Close This

सर्लाहीका नागरिकहरु गोबरको गुइँठामा खाना पकाउन बाध्य

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-२६ गते   १७२ पटक हेरिएको

सर्लाहीका अधिकांश नागरिकहरु वन्यश्रोतको अभावमा गाईबस्तुको गोबरबाट बनेका गुइँठामा खाना पकाउन वाध्य छन् । जिल्लाका अधिकांश स्थानका नागरिकहरु वन्यश्रोतको अभावमा गाईबस्तुको गोबरबाट बनेका गुइँठामा खाना पकाउन वाध्य भएका हुन ।
नेताहरुले घरघरमा पाइपलाइबाट ग्यास पु¥याउने सपना देखाएपनि जिल्लाका नागरिहरु भने वन्यश्रोतको अभावमा गाईबस्तुको गोबरलाई गुइँठा बनाएर त्यसैमा खाना पकाउन वाध्य भएका छन् ।
जिल्लामा रहेका २० वटा स्थानीय निकायहरु मध्य अधिकांश स्थानीय निकायका नागरिकहरु वर्षौदेखि गोबरलाई गुइँठा बनाई खाना पकाउनको लागि इन्धनको रुपमा प्रयोग गर्दै आइरहेका छन् । विषेशगरी जिल्लाका दक्षिणी भेगमा गुइँठाको प्रयोग अत्याधिक हुने गरेको छ ।
तराई–मधेसमा गुइँठाबाट खाना पकाउने चलन पुरानो भएता पनि वनबाट पाइने दाउराको अभाव तथा असहज उपलब्धताले गर्दा सो क्षेत्रका नागरिकहरु अझैपनि गुइँठाबाट खाना पकाउन वाध्य रहेका छन् ।
हुने खाने र सम्पन्न परिवारहरुले एलपीजी ग्यासको प्रयोग गर्ने गरेता पनि अधिकांस स्थानियहरु भने अझैपनि गुइँठा मै भर परिरहेका छन् । आफ्नो गाउँ नजिकै कुनैपनि वनहरु नरहेको,वनबाट दाउरा ल्याउनको लागि लामो दुरी जानुपर्ने वाध्यता तथा वनबाट दाउरा ल्याउँदा वनका कर्मचारी तथा प्रहरीले दुःख दिने गरेकाले आफुहरु गुइँठाकै प्रयोग गर्न वाध्य रहेको ब्रम्हपुरी गाउँपालिका ४ की रामकली देवीलगुनासो गर्नु भयो ।
गाइभैसीँको गोबरमा गहुँको भुसा,मकै,गहुँ वा तोरीको डाठहरु र पराल आदि मिसाएर त्यसलाई चाक्लो पारी पथारेर तयार पारिने गुइँठालाई स्थानिय भाषामा गोरहा भन्ने गरिन्छ । तराई–मधेसमा घरका महिला सदस्यहरुको प्रमुख कामहरु मध्ये गुइँठा बनाउन पनि एक रहेको छ । उनीहरुले घरधन्दा सँगसँगै खाना पकाउनका लागि गुइँठा पनि तयार गर्ने गर्दछन् । “गोबरबाट तयार पारिएको गुँइठालाई करिब एक महिना घाममा सुकाएपछि बाल्नको लागि तयार हुने र यसैलाई आफुहरुले अहिले सम्म इन्धनको रुपमा प्रयोग गर्दैै आएको”मलंगवा ७ मुसौलीकी रमिला देवीले बताउनु भयो ।
जिल्लाको दक्षिणि भेगमा रहेका गाउँहरुका घर तथा सडकहरुमा सुकाएर राखिएको गुइँठाका दृश्यहरु सामान्य नै लाग्छन् । सुकेर तयार भएको गुइँठालाई पानी नचुहिने,नभिज्ने तथा सुख्खा ठाउँमा थाक बनाएर राख्ने गरिन्छ । यसरी थाक बनाएर राखेका गुइँठा आवश्यकता अनुसार खाना पकाउन प्रयोग गरिन्छ । “घरमा गाइवस्तु नहुनेहरु पनि बारी,चरणक्षेत्र तथा सडकहरुबाट गोबर खोजेर ल्याएर गुइँठा बनाउने गर्दछन् । ”ब्रम्हपुरी गाउँपालिका ३ का रामविनय रायले बताउनुभयो ।
गुइँठाबाट खाना पकाउँदा अत्याधिक धुँवा आउने,त्यसमा रहेका किराहरु खानामा पर्ने, राम्रोसँग नबल्ने,स्वास्थ्यमा समस्या आउने भएपनि आफुहरुसँग अन्य विकल्प नरहेकाले वाध्य भएर गुइँठाको प्रयोग गर्नुपरेको उहाँको गुनासो छ ।
यता,गाइवस्तुको गोबर गुइँठा बनाएर बाल्दा खेतबारीमा जैविक मलको अभाव हुने गरेको छ । जसले गर्दा कृषकहरुले खेतीबारीमा वाध्य भएर रासायनिक मलको प्रयोग गर्नुपर्दा कृषि उत्पादनमा पनि कमि आउने गरेको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहले बताउनुभयो । खेतबारीमा जैविक मल प्रयोग नगरी केवल रासायनिक मलमात्र प्रयोग गर्नाले जमिनकोे उर्वरा शक्ति क्षिणहँुदै जाने र अन्ततःजमिन मरुभुमीमा परिणत हुने सक्ने कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कुशवाहले बताउनुभयो ।
गाइवस्तुको गोबरबाट तयार पारिएको गुइँठाको प्रयोगबाट निस्कने धुँवाबाट स्वास्थ्यमा नराम्रो असर पर्ने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख सुदिप राज काफ्लेले बताउनु भयो ।उहाँका अनुसार लामो समयसम्म गुइँठाको धुँवामा बस्दा स्वासप्रस्वास सम्बन्धि विभिन्न रोगहरु लाग्ने गर्दछन् ।
वनक्षेत्र टाढा भएका तथा कमजोर आर्थिक अवस्थाले ग्यांस किन्ने र प्रयोग गर्न नसक्नेहरुका लागि गुइँठा नै इन्धनको प्रमुख श्रोतको रुपमा रहेको छ । गुइँठा बाल्दा निस्कने धुँवाबाट घरमा रहेका बाल बालिका तथा वृद्धवृद्धाहरुको स्वास्थ्यमा पनि झन् गम्भिर असर पर्ने भएकाले उनीहरुलाई गुँइठाको धुवाँबाट टाढै राख्न प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख काफ्लेले शुझाब दिनुभयो ।
स्थानियहरुमा गुइँठाको प्रयोगमा कमि ल्याउनका लागि एलपीजी ग्यांस,गोबर ग्यास, विद्युतिय चुल्हो लगायतका वैकल्पिक उर्जाको प्रयोगमा जोड दिन तीनै तहका सरकारले पहल कदमी लिनुपर्ने स्थानीय जानकारहरुको भनाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech