मधेश प्रदेशका गृह तथा संचार मन्त्री भरत प्रसाद साहले एकैदिन तीनवटा नवनिर्मित प्रहरी भवनको उदघाटन गर्नु भएको छ । मधेश सरकारको लगानीमा निर्माण भएका महोत्तरीको इलाका प्रहरी कार्यालय लोहारपट्टी,प्रहरीचोकी इटहर्वा कट्टी र धनुषाको जनकपुरधाम स्थित वडा प्रहरी कार्यालयको नवनिर्मित भवनको मन्त्री साहले मंगलबार एकैदिन उद्घाटन गर्नु भएको मन्त्री साहका स्वकीय सचिव कृतिक श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार तीन छुट्टाछुट्टै कार्यक्रम आयोजन गरी प्रहरी कार्यालय भवनको उदघाटन गरिएको हो ।
भवनहरु उदघाटन गर्दै मन्त्री साहले जनताको सुरक्षाको लागि तीनवटै सुरक्षा निकायलाई चाहिने सहयोग गर्न मधेश सरकार तत्पर रहेको बताउनु भयो । थुप्रै स्थानमा प्रहरीचोकी तथा भवन जीर्न एवम अपर्याप्त हुँदा समस्या भइरहेकाले क्रमिक रुपमा भौतिक पूर्वाधारको आवश्यक्ता परिपुर्ति गर्ने उहाँले बताउनु भयो ।
तीनवटै प्रहरी भवनको उद्घाटन समारोहमा गृह तथा संचार राज्यमन्त्री रुवीकुमारी कार्ण र मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) मसउद आलमा खाँ सहभागी रहनु भएको थियो । महोतरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेको अध्यक्षता तथा मन्त्री साहको प्रमुख आतिथ्यमा महोत्तरीको दुईवटा प्रहरी भवन उदघाटन गरिएको हो ।