यातायात मजदुरहरूद्धारा सरकारसँग राहतको माग

2.3k Shares

जिल्लाका यातायात मजदुरहरूले सरकारसँग राहतको  व्यवस्था गर्न माग गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) का कारण लामो समयदेखि जारी लकडाउनले गर्दा खान बस्नको समस्या सृजना भएको भन्दै जिल्लाका यातायात मजदुरहरूले सरकारसँग राहतको  व्यवस्था गर्न माग गरेका हुन ।

सवारीसाधन लिएर विभिन्न ठाउँमा पुगेका चालक र सह चालकहरू एक्कासी घोषणा भएको लकडाउनले जहाँको त्यहीँ फसेर अलपत्रमा परेको सर्लाही बस व्यवसायी संघका अध्यक्ष शिवशंकर यादवले बताउनु भयो । लगातार लकडाउनको अवधी बढ्दै जाँदा उनीहरूको अवस्था नाजुक बन्दै गएको भन्दै उनिहरुलाई सरकारले राहतको  व्यवस्था गरि दिए सहजता महसुस गर्ने यादवको भनाई छ ।

जिल्ला सदरमुकाम मलंगवा बाहेक कौडेना, गोडैता, बलरा,बरहथवा, बयलबास, हरिपुर्वा, संग्रामपुर, पर्सा लगायतका ग्रामीण क्षेत्रका बसपार्क क्षेत्रमा पुगेका यातायात मजदुरहरू लकडाउन बढ्दै जाँदा झन् समस्यामा परेका  यातायात व्यावसायी संघले जनाएको छ । मलंगवाबाट दैनिक ६५ वटा बस देशका विभिन्न सहर तथा गाउँका लागि छुट्ने गरेका थिए ।प्रत्येक बसमा चालक, सहचालक र कन्टेक्टर गरि तीनजना यातायात मजदुरहरु रहने गरेका र ती सबै यातायात मजदुरहरुलाई अहिले खानाको  अभाव भएको संघले जनाएको छ ।

अहिलेको कोरोना संकटबाट साहुको बस, ट्रक, अटो  चलाउने हजारौं  चालक तथा सहचालक बेरोजगार बनेका छन् ।  त्यसमा पनि दैनिक ज्यालादारी रूपमा काम गर्नेहरु बढी  मर्कामा परेका छन् । यातायात मजदुरका साथै उनीहरूमा आश्रित परिवारलाई सरकारले राहतको प्याकेज ल्याउनुपर्ने संघका अध्यक्ष यादवले बताएका छन ।

उनका अनुसार बैंकबाट ऋण लिएर निकालेको सवारीसाधनको किस्ता तिर्न नसकेर व्यवसायीहरु समस्यामा परेका छन् ।संघका अनुसार ९० प्रतिशत व्यवसायीले बैंकबाट कर्जा लिएर किस्तामा गाडी निकालेका  छन् । एउटा गाडीमा ८० प्रतिशतसम्म बैंक  तथा सहकारीको लगानी हुन्छ । काम गर्न नपाए पछि छाक टार्न समस्या भइरहेको समयमा बैंकले व्यवसायीलाई किस्ताको ताकेता गरिरहेको व्यवसायीको गुनासो छ ।

 देशभर (लक डाउन)बन्दाबन्दीको घोषणा भए पछि सरकारले यातायात क्षेत्रलाई राहत दिने कार्यक्रमको घोषणा गरेको भए पनि त्यो घोषणामा मात्र सीमित भएको यातायात व्यवसायीहरूले गुनासो गरेका छन् । अहिलेसम्म सरकारबाट कुनै किसिमको सहुलियत र राहत नपाएको उनीहरूको भनाइ छ ।सरकारले  बन्दाबन्दी अवधिभरको ब्याज छुटको व्यवस्था गर्नुपर्ने , यातायात मजदुर र उनीहरुको परिवारको लागि राहतको व्यवस्था गर्नु पर्ने यातायात मजदुरहरुको माग गरेको छ  ।

नेपालमा दैनिक ज्यालादारी गरेर आफ्नो र आफ्नो परिवारको हातमुख जोड्दै आएका मजदुरहरुको घरमा लकडाउनका कारण चुल्हो बल्न छाडेको छ ।मजदुरहरुलाई सरकार छ भन्ने आभास दिलाउन सरकारले तत्कालै राहतको व्यवस्था गर्नु पर्ने उनिहरुको माग छ ।

सम्बन्धित समाचार