अनुसार गाउँपालिकाका धेरै सामुदायिक विद्यालयहरुमा पुस्तक खरिद वापतको रकम पुगेको छैन ् भने स्रोत शिक्षकहरुले चालु आर्थिक वर्षमा तलव नै खान पाएका छैनन् ।
जनप्रतिनिधिलाई वेवास्ता गरेपछि सात वटा पार्टीका प्रतिनिधिहरुले संयुक्त रुपमा पालिकामा शुक्रबार सूचना माग गरेपछि सो कुरा बाहिएिको हो । लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा),नेपाली कांग्रेस,राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा),नेकपा(माओवादी केन्द्र),जनता समाजवादी पार्टी(जसपा) र नेकपा(एकिकृत समाजवादी)पार्टीले संयुक्त रुपमा सूचना माग गरेका हुन् ।
चन्द्रनगर गाउँपालिकामा अध्यक्ष महतो निर्वाचित भएर आएपछि गाउँ सभा,गाउँ विशेष परिषद्,कार्यपालिका सदस्यहरुले गरेको निर्णय र नियुक्त गरेका कर्मचारीहरुको नामावली÷प्रकृया लगायतका विषयमा सूचना माग गरिएको माओवादी केन्द्रका नेता मुखियाले बताए । आफुहरुले सूचना उपलब्ध गराइदिन अनुरोध गर्दै उपलब्ध नभए आन्दोलन गर्ने चेतावनी समेत दिएको एकिकृत समाजवादीका नेता भरत साहले बताए । यता,सो विषयमा सोध्दा चन्द्नगर गाउँपालिकाका अध्यक्ष महतोले पत्रकारहरुलाई जे सहि लाग्छ त्यही लेख्नु भन्ने जवाफ दिए ।

सम्बन्धित समाचार