सर्लाहीकाे क्षेत्र नम्बर ३ प्रदेश सभा(२) मा जनता समाजवादी पार्टी(जसपा)का संजय यादवले प्रदेश सभा सदस्यमा विजयी प्राप्त गरेका छन् । उनी स्वतन्त्र तर्फ(लालटिन) छापका उम्मेद्वार सराेज कुमार रायलाई करिब ५ हजार मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन ।
यसै प्रदेश सभाबाट निवर्तमान प्रदेश सभा सदस्य समेत रहनु भएका यादवले १३ हजार १ सय ९० मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार लालटेन छापका रायले ८ हजार ३ सय ४८ मत मात्र पाएका मुख्य निर्वाचन अधिकृतकाे कार्यालय सर्लाहीले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यादवले ४ हजार ८ सय ४२ मतान्तरले रायलाई पराजित गरेका हुन । नेपाली कांग्रेसका उम्मेदवार हरेस प्रसाद महताेकाे ८ हजार ३५ मत ल्याएका छन् ।
जिल्लाको निर्वाचन क्षेत्र नं ३ को (२) बाट जनता समाजवादी पार्टी(जसपा)बाट यादवले २०७४ सालको निर्वाचनमा पनि जित निकालेका हुन । प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ मा यादवले नेकपा(एमाले)–जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) काे गठबन्धनतर्फबाट साझा उम्मेदवारी दिएका थिए ।
याे सहित जिल्लामा ३ जना प्रदेश सभा सदस्यहरुकाे अन्तिम मत परिणाम सार्वजनिक भई सकेकाे जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाहीकाे क्षेत्र नम्बर १(१) मा लाेकतान्त्रीक समाजवादी पार्टीका उपेन्द्र महताे र १(२) मा नेकपा(एकीकृत समाजवादी) पार्टीकी बेची लुङ्गेली प्रदेश सभा सदस्यमा दाेस्राे कार्यकालका लागि निर्वाचित भइ सकेका छन् ।