मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टी र पार्टीका उम्मेदवारलाई अन्र्तघात गरेको भन्दै नेकपा(माओवादी केन्द्र)का दुईजना पोलिटब्युरो सदस्यलाई कारबाही गर्न सिफारिस भएको छ । प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टी र पार्टीका उम्मेदवारहरुलाई अन्र्तघात गरेको भन्दै सर्लाहीका तीनवटा नगर कमिटीले माथिल्लो निकायलाई सिफारिस गरेका हुन्।
सर्लाही नै स्थायी ठेगाना रहेका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एवम निवर्तमान मन्त्री रामेश्वर राय यादव र माओवादी केन्द्र सर्लाहीका इन्चार्ज समेत रहेका पोलिटब्युरो सदस्य अच्युतम काफ्लेलाई कारबाही गर्न भन्दै पार्टीका तीनवटा नगर कमिटीले अलग–अलग रुपमा पार्टीका माथिल्ला निकायलाई सिफारिस गरेका नेकपा(माओवादी केन्द्र) सर्लाहीले जनाएको छ ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्यद्वय काफ्ले र यादवलाई कार्बाहीका लागि माओवादी केन्द्र हरिवन नगर कमिटि,बागमती नगर कमिटि र बहरथवा नगर समितिले पार्टीको मधेश प्रदेश समिति र पार्टी केन्द्रलाई छुट्टाछुट्टै सिफारिस पठाएको हरिवन नगर कमिटिका अध्यक्ष अर्जुन पन्तले जानकारी दिए । माओवादी केन्द्र हरिवन,बागमती र बहरथवा नगर कमिटिको संयुक्त बैठकले नेताद्वय काफ्ले र यादवलाई कार्बाहीका लागि सिफारिस गरेको हरिवन नगर कमिटिका सचिव गौरी शंकर महतोले जानकारी दिए ।
मंसिर ४ को प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलबार पराजित भएपछि पोलिटब्युरो सदस्य काफ्ले र यादवले अन्तर्घात गरेको ठहर गर्दै उनीहरुलाई कारबाही गर्न सिफारिस गरिएको माओवादी केन्द्र बागमती नगर कमिटि अध्यक्ष कुमार तुम्सीङ्ले बताए ।
पोलिटब्युरो सदस्य काफ्ले र रायले नेकपा(एमाले)का उम्मेदवार हरि उप्रेतीसँग मिलेमतो गरेर पार्टीका उम्मेदवार साहलाई हराउन भूमिका खेलेको पुष्टि भएपछि उनीहरुलाई कार्बाहीका लागि केन्द्रमा सिफारिस गरिएको र अहिले सिफारिस प्रदेश कमिटिमा पुगि सकेको माओवादी केन्द्र बरहथवा नगर कमिटि अध्यक्ष थापाले जानकारी दिए ।
निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार साह एमालेका नेता उप्रेतीसँग ७ सय ७० मतान्तरले पराजीत भएका थिए । उप्रेतीले ३२ हजार ९ सय ३८ मत प्राप्त गर्दा साहले ३२ हजार १ सय ६८ मत ल्याएका थिए।
प्रतिनिधि सभा सदस्यको टिकट वितरण कै समयदेखि केही रुष्ट देखिएका पोलिष्ब्युरो सदस्य काफ्ले र यादवले एमाले उम्मेदवार उप्रेतीसँग मिलेर साहलाई हराउन भूमिका खेलेको पुष्टि हुने एक नेताले बताए ।
‘काफ्ले र यादवले पार्टी उम्मेदवारलाई पराजित गर्न गरेको षड्यन्त्रका केही प्रमाण पनि आफुहरुले केन्द्रमा पठाएको र उनीहरुले अन्तर्घात नगरेको भए सर्लाही क्षेत्र नम्बर ३ मा पार्टीका उम्मेदवारले हार्ने थिएनन्। यो यथार्थ पार्टी केन्द्रलाई पनि जानकारी छ।’ ती नेताले बताए ।
माओवादी केन्द्रका तीन नगर कमिटीले पोलिटब्युरो सदस्य काफ्ले र यादवसँगै माओवादी केन्द्रका नेता राजकुमार यादवले पनि साहलाई हराउन भूमिका खेलेको निष्कर्ष निकालेको छ। तर, राजकुमार माओवादी केन्द्रको कुनै पनि समितिमा नभएकाले उनलाई कारबाहीको सिफारिस नगरिएको माओवादी केन्द्र हरिवन नगर कमिटिले जनाएको छ ।
अवसर पाउँदा जता पनि कुद्ने बानी परेका राजकुमार माओवादी केन्द्र र एमाले वीच पार्टी विभाजन भएपछि एमाले मै रहेका थिए । त्यहाँ रहँदा उनलाई राष्ट्रिय भूमि आयोग सर्लाही अध्यक्ष बनाइएको भएपनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि उनको पदपनि ढलेको थियो। त्यसपश्चात राजकुमार फेरी माओवादी केन्द्र मै फर्किएका थिए ।