सर्लाही १ मा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१५ गते   ८१७ पटक हेरिएको


सर्लाहीको क्षेत्र नम्बर १ मा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । सत्तारूढ गठबन्धन दल,विपक्षी दल र स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो । गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी,विपक्षी गठबन्धन दलबाट जनता समाजवादी पार्टी (जसपा)का प्रमोद साह र स्वतन्त्र उम्मेदवार  मानबहादुर खड्काबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको हो । 
स्वतन्त्र उम्मेदवारी दिनु भएका खड्काले नेकपा(एमाले)ले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिनु भएको हो । उहाँलार्ई एमालेले कारबाही गरिसकेको छ । उहाँलाई पार्टीले कारबाही गरेको भए पनि उहाँकै  दल एमाले,नेकपा(माओवादी केन्द्र) र नेपाली कांग्रेसका केही नेताले उहाँलाई साथ दिएका छन् । कांग्रेसबाट टिकट नपाएर रुष्ट बन्नु भएका पुर्व संविधान सभा सदस्य शम्भुलाल श्रेष्ठ र माओवादी केन्द्रबाट सर्लाही १(क)का प्रदेश सभा सदस्यका उम्मेदवार रामचन्द्र कुशवाहा पनि खड्काको पक्षमा देखिनु भएको छ ।
श्रेष्ठले टिकट लिन लामो समयदेखि कसरत गर्नु भएको थियो । तर अन्तिम समयमा लोसपाका चौधरीलाई टिकट दिएपछि उहाँ पनि रुष्ट बन्न्नु भएको नेपाली कांग्रेसका नेताहरुको भनाई छ । २०७४ सालको चुनावमा श्रेष्ठले सर्लाही १ बाटै टिकट पाउनु भएको भएपनि जीत निकाल्न सक्नु भएको थिएन । भने उहाँको विपक्षी दल जसपाका उम्मेदवार साह निर्वाचित हुनु भएको थियो ।
त्यसैगरी स्वतन्त्र उम्मेदवारी दिनु भएका खड्का लालबन्दी नगरपालिका निवर्तमान नगर प्रमुख पनि हुनुहुन्छ । एमालेले बैशाख ३० को स्थानिय निकायको निर्वाचनमा खड्कालाई टिकट नदिएर गोविन्द महतलाई टिकट दिएपछि उहाँले असन्तुष्टि जनाउँदै आउनु भएको थियो । सत्ता गठबन्धन दलबाट उम्मेदवारी दिनु भएका चौधरी सेवा निवृत्त नेपाल प्रहरी हुनुहुन्छ । क्षेत्र नम्बर १ मा ४९ वटा वडा रहेका छन् । स्थानिय निकायको निर्वाचन २०७९ बैशाखमा नेपाली कांग्रेस १९ वटा वडा जितेको छ ।
 त्यसैगरी नेकपा(एमाले)र नेकपा(माओवादी केन्द्र)ले ११÷११ वटा वडामा जितेका छन् भने नेकपा(एकीकृत समाजवादी)पार्टीले तीन,लोकतान्त्रीक समाजवादी पार्टीले दुई, जनता समाजवादी पार्टीले एक र स्वतन्त्रले दुई वटा वडा जितेका छन् । अङ्क गणितीय हिसाबले हेर्दा सत्ता साझेदार दल नेपाली कांग्रेस,नेकपा(माओवादी केन्द्र),नेकपा(एकीकृत समाजवादी)पार्टी र लोकतान्त्रीक समाजवादी पार्टीको गरी ३५ वटा वडा उनीहरूको पक्षमा छ । गणितीय हिसाबले सत्तारूढ गठबन्धन दल बलियो देखिएको छ । 
२०७९ बैशाखको स्थानिय निकायको निर्वाचनको नतिजा अनुसार सत्तारूढ दलबाट उम्मेदवार उठाएको लोसपाले दुई वटा वडामात्र जितेको छ । दलीय भागबन्डाको आधारमा उम्मेदवार बन्नु भएका लोसपाका चौधरी र विपक्षी गठबन्धनका साहलाई गठबन्धनले पूर्ण साथ दिए मात्र उहाँहरू बलियो हुने माओवादी केन्द्रका एक नेताले बताउनु भयो । कार्यकर्ता गठबन्धनको पक्षमा भए पनि आममतदातालाई चित्त बुझाउन निकै चुनौती रहेकाले गठबन्धनभित्रका मतदाताले राम्रोसँग साथ नदिए दुवै उम्मेदवारलाई चुनाव जित्न कठिन हुने उहाँको विश्लेषण छ । 
सत्तापक्ष र विपक्षी दुवै उम्मेदवार गठबन्धनका साझा उम्मेदवार भएकाले गणितीय हिसाबले दुवैसँग स्वतन्त्र उम्मेदवारको कडा प्रतिस्पर्धा हुने विश्लेषक रजनी कान्त झाको भनाइ छ । दुवै उम्मेदवारलाई गठबन्धनले पूर्ण साथ नदिए नतिजा अन्यत्र जान सक्ने उहाँले बताउनु भयो । स्वतन्त्र उम्मेदवारी दिनु भएका खड्कासँग राजनीतिक जनआधार बलियो भएकाले गठबन्धनका दुवै उम्मेदवारसँग कडा प्रतिस्पर्धा हुने बताइएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech