मंसिर ४ गते आईतवार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सर्लाहीसहित मधेश प्रदेशका नेपाल–भारत सीमा नाका आज(बिहीबार) देखि तीन दिन बन्द गरिने भएकाे छ ।
नेपाल–भारत दुवैतर्फका सुरक्षा अधिकारी तथा जिल्लाका पदाधिकारीहरु र सम्वद्ध अधिकारीहरुबीच छलफल गरि आज(बिहिवार) रातीदेखि मतदानकाे दिन राति सम्म अर्थात् ७२ घण्टा नै सीमा नाका सिल गर्ने निर्णय भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए। उनका अनुसार नेपालका तर्फबाट सर्लाही,रौतहट र महोत्तरीका प्रमुख जिल्ला अधिकारीसहित चारैवटा सुरक्षा निकायका प्रमुखहरु र दुवै देशका सुरक्षतकर्मीहरुको विशेष छलफलबाट बिहिबार(आज) राति देखि निर्वाचनकाे दिन मंसिर ४ गते आईतवार राती सम्म सिमानाका पुर्णरुपमा बन्द गरिने भएको हाे ।
यस्तै, बैठकमा जिल्लाका भन्सार कार्यालयका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो । भारतको तर्फबाट भने सीतामढी जिल्लाका मुख्य जिल्ला अधिकारीको नेतृत्वमा त्यहाँका प्रहरी प्रमुख, भन्सार प्रमुख र एस.एस.बी. का अधिकारीहरुको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
बैठकमा गत वैशाखमा सम्पन्न स्थानीय निकायकाे निर्वाचनमा भारतीय अधिकारीहरुबाट पाएको सहयोगका लागि नेपाली पक्षले धन्यवाद व्यक्त गरेको छ। साथै मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आवश्यक सहयोग तथा समन्वय गर्ने भारतीय पक्षले प्रतिवद्धता व्यक्त गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।
बैठकमा खुला सीमा नाकाका कारण हुन सक्ने चोरी तस्करी नियन्त्रण, लागुऔषध तथा मदिराको ओसारपसार नियन्त्रण, सूचना आदानप्रदान, अवैध मद्राको कारोबार नियन्त्रण तथा साना हातहतियारहरुको ओसारपसारमा रोक लागाउने र निर्वाचनको सुरक्षा संवेदनशीलताको विषयमा समेत छलफल भएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए ।