सर्लाहीका ग्रामीण क्षेत्रमा पेट्रोलीयम पदार्थको खुलेआम कालोबजारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१८ गते   २३८ पटक हेरिएको

सर्लाहीको ग्रामीण क्षेत्रमा पेट्रोलियम पदार्थको व्यापक रुपमा कालोबजारी भएको छ । पेट्रोल पम्पबाट मात्र प्रज्वलनशील पदार्थको किनबेच गर्न पाईने सरकारको नीयम भएपनि गाउँघरमा भने सानातिना पान पसलदेखि तरकारी,फलफुल तथा किराना पसलमा समेत पेट्रोलियम पदार्थको किनबेच हुने गरेको छ ।
यसरी सरकारी नीयमको वेवास्ता गर्दै पेट्रोलियम पदार्थको बिक्री भइरहेको देख्दादेख्दै नीयमनकारी निकाय मौन देखिएको छ । पेट्रोलियम पदार्थको बिक्री वितरणका लागि लाइसेन्स लिनुपर्ने हुन्छ तर  बिना लाईसेन्स पेट्रोल बेच्दै आएका व्यापारीहरुले ग्राहकसँग आफुखुसी रकम असुल्ने गरेका छन् ।यस विषयमा  प्रशासनले मौनता देखाउँदा आफुहरु खुलेआम ठगीको सिकार बन्दै आइरहेको ग्राहकहरुले गुनासो गरेका छन् ।
जिल्लामा रहेका  पेट्रोल पम्पले नियमित रुपमा पेट्रोलको विक्री वितरण गर्दै आएपनि अबैध रुपमा पेट्रोल विक्रिमा कालोबजारी भइरहँदा पनि नीयमन निकायहरुले अनुगमन गर्न सकेका छैनन् ।सहर बजारका पसलहरु देखि लिएर गाउँघरमा संचालित किराना पसल,चिया खाजा पसल,फेन्सी पसल,पान पसल र तरकारी पसल संचालकहरुले  बर्षौंदेखी‘मिनरल वाटर’को बोतलमा राखेर पेट्रोल बेच्दै आएका हुन् ।
यसरी मिनिरल वाटरको बोतलमा राखिएको पेट्रोलको मापन पुरै एक लिटर पनि नहुने र फुटपाथमा राखिएको पेट्रोलको मुल्य पसलै पिच्छेफरक फरक रहेको मलंगवाका एक स्थानीयले बताए । उनले भने त्यस्ता पसलेहरु पेट्रोल पम्पबाट ठुला ठुला ड्रम र ग्यालिनमा पेट्रोल किनेर लाने र आफ्नो पसलमा एक लिटरको मिनिरल वाटरको बोतलमा भरेर सरकारले तोकेको मुल्य भन्दा बढी रकम लिएर ग्राहकहरुलाई खुद्रा  बिक्री गर्ने गरेका छन् । उनीहरूले एक लिटर भनेर बिक्री गरेको पेट्रोलको मूल्य पम्पमा तिर्नुपर्ने मूल्यको भन्दा २० देखि २५ रुपैया बढी लिएर बेच्ने गरेका छन् । प्रति एक लिटर पेट्रोलमा एक हजार एमएल पेट्रोल हुने भए पनि व्यापारीहरुले मिनरल वाटरको बोतलमा बेच्दै आएको पेट्रोल जम्मा ९ सय  एमएल मात्रै हुने गरेको अर्का ग्राहकलेबताए ।
प्लास्टिकका भाँडामा राखेको र धुलाकण मिसिएको पेट्रोल प्रयोग गर्दा इन्जिन चाँडै बिग्रने एक मोटरसाइकल रिपेयरिङ्ग सेन्टरका मेकानिकले बताए । व्यापारीले १ लिटरको पैसा लिएर  कम परिमाणमा पेट्रोल बिक्री गरेर ग्राहकलाई ठग्दै आएका छन् ।उनलेभने, सर्वसाधारण जनतामात्र नभइ गलत कामको निगरानी गर्ने  जिल्लाका उच्चपदस्थ कर्मचारीहरु समेत जथाभावी अवैध रुपमा बिक्री हुने पेट्रोल लगायत बजारमा पाईने दैनिक उपभोग्य सामाग्रीहरुको मुल्यमा समेत कालोबजार हुँदा समेत मौन देखिएका स्थानियको गुनासो छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech