सर्लाहीका उखु मिलहरुले समयमै भुक्तानी नदिएपछि जिल्लाका उखु उत्पादक किसानहरु सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लामा रहेका तीन वटा उखुमिल मध्य हरिवन नगरपालिका ११ स्थित रहेको इन्दु शंकर चिनी उद्योग बाहेक अन्नपुर्ण र महालक्ष्मी सुगर मिलले समयमै उखु उत्पादक किसानहरुको भुक्तानी नदिएपछि हैरान भएका जिल्लाका किसानहरुले उत्पादन गरेको उखु सक्खर उद्योगलाई बेच्न थालेका हुन ।
जिल्लामा रहेका चिनी मिलहरु पनि समयमा सञ्चालन नहुने र उखु बेचेको लामो समय सम्म पनि भुक्तानी नपाउने चिन्तामा रहेका जिल्लाका किसानहरुले स्थानिय सक्खर उद्योगहरुलाई आफुले उत्पादन गरेको उखु समयमैबेचेर खाली भएको जमिनमा मुसुरो,गहुँ र धनियाँ लागउन थालेका छन् ।
“जिल्लाको इन्दु शंकर चिनी उद्योग पुसको पहिलो साताबाट सञ्चालन गर्ने तयारी भई रहेको भएपनि अन्नपुर्ण सुगर मिल र महालक्ष्मी सुगर मिल विगतका वर्ष मै खरिद गरेको उखु उत्पादक किसानहरुको उखुको रकम भुक्तानी गर्न नसकेर सञ्चालन हुने नहुने भन्ने दोधारमा रहेका छन् । जसका कारण पनि किसानहरुले समयमै उखु बिक्रि गर्न नपाउँदा खेतमा अन्य बाली लगाउन नपाउने हुँदा सक्दर उद्योगलाई उखु बेचेरभएपनि समयमै आफ्नो खेत खाली गरि अन्य बाली लगाउने गरेका छन् ।” बरहथवा नगरपालिका १२ का उखु उत्पादक किसान बलिराम रायले कमलामाई मिडिया प्रा.लिलाई बताए । उनका अनुसार चिनी मिलहरु समय मै सञ्चालन नहुने सञ्चालन भईहाले पनि भुक्तानी कहिले पाउँने भन्ने टुङ्गो नहुने जसका कारण किसानहरुले खेतमा अर्काे बाली पनि लगाउन पाएनन् भने भुक्तानीको चिन्ता सधै रहिरहने गरेको कारण पनि सक्खर उद्योगहरुलाई उखु विक्रि वितरण गर्न थालेका हुन ।
“उखु उत्पादक किसानहरुले उत्पादन गरेको उखु उद्योगको भन्दा कम मूल्यमा भएपनि सक्खर उद्योगलाई बेच्न थालेका छन् । ”बरहथवा नगरपालिका ११ का अर्का उखु उत्पादक किसान रत्न बहादुर घिमिरेले कमलामाई मिडिया प्रा.लिलाई बताए । उनका अनुसार नगदे बालीका रूपमा रहेको उखु बेच्ने अन्य कुनै विकल्प नभएकाले सक्खर उत्पादन गर्ने उद्योगलाई बेच्न किसानहरु बाध्य भएका हुन ।
सरकारले यस वर्ष रु ६ सय प्रतिक्वुन्टल उखुुको मूल्य निर्धारण गरेको भए पनि जिल्लाका किसानहरुले अहिले सक्खर उद्योगलाई प्रतिक्वुन्टल रु ३ सय ५० का दरले उखु बेच्न थालेका उखु उत्पादक किसान राज कुमार मैनालीले बताए । चिनी मिल नै बन्द भएपछि उब्जाइएको उखुु कसैले खरिद गर्न नसकेको अवस्थामा बाध्य भएर सस्तो मूल्यमा सक्खर उद्योगलाई बेच्न थालेको बसबरिया गाउँपालिका २ का उखु उत्पादक किसान राम विलाश महतोले कमलामाई मिडिया प्रा.लिलाई बताए ।’खेतमा सिँचाइ र मलको आभावका कारण अन्य कुनै बालीनाली उब्जाउन नसकिएका कारण बर्सेनि उखुुखेती गर्दै आए पनि यसबाट कुनै फाइदा हुँदैन, समय गुज्रिएपछि बेचेको उखुको भुक्तानी कहिलेपाउने भनने ठेगान हुँदैन् ।’ महतोले भने ।
“उब्जाइएको उखु पनि सक्खर उद्योगले न्यून मूल्य निर्धारण गरेर लिने गरेको छ। तर पनि बाध्य भएर सक्खर उद्योगलाई बेच्नुपर्छ । किसानहरुले खेतमा लगाएको उखुु बेचेर पुनःमुसुरो,धनियाँ र गहुँ लगायतका बाली लगाउन सकिने भएकाले हतार–हतारमा उखु बेच्ने गरेका छौँ ।” अर्का उखु उत्पादक किसान विनय रायले बताए । समय हुँदा उखु बेचेर आएको पैसाले अन्य बाली लगाउन सकिने भएकाले घाटा खाएरै भए पनि सक्खर उद्योगलाई उखु बेच्ने गरेको जिल्लाका उखु उत्पादक किसानहरुको गुनासो छ ।
सक्खर उत्पादकको पनि गुनासो
बरहथवा नगरपालिकाभरि हाल करिब ६ वटा सक्खर उत्पादन गर्ने उद्योग सञ्चालनमा रहेका छन्। उद्योग सञ्चालकहरूले पनि सक्खरको मागअनुसार उखुुको मूल्य निर्धारण गर्दै आएका छन् । उत्पादित सक्खरको खपत कम भयो भने उखुको मूल्य पनि रु २ सय ७० सम्म प्रतिक्वुन्टल हुन्छ, खपत बढी भयो भने रु ४ सय सम्ममा सक्खर उद्योगहरुले उखु लिने गरेका छन् ।
११ क्वुन्टल उखु पेलेर एक क्वुन्टल सक्खर उत्पादन हुँदै आएको बरहथवा नगरपालिका ११ का सक्खर उत्पादक व्यवसायी शत्रुधन रायले कमलामाई मिडिया प्रा.लिलाई बताए । उत्पादित सक्खर मध्ये कालो सक्खरको रु ५ हजार र सेतो सक्खरको रु ५ हजार ५ सय देखि ६ हजार २ सय प्रतिक्वुन्टल बजार मूल्य रहेको छ । आफ्नो उद्योगमा प्रत्यक्ष रूपमा ६ जनाले दैनिक ज्यालीदारीमा रोजगारीसमेत पाएका रायले कमलामाई मिडिया प्रा.लिलाई बताए ।
“भारतबाट अवैध रूपले आउने सक्खरको कारण आफ्नो व्यवसाय नै धराशायी बन्दै गएको छ । सक्खरले बजार मूल्य नपाउँदा किसान र व्यवसायी दुवैले समस्या झेल्दै आएको छ ।” बरहथवा नगरपालिका ११ स्थित सञ्चालनमा रहेको सक्खर उद्योगका सञ्चालन शिवचन्द्र रायले कमलामाई मिडिया प्रा.लिलाई बताए । भारतबाट आएको सक्खर सस्तो मूल्यमा बिक्री हुँदा आफूहरूले पनि सोही अनुसार उत्पादन गरिरहेको सक्खर बेच्नु परेकाले लगानी अनुसारको मूल्य आउन नसकेको उनको गुनासो छ ।
जिल्लाका विभिन्न स्थानमा उत्पादित सक्खर जिल्लाका विभिन्न स्थानबाट आएका व्यवसायीहरूले लग्ने गरेका छन् । माघेसंक्रान्ति आउन एक महिना बाँकी भए पछि उद्योगी र व्यापारीहरुले सक्खर खरिद गरी स्टक गर्दै आएका छन् । सक्खर उत्पादनका लागि करिब २ महिना मात्र उखु क्रसिङ हुने उद्योगीहरूको भनाइ छ ।
पहिला पहिला दैनिक ५० क्वुन्टलका दरले करिब ४ महिना सक्खर उद्योग चल्ने गरको भएपनि पछिल्लो समय २ महिना मात्र उद्योग चलाउन सक्नेउखु उत्पादन हुने गरेको उद्योगीहरुको भनाई छ ।