सर्लाहीमा पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता नलिँदा पाँच दलिय गठवन्धनमा असन्तुष्टी चुलिएको छ । जिल्लामा गठवन्धन भित्र आठ जना बागी उम्मेदवार रहेका छन् ।
मङ्सिर ४ कोप्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दर्तापछि असोज २५ गते सदरमुकाम मलङ्गवामा बसेको गठवन्धन दलको बैठकले २६ गते दिउँसो १ बजेसम्म आ–आफ्नो दलका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो । आग्रह बमोजिम सर्लाही क्षेत्र नं. २ (क) का नेपाली कांग्रेसका शियाराम रायले मात्रै उम्मेदवारी फिर्ता लिएका छन् ।
कांग्रेसबाट राय र सर्लाही क्षेत्र नम्बर १(क)का उपेन्द्र महतोले बागी उम्मेदवारी दिएका हुन् । माओवादी केन्द्रका आठ जना बागी उम्मेदवारहरु र एकजना कांग्रेसका उममेदवारले आफ्नो उम्मेदवारी फिर्ता नगर्दा पाँच दलिय गठवन्धनमा असन्तुष्टी चुलिएको गठबन्धनका एक नेताले बताए ।
गठवन्धनभित्र रहेका अन्य दलका नेताले माओवादी केन्द्रका बागी उम्मेदवारकै कारण गठवन्धन नै टुट्न सक्ने अवस्था आएको तर्क गरेका भएपनि सर्लाहीका १(क)मा सक्ता गठबन्धका रामचन्द्र सिंह कुशबाह र नेपाली कांग्रेसका उपेन्द्र महतोको उम्मेदवारी कायमै रहेको छ ।
नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले माओवादी केन्द्रले आफ्ना बागी उम्मेदवारलाई ‘ब्याक’ नगराए सर्लाहीमा गठवन्धन रहिरहन नसक्ने बताए । तर नेपाली कांग्रेका उम्मेदवार सर्लाही १(क)का महतोको विषयमा उनले केही बोलेनन् ।
कांग्रेस जिल्ला सभापति सिंहले गठवन्धनमा भागबण्डा हुँदा स्थानीय निकायको निर्वाचनमा कांग्रेसले सबै स्थानिय निकाय जितेको क्षेत्र नं. १ र २ मा कांग्रेसलाई टिकट नै नदिएर अन्याय भएको गुनासो गरे । सर्लाहीमा पाँच दलिय गठवन्धनमा चार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ लोसपा, क्षेत्र नं. २ र ३ माओवादी केन्द्र र क्षेत्र नं. ४ नेपाली कांग्रेसले लिएको छ ।
आठवटा प्रदेश सभा निर्वाचन क्षेत्र पनि कांग्रेस,माओवादी केन्द्र, लोसपा र नेकपा (एकीकृत समाजवादी) पार्टीले बाँडफाँड गरेर लिएका छन् । सर्लाहीमा माओवादी केन्द्रबाट क्षेत्र नं. ४ को प्रतिनिधि सभा सदस्यमा मधुमाला यादवले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।
मधुमाला माओवादी केन्द्रका नेता शिवपुजन राय यादवकी छोरी हुन् । यस्तै, (ख) मा राजनकुमार श्रेष्ठ र क्षेत्र नं. ३ (क) मा जवाहारलाल कुशवाहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
त्यसैगरी क्षेत्र नं. ४ मा प्रदेश सभा सदस्यतर्फ (क) मा प्रितम यादव,(ख) मा श्रीचन यादव, महेन्द्र यादव र अनिता यादवले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्यूतम काफ्लेले स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिन नमानेपछि कारवाहीका लागि केन्द्रमा लेखि पठाइएको बताए । तरजसजसले स्वतन्त्र उम्मेदवारी दिएका छन्उनिहरुलेउम्मेदवारी दिनु पुर्व नै पार्टी छाडि सकेका बुझिएको छ ।
माओवादी केन्द्रका मात्रै स्वतन्त्र उम्मेदवार रहेकाले उनीहरुको उम्मेदवारी फिर्ता नभए गठवन्धनभित्र समस्या आउने कुरा आफूहरुले पनि पार्टीका शिर्षस्त नेताहरुलाई भनिसकेको माओवादी केन्द्र सर्लाहीका जिल्ला इन्चार्ज काफ्लेले बताए ।
सर्लाही क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका नेता डा.अमरेशकुमार सिंहले पनि बागी उम्मेदवारी दिएका छन् । तर, कांग्रेस सर्लाहीले नेता सिंहलाई तीन महिना अघि नै पार्टीबाट निष्काशन गरिएकाले उनलाई कांग्रेसको बागी भन्न नमिल्ने बताउँदै आफ्नो पार्टीका बागी उम्मेदवारको पक्ष पोषणमा कांग्रेस लागेको छ ।