Close This

मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलविरुद्ध अख्तियार र सम्पती पुद्धीकरणमा उजुरी

पत्र पत्रिका    प्रकाशित: २०७९-५-७ गते   ५७७ पटक हेरिएको

रामेछापको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आयोगमा दर्ता भएको सी–००२७४३ नम्बरको उजुरी अनुसार प्रमुख प्रशासकिय अधिकृत पौडेलले नगरपालिकाभित्र निर्माणाधीन सड्क,भवन र मन्दिर भवनबाट उपभोक्ता समिति र निर्माण व्यवसायीमार्फत कमिशन लिने गरेको आरोप छ ।
नगरपालिकाको गाडी मर्मत र इन्धन शीर्षकमा पनि प्रमुख प्रशासकिय अधिकृत पौडेलले नक्कली बिल बनाउने र फर्निचर र स्टेशनरी खरिदमा पनि अनियमितता गरेको उजुरीकर्ताले दाबी गरेका छन् । मन्थली माध्यमिक विद्यालयसँग मिलेर प्रमुख प्रशासकिय अधिकृत पौडेलले कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूबाट मासिक शुल्कको नाममा रकम असुल गरेर निःशुल्क पढ्न पाउने विद्यार्थीको अधिकार हनन् गरेर कमिशन लिने गरेको उजुरीमा उल्लेख छ । प्रमुख प्रशासकिय अधिकृत पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि उजुरी परेको छ ।
प्रमुख प्रशासकिय अधिकृत पौडेलले नगरपालिकाबाट मन्थली माध्यमिक विद्यालयको नाममा वर्षेनी करोडौँ रुपैयाँ विनियोजन गरि बिना टेन्डर विद्यालय व्यवस्थापन समितिबाट खर्च गराएर भवन निर्माणको नाममा लाखौँ रुपैयाँ कमिशन लिने गरेको उजुरकर्ताले दाबी गरेका छन् । त्यस्तै, पटक–पटक एउटै कृषि फार्मको नाममा बजेट विनियोजन गरेर कमिशन लिने गरेको आरोप प्रमुख प्रशासकिय अधिकृत पौडेलमाथि लागेको छ ।
प्रमुख प्रशासकिय अधिकृत पौडेल विगत २ वर्षदेखि मन्थली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहँदा राज्यको ढुकुटीलाई दुरुपयोग गरी गैरकानूनी रुपमा अकुत सम्पत्ति कमाइएको भन्दै उजुरीकर्ताले सम्पति शुद्धीकरण गर्न माग गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलले कमिशन लिएको र अनियमितता गरेको बारे अख्तियारले सोधेमा जवाफ दिने बताएका छन् । उनले–‘सरकारी भवन हाम्रोबाट जाँदैन, मन्थली मावि नमुना विद्यालय भएको हुनाले एकमुष्ट पैसा पठाउँछौं उहाँहरुले नै अडिट गर्नुहुन्छ ।’बताए । सरकारी भवन वडा अध्यक्ष संयोजक हुने उपभोक्ता समितिबाट काम हुने गरेको हुनाले त्यस्ता भवन निर्माणमा आफ्नो संलग्नता नहुने प्रमुख प्रशासकीय अधिकृत पौडेलको दाबी छ । स्रोत रातोपाटी 
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech