सर्लाहीको हरिपुर नगरपालिका १ हजारबिघामा रहेको पाँचकुमार रामऔतार लक्षिया माविमा रु ३ लाखको अक्षयकोष स्थापना गरिएको छ । नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य डाचाराज वाग्लेकी पत्नी सरस्वती मिश्रले आफ्ना श्रीमाव वाग्लेको सम्झनामा हरिपुर नगरपालिका १ हजारबिघामा रहेको पाँचकुमार रामऔतार लक्षिया माविमा रु ३ लाखको अक्षयकोष स्थापना गरेकी हुन ।
गरिब तथा जेहन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग गर्ने उद्देश्यले ‘डाचाराज वाग्ले सरस्वती मिश्र’अक्षयकोषको स्थापना गरिएको मिश्रले जानकारी दिईन । कार्यक्रममा मिश्रले विद्यालयका प्रधानाध्यापक विनोदकुमार मिश्रलाई रु ३ लाखको चेक हस्तान्तरण गरेकी हुन । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज वाग्लेको ५१ वर्षको उमेरमा २०७७ माघ २१ गते सर्लाहीकै बरहथवामा रहस्यमय सवारी दुर्घटनामा मृत्यु भएको थियो।
स्वा.नेता वाग्लेकी पत्नी मिश्रले अक्षयकोषको ब्याजबापत प्राप्त हुने रकमले बर्सेनी गरिब तथा जेहन्दार विद्यार्थीलाई पठनपाठनमा सहयोग गरिने बताइन्। उनले आफ्ना पतिको मृत्युको यथार्थ कारण अझै पनि सार्वजनिक नभएको भन्दै राज्यलाई घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरिन्।
कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य प्रह्लाद बुढाथोकीले स्वा.नेता वाग्ले निस्कलंकित र निडर नेता भएको बताए । कार्यक्रममा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कलम),बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवाल, नेकपा(एमाले)का नेता चुडामणि वाग्लेलगायतले स्वा.नेता वाग्लेले आफ्नो जीवनकालमा समाजमा पुर्याएको योगदानको चर्चा गरेका थिए।
स्वा. नेता वाग्लेले करिब अढाई वर्षअघि पीडितलाई साथमा लिएर सर्लाहीका कुख्यात् सुदखोर श्याम परदेशी र लालबाबु यादव लगायतयतलाई कानुनी कारबाही गराउने अभियानको नेतृत्व गरेका थिए। हाल यो मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।