Close This

मलंगवा २ मा रु ६ करोडको लागतमा सुविधा सम्पन्न बसपार्क निर्माण,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२ गते   ४३९ पटक हेरिएको

सर्लाहीको मलंगवा नगरपालिका २ मा करिब रु ६ करोडको लागतमा सुविधा सम्पन्न नयाँ बसपार्क निर्माण भएको छ । मलंगवा नगरपालिका २ मा संघिय सरकारको करिब रु ६ करोडको लागतमा सुविधा सम्पन्न नयाँ बसपार्क निर्माण भएको हो ।
नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरधाम मार्फत करिब रु ६ करोडको लागतमा निर्माण भएको सुविधा सम्पन्न नयाँ बसपार्क चाँडै नै संचालनमा आउने सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनु भयो । उहाँका अनुसार हाल मलंगवा नगरपालिका ९ मा रहेको पुरानो बसपार्कबाट बसहरु सञ्चालन मै रहेका र चाँडै नै सुविधा सम्पन्न नयाँ बसपार्कबाट बस सञ्चालन हुने छ ।
सुविधा सम्पन्न नयाँ बसपार्क निर्माण भएको करिब ६ महिना भइसकेको भएपनि बस पार्क सञ्चालनका लागि समन्वय भई रहेको र चाँडै नै सबै पक्षसंग समन्वय गरि मलंगवा नगरपालिका २ मा निर्माण भएको सुविधा सम्पन्न नयाँ बसपार्कबाट बस सेवा सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी गौतमले बताउनु भयो ।
मलंगवा नगरपालिका ९ मा रहेको पुरानो बसपार्क साँघुरो भएको र बजार विस्तारसंगै सवारी साधनहरुको चाप बढेका कारण नयाँ बसपार्कको निर्माण गरिएको हो । टर्मिनल भवनसहित निर्माण गरिएको उक्त सुविधा सम्पन्न बसपार्क संचालनका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही,जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही,मलंगवा नगरपालिका र मलंगवा यातायात सेवा प्रा.लिसंग आवश्यक समन्वय भई रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला सदरमुकाम समेत रहेको मलंगवामा सुविधा सम्पन्न बसपार्क नहुँदा सवारी साधन व्यावस्थापनमा निकै ठूलो समस्या देखिएको थियो । बजारको विचमा रहेको मलंगवा नगरपालिका ९ स्थित जनसागर बजार(श्रीमती कृष्णादेवी जनता मावि को छेउ)मा रहेको पुरानै बसपार्कमा यात्रुबाहक सवारी साधनहरु पार्किङ गरि त्यहीँबाट संचालन हुँदा सवारी व्यावस्थापनमा समस्या हुनुको साथै दुर्घटनाको जोखिम समेत बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरिक्षक इश्वर कार्कीले बताउनु भयो ।
उहाँका अनुसार “हाल संचालनमा रहेको मलंगवा नगरपालिका ९ स्थित जनसागर बजार(श्रीमती कृष्णादेवी जनता मावि को छेउ)मा रहेको पुरानै बसपार्क एकदमै साँघुरो रहेको छ ।सवारीसाधनहरुको चाप बढेकाले बसपार्क अगाडीको मुख्य सडकमै सवारी साधनहरु पार्किङ गरेर राखिएको छ ।जसका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै साँधुरो बसपार्कका कारण एउटा ठूलो बस निस्कँदा अन्य सवारी साधनहरुलाई आवत जावतमा समेत समस्या देखिएको छ ।”
नयाँ बसपार्क मुख्य  बजारभन्दा टाढा  रहेको र त्यहाँ जाँदा साना सवारीसाधनहरुले पुरानो बसपार्क अगाडिबाटै यात्रुहरू उठाएर लैजाने चिन्तामा नयाँ बसपार्कमा बसहरु जान तयार नभएका मलंगवा यातायात सेवा प्रा.लिका अध्यक्ष राजिव यादवले बताउनु भयो । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय,विद्यालयको नजिकै र बजार भन्दा बाहिर निर्माण गरिएको बसपार्कमा आफुहरुले बस लान सक्ने अवस्था छैन ।
यता,आफुहरुलाई नयाँ बसपार्कको निर्माण कार्य पूरा भएकोबारे कसैले पनि जानकारी नगराएको मलंगवा यातायात सेवा प्रा.लिका अध्यक्ष यादवले बताउनु भयो । बसपार्क निर्माण गर्ने ठेकेदारले आफूहरूलाई बसपार्क हस्तान्तरण गर्न बाँकी नै रहेको मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले बताउनुभयो । उहाँले राज्यको करोडौँ रकम खर्च गरेर बनाइएको  सुविधा सम्पन्न बसपार्क हस्तान्तरण भएर संचालनमा आएपछि बस व्यवसायीले बस पार्कमा बस लैजान्न् भन्न पाउने छैनन् ।
बस व्यवसायीलाई राखेर चाँडै नै यस विषयमा छलफल गर्ने र मलंगवा नगरपालिका ९ मा रहेको पुरानो बसपार्कबाट नयाँ बस पार्कमा सवारी साधनहरुलाई लैजाने मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवले बताउनुभयो। जिल्ला सदरमुकाम मलंगवाबाट लामो तथा छोटो दुरीका गरी करिब ९० वटा बस दैनिक छुट्ने गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech