Close This

लालबन्दी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लि.को निर्वाचन शनिबार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-२७ गते   १०३० पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ६ मा रहेको लालबन्दी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लि.को ४ बर्षे कार्यकालका लागि नेतृत्व चयन गर्न शनिबार मतदान हुने भएको छ । खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लि.लालबन्दीको ४ बर्षे कार्यकालका लागि नेतृत्व चयन गर्न शनिबार हुने मतदानको प्रसार प्रसार समेत सकिएको र मौन अवधि सुरु भएको छ ।
राजनीतिक प्रतिष्ठाको रुपमा हेरिएको खानेपानीको निर्वाचनलाई उम्मेदवारी दिएका राजनैतिक दलहरुका उम्मेदवारहरुले तामझामका साथ प्रचारप्रचार गरेका थिए । यसअघि खानेपानीको नेतृत्व सहमतीमै छानिने गरेको भएपनि यो पटक भने विभिन्न राजनैतिक दलहरुका उम्मेदवार खडा भएका कारण निर्वाचन नै हुन लागेको हो । पटक पटकको प्रयास पछि सहमती नभएपछि अन्तिममा मतदान प्रक्रिया बाटै नेतृत्व चयन गर्न निर्वाचन नै हुन लागेको हो ।
लालबन्दी नगरपालिकाका ११ वटा वडामा खानेपानी सेवा पुर्याउँदै आएको आएको यस संस्था अहिले पनि रु २१ करोड भन्दा बढी नगर विकास कोषको ऋणमा छ । यतिधेरै ऋणमा रहेको खानेपानी संस्थाको नेतृत्व हत्याउन अहिले लालबन्दीमा क्रियाशील राजनीतिक दलहरु सबै शक्ति लगाएर लागिपरेका छन् ।
खानेपानीको चुनावमा यत्रो तामझाम देख्दा आफुलाई अचम्म लागेको एक उपभोक्ताले बताए । अधिकांश उपभोक्ता उम्मेदवार र दलहरुको निर्वाचन भड्काउ,निर्वाचनको तामझाम देखेर उपभोक्ता मात्र नभई शुभेच्छुक शुभचिन्तकहरु पनि आश्चर्यचकित भएका छन् । उम्मेदवारहरु जनप्रतिनिधि बन्न लागे झैँ घर–घरमा पुगेर मत मागिरहेका छन् । आफ्ना पार्टीका उम्मेदवारलाई जिताउन केही दिनदेखि प्रत्येक पार्टीका नेताहरु समेत भोकप्यास नभनी लागि परेका छन् । निर्वाचनको तामझाम भन्दा पनि खानेपानी वितरण प्रणालीको विकृति नियन्त्रण,कमि कमजोरी सुधार र संस्थामा पारदर्शितामा जोड दिनुपर्ने उपभोक्ताहरुको माग छ ।
खानेपानीको अध्यक्षका लागि नेपाली कांग्रेस र नेकपा(एकिकृत समाजवादी)बाट इन्द्र योन्जन, नेकपा(माओवादी केन्द्र),जसपा र लोसपाबाट हेमबहादुर श्रेष्ठ (श्याम) र नेकपा(एमाले) र राप्रपाबाट देवनाथ पोखरेलको उम्मेदवारी परेको छ । निर्वाचन समितिले योन्जनलाई करुवा, श्रेष्ठलाई घर र पोखरेललाई चश्मा चुनाव चिन्ह प्रदान गरेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech