रेड जोनमै लक डाउन प्रभावकारी भएन

2.1k Shares

सर्लाहीमा सर्वसाधारणबाट लकडाउनको प्रभावकारी कार्यान्वयनमा असहयोग भएको छ । सर्वसाधारणकै हितका लागि कोभिड–१९ संक्रमणको जोखिम न्यूनीकरण गर्न लकडाउन जारी गरिएको भए पनि यहाँ सर्वसाधारणबाट लकडाउन उल्लंघन गर्ने क्रम बढ्दो छ । जिल्लाका बजारमा बढेको लकडाउन उल्लंघनले संक्रणको जोखिम बढाएको छ ।
 कोरोना भाइरस संक्रमणको लामो समयपछि समेत कोभिड–१९ का लक्षणहरु देखिने हुँदा लकडाउन उल्लंघनले समस्या निम्तन सक्ने भन्दै प्रशासनले लकडाउनको प्रभावकारी कार्यान्वयनमा सघाउ र्पुयाउन जिल्लावासीलाई अपिल गर्दै आएको छ ।
जिल्लाको सदरमुकाम मलंगवा,लालबन्दी,बरथवा लगायतका बजारमा अत्यावश्यकबाहेकका बजार पसलसमेत खोल्ने, अनावश्यक भीडभाड गर्ने तथा सवारी साधन सञ्चालन गर्ने क्रम बढेको छ । सदरमुकाम लगायतका बजारहरुमा अत्यावश्यक बाहेकका अन्य सामग्रीको पसलसमेत आंशिक रूपमा खुल्न थालेका छन् । प्रहरीले कडाइ गरेको समयमा यस्ता पसल बन्द गर्ने र प्रहरीको आँखा छलेर खोल्ने क्रम बढ्दो छ । प्रहरीले दैनिकरूपमा गस्ती गर्नुका साथै सर्वसाधारण तथा व्यवसायीलाई समेत सचेत तुल्याउँदै आएको भए पनि लकडाउन कार्यान्वयनमा सर्वसाधारणबाट सहयोग भएको छैन ।
जिल्लाका सानादेखि ठूलासम्म किराना पसल विगतबाटै आंशिकरूपमा खुल्दै आएकामा पछिल्लोपटक अन्य पसलसमेत खुल्न थालेका हुन् । जिल्लामा धेरै किराना पसल तथा स–साना होटल एकै स्थानबाट सञ्चालित छन् । जसकारण धेरै मानिस भेला हुने तथा भीडभाड हुने गरेको छ । भने चोक चौतारामा बसेर तास खेल्ने तथा अन्य विषयमा छलफल गर्ने क्रम बढेको छ । सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्रलगायतले लकडाउनको प्रभावकारी कार्यान्वयनमा सहयोग गरी कोभिड–१९ को संक्रमणबाट बच्न सहयोग गर्न सर्वसाधारणलाई नियमित जसो अपिल गर्दै आएका छन् ।
यस्तै जिल्लाका ग्रामीण सडकमा दुईपांग्रे तथा चारपांगे सवारी साधन सञ्चालन गर्ने क्रमसमेत बढिरहेको छ । प्रहरीको आँखा छलेर अत्यावश्यक काम नहुनेले समेत सवारी साधन सञ्चालन तथा प्रयोग गरिरहेका छन् । यस्तै खाद्यान्न लगायत अत्यावश्यकीय काममा खटिएका सवारीका साधनले समेत यात्रु बोक्ने गर्नाले संक्रमणको जोखिम बढ्न नस्के स्थानिय जानकारहरुले बताएका छन । प्रहरीले दैनिकजसो अत्यावश्यक काममा बाहेक सञ्चालित सवारी साधन नियन्त्रणमा लिने गरेको छ । तर, जनप्रतिनिधि तथा अन्य पहुँचवालाको दबाबमा नियन्त्रणमा लिइएका सवारी साधन एक÷दुई दिनमै छाड्ने क्रमले सवारी साधन सञ्चालन निर्वाध जस्तै बनेको छ ।


लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सुरक्षा निकायले पुर्व पश्चीम लोकमार्ग, नवलपुर मलंगवा सडक खण्ड र अन्य सडकहरुमा नियमित गस्ती तथा अनुगमन गर्ने गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । यस क्रममा सवारीका कारण लोकमार्ग क्षेत्रमा कोभिड–१९ को संक्रमण फैलन सक्ने भन्दै सुरक्षा निकायले सचेत तुल्याउन थालेका छन् ।
यद्यपि जिल्ला निसंक्रमण, सचेतना तथा सतर्कता, लकडाउनको प्रभावकारी कार्यान्वयन, अत्यावश्यक सवारी साधन सञ्चालनमा रोक लगाउने कार्यमा स्थानीय तहहरुको प्रभावकारी भूमिका देखिएको छैन । जसको गतिलो उद्धाहरण हो धनकौलमा एक १४ वर्षे किशोरमा कोरोना भाईरस संक्रमण पोजेटिभ देखिनु । अत्यावश्यक क्षेत्रका लामो दूरीका सवारीका साधनमा निसंक्रमण गरिएको छैन । मुख्य सडक तथा बजारी क्षेत्रमा सचेतना र सतर्कताका लागि प्रभावकारी काम भएको छैन । निसंक्रमण तथा सचेतना अभावले मुख्य लोकमार्ग तथा सडक खण्डहरु र साना तथा भित्री सडक खण्डहरुमा लक डाउन पहिला र अहिलेमा कुनै फरक छैन ।
 त्यसमा पनि सरकारले लक डाउन लम्याउन बनाएको नयाँ मोडलमा सर्लाही जिल्ला पनि रोड जोनमा परेको छ तर पनि नत सामाजिक दुरी कायम नै भएको छ नत लक डाण्न नै प्रभावकारी छ । जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले स्थानीय तहहरुलाई कोभिड–१९ नियन्त्रण तथा रोकथाममा सबै शक्ति प्रयोग गर्न आग्रह गरिएको बताउनुभयो ।
‘रेड जोन’ मै छैन सामाजिक दूरी कायम
कोरोना संक्रमणको दृष्टिकोणले खतरनाक क्षेत्रका रूपमा सर्लाही सहित प्रदेश नम्बर २ का आठ वटै जिल्ला परेका छन । तर रेड जोनमा परेको सर्लाहीमा भने सामाजिक दूरी वेवास्ता गरी सामाजिक व्यापार व्यावसाय नियमित रुपमा सञ्चालनमै छ भने सवारी साधन सञ्चालनमा पनि कुनै परिवर्तन आएको छैन । 
केन्द्र सरकारले लकडाउनलाई थप कडाइका साथ लागू गरिरहेको समयमा स्थानिय सरकार र स्थानिय प्रहरी प्रशासन  मौन रहँदा जिल्लाको लालबन्दी,बरथवा,मलंगवा लगायतका स्थानका   बजारहरुमा मानिसहरुको भीडभाड लक डाउन पुर्व र अहिलेमा कुनै फरक छैन ।
व्यापार व्यावसाय गर्दा वा अति आवश्यक वस्तु खरिद विक्रि गर्र्दा सामाजिक दूरी कायम गरेर वितरण गनुपर्ने भएपनि जिल्लाको लालबन्दी,बरथवा,मलंगवा लगायतका स्थानका   बजारहरुमा मानिसहरुको भीडभाड लक डाउन पुर्व जस्तै छ ।
स्थानिय प्रहरी प्रशासनले व्यवस्थापन गर्न नसक्दा समस्या भएको स्थानियले बताएका छन् । स्थानिय प्रहरीले लक डाउनको सुरुको समयमा लक डाउन पालना गराउन नसक्दा अहिले थप लक डाउन उल्लंघन भइ रहेको भने सामाजिक दुरी कार्यन्वयन छैन ।
प्रहरीले सामाजिक दूरी कायम गरी बस्न भनेपनि सेवाग्राहीले नमानेको प्रहरीले जनाएको छ । जनप्रतिनिधिहरु राहत वितरणमा व्यस्त हुँदा व्यवस्थापन गर्न नसकिएको लालबन्दी नगरपालिकाका नगर प्रमुख मानबहादुर खड्काले बताउनु भयो । सेवाग्राहीलाई दूरी कायम गर्न भन्दा मान्दै मान्दैनन् एक्लै व्यवस्थापन गर्न सकिदैन उहाँको भनाई छ । 
लकडाउन कार्यन्वयन नहुनु नै कोरोना संक्रमण बढ्नु,
कोरोना भाईरस(कोभिड १९ ) संक्रमणले विश्वलाई नै तहसनहस बनाएको छ । नेपालमा पनि दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । त्यसमा पनि बढीमात्रामा घुमफिर गर्ने र एकठाउँबाट अर्को ठाउँमा हिडिरहने मानिसहरु संक्रमित हुने गरेका देखिएको छ । नेपालमा हाल सम्म १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विशेष गरि पुरुषहरु धेरैजसो छिमेकी देश भारत र देशविदेश घुम्ने भएकै कारण पुरुषमा नै बढी संक्रमण देखिएको छ ।जस कारण स्वास्थ्य उपचारमा पनि महिलालाई भन्दा पुरुषलाई घरपरिवारबाटनै प्राथमिकतामा राखिएको छ । महामारीको स्रोतका रुपमा नेपालका पुरुषहरुनै पहिलो पंक्तिमा रहनुले महिलाले भन्दा पुरुषले क्वारेन्टाईन, लकडाउन लगायतका नीति नियमको पालना कम गरेको पाईएको चिकित्सकहरुको ठम्याई छ ।
सर्लाहीको धनकौलमा छिमेकी देश भारतमा रोजगारीको सिलसिलामा गएका एक १४ वर्षिय किशोरमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ भने उनि अहिले विरगन्जको अस्पतालमा उपचारत अवस्थामा रहेका छन । जिल्लामा पहिलो घटना भएपनि परिक्षणको दायरा बढाउँदा संक्रमितको संख्या बढ्ने सम्भावना रहेको डा.चन्दन चौधरीले बताउनु भयो । संक्रमितको संख्या धेरै भएका देशहरुबाट नेपाल आएका नागरीकहरु पनि खुलेआम लकडाउनको नियम पालना नगरि डुलीरहनुले पनि संक्रमितको संख्या बढ्न सक्ने डा.चौधरीले बताउनु भयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार हाल सम्म नेपालमा १ सय १ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । भने संक्रमण पुष्टि भएका बिरामीहरु देशका विभिन्न अस्पतालहरुमा उपचारत अवस्थामा रहेका छन ।
जिल्लामा ३९ क्वारेन्टाईन,५५० वेड,५६ जना क्वारेन्टाईनमा,
पछिल्लो समय जिल्लाका स्थानिय निकायले नै काठमाडौ लगायत देशका बिभिन्न स्थानमा रहेका आफ्ना नागरीकलाई  स्थायी घर फर्काउने क्रम बढेसँगै क्वारेन्टाइनमा रहनेको संख्या पनि बृद्धि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताउनु भयो । पछिल्लो समय जिल्ला बाहिरबाट आउनेहरुलाई जिल्लाका विभिन्न स्थानिय निकायले तयार पारेका क्वारेन्टाइनमा राख्ने गरिएको प्रजिअ जिसीले बताउनु भयो ।
जिल्लाका ३९ वटा क्वारेन्टाईनका ५ सय ५० वटा वेडमा २ सय ६६ जनालाई राखिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक विश्वमणी पोख्रेलले जानकारी दिनु भयो । जिल्लाको लालबन्दी,परवानीपुर,पत्थरकोट, इश्वरपुर,चन्द्रनगर, लगायतका स्थानका गरी ३९ वटा क्वारेन्टाईनमा राखिएका २ सय ६६ जना मध्ये हाल क्वारेन्टाईनमा ५६ जना रहेका छन भने २ सय १० जना कोरोना भाईरस ििरपोर्ट नेगेटिभ आएका कारण आ–आफ्नो घर फर्किका प्रहरी उपरिक्षक पोख्रेलले जानकारी दिनु भयो । स्वदेश तथा विदेशबाट आएका नागरीकहरु जिल्लाका क्वारेन्टाईनमा रहेका प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार