सर्लाहीका सडकमै ट्राफिक शिक्षा सुरु भएको छ । नेपालीहरुको महान चाडलाई लक्षित गरि “सडकमै ट्राफिक शिक्षा”सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
चाडपर्वको समयमा यातायात व्यावसायीहरुबाट यात्रुहरु ठगीनुको साथै विभिन्न प्रकारका समस्यामा पर्ने गरेका भन्दै जिल्लाका सडकहरुमा ट्राफिक प्रहरीले “सडकमै ट्राफिक शिक्षा” अभियान सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरिक्षक इश्वर कार्कीले बताउनु भयो ।

उहाँका अनुसार लामो दुरीका यात्रु बाहक सवारी साधनहरुका चालकहरुले मापसे गरे नगरेको,आवश्यक कागजातहरु रहे नरहेको र यात्रीहरुसंग बढी भाडा लिए नलिएको विषयलाई पहिलो प्राथमिकतामा पारेर जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले “सडकमै ट्राफिक शिक्षा” अभियान सुरु गरेको हो ।
अहिले जिल्लाका शाखा सडकका साथै मुख्य सडक मार्गहरुमा जताततै ट्राफिक प्रहरी सवारी साधनहरुको चेकजाँचमा व्यस्त रहेको देख्न सकिन्छ । पुर्व पश्चीम लोकमार्गको छेउमा मानिसको ठुलो भिड्भाड थियो । भिड्कै बीचमा ट्राफिक प्रहरी । झट्ट हेर्दा दुर्घटना भए झै लाग्ने तर वास्तविकता भने ठिक उल्टो । दिनँहुजसो जिल्लाका विभिन्न सडकमा देखिने उक्त दृश्यको उदेश्य भने दुर्घटना न्युनिकरणका लागि ‘सडक ट्राफिक शिक्षा’ अभियान हो ।
जिल्ला ट्राफिक प्रहरी कायार्यलय सर्लाहीको ट्राफिक प्रहरी टिम यस्तै रचनात्मक गतिविधिमा सक्रिय देखिन्छन् । ट्राफिक नियम विपरित सवारी चलाउने चालकलाई जरिवाना भन्दा पनि सडकमै“सडकमै ट्राफिक शिक्षा”दिनु आवश्यकता देखिएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक कार्कीले बताउनु भयो ।
सवारी चालकलाई सडकमै भेला गर्दै प्रहरी निरिक्षक कार्कीले ट्राफिकका लागि भन्दा पनि दुर्घटना र मानविय क्षती न्युनिकरणका लागि नीयमको पालना गरेर सवारी चलाउन दिनहुँ विभिन्न सवारीका चालकलाई अनुरोध गरिरहेको दृश्य देख्न सकिन्छ । जिल्लाको बागमती,नयाँरोड,नवलपुर,हरिवन,लालबन्दी,फुलजोर र मलंगवामा जरिवाना काट्नै नपर्ने गरी जिम्मेवार भएर सवारी चलाउन ट्राफिक प्रहरीले चालकलाई अनुरोध गरेको ट्राफिक प्रहरी निरिक्षक कार्कीले बताउनु भयो ।

‘जरिवाना उठाउने हामीलाई रहर छैन्, सकेसम्म जरिवाना नै काट्न नपरोस भन्ने चाहना हुन्छ’‘जरिवानाले दुर्घटना र मानविय क्षति कम हुदैन । तपाईहरु सचेत भएर सवारी चलाए मात्रै यो सम्भव छ ।’ चालकको समुहलाई सम्झाउदै प्रहरी निरिक्षक कार्कीले बताउनु भयो ।
ट्राफिक प्रहरीको आँखा छलेर तिब्र गतिमा,मादक पदार्थ तथा लागुऔषध सेवन गरेर,हेल्मेट नलगाएर क्षमताभन्दा बढी यात्रु तथा सामान बोकेर सवारी नचलाउन,सवारी साधनमा बसेका यात्रु र आफ्नो परिवारको विषयमा सोच्न पटकपटक अनुरोध गर्दा चालकहरु गम्भिर देखिन्थे । ट्राफिक प्रहरीलाई झुक्याउन सफल भएपनि त्यसबाट निम्तिन सक्ने दुर्घटना रोक्न जो कोही पनि असफल हुने प्रहरी निरिक्षक कार्कीको तर्क छ ।
‘दुर्घटना कसैले गर्छु भनेर हुने होईन,लापरवाहीले हुने हो । त्यो लापरवाही चालकबाट नहोस् भन्ने मात्रै हाम्रो भनाई हो’ ‘त्यसैको लागी तपाईहरुलाई केही समय भएपनि यसरी सचेत गराउने प्रयास गरिरहेको छु । यसलाई गम्भिर भएर सोचिदिनुहोला ।’
ट्राफिक प्रहरीले यसरी चालकलाई सम्झाएको दृश्य हेर्न पैदलयात्री समेत भिड्मा मिसिन्थे । उहाँले सोही समयमा पैदल यात्रीलाई समेत सडक पार गर्दा जथाभावी बाटो नकाट्न र जेब्रा क्रसिङ प्रयोग गर्न सुझाब दिनुहुन्छ । पैदल यात्रीले जथाभावी बाटो काट्न खोज्दा बचाउने क्रममा सवारी साधन अनियन्त्रित हुने र दुर्घटना निम्तिन सक्नेतर्फ उहाँले पैदल यात्रीलाई समेत सचेत गराउनु भयो ।