सर्लाहीका तरुल उत्पादक किसानहरुलाई तरुल खन्ने चटारो

1k Shares

सर्लाहीका विभिन्न क्षेत्रहरुका किसानहरुलाई माघे संक्रान्ति नजिकिएसँगै तरुल खन्ने चटारो बढेको छ । जिल्लाको शंकरपुर,राजघाट,हजरिया,बरहथवा,जिरायत,कर्मैयाहजरियालगायतका क्षेत्रमा व्यावसायिक रुपमा तरुल खेती गरेका किसानहरुलाई माघे संक्रान्ति नजिकिएसँगै तरुल खन्ने चटारो बढेको हो । यस क्षेत्रका किसानहरुले तरुल बिक्रीबाट बर्सेनि राम्रो आम्दानी गर्दै आएका छन्। 
बागमती नगरपालिका ५ राजघाट टेकानीका जगतबहादुर खुलाल मगरले यो वर्ष करिब १ विघा क्षेत्रफलमा तरुल खेती लगाएका छन् । उनले गत वर्ष करिब रु ३ लाख ५० हजारको तरुल बिक्री गर्नु भएको थियो । अन्य खेतीको तुलनामा तरुल खेतीमा मेहनत र खर्च कम फाइदा बढी हुने भएकाले १५ वर्षदेखि खेती गर्दै आएका छन् ।
यस वर्ष खेतबाट नै व्यापारीहरुले प्रतिकिलो रु १ सय १० मा तरुल खरिद गरेको बागमती नगरपालिका ६ का किसान यमकुमार मगरले बताए । उनका अनुसार किसानहरुले उत्पादन गरेको तरुल लिन व्यापारीहरु खेतमै पुगेका छन्। लामो समयदेखि तरुल खेती गर्दै आउनु भएका यामकुमारले यस वर्ष करिब १६ कट्ठा जमिनमा तरुल खेती गरेका छन् । उनले व्यापारीलाई प्रतिकिलो रु १ सय १० का दरले खेतैमा र काठमाण्डौँ पुर्याएर प्रतिकलिो रु २ सय २० मा तरुल बेच्नु भएको छ । खर्च कटाएर कट्ठाको रु करिब १ लाख आम्दानी भएको उहाँले बताउनु भयो । तरुल खेतीबाट भएको आम्दानीले छोराछोरी पढाउने र घर व्यावहार चलाउन पुगेको उनको भनाई छ ।
यहाँको तरुल स्वादिलो हुने भएकाले काठमाडौंलगायत देशका मुख्य ठूला शहरहरुबाट अत्याधिक माग आइरहेको बागमती नगरपालिका ८,का व्यापारी नुनुबाबु पण्डितले बताए । यस क्षेत्रका किसानहरुले पताले,झुसे,जाँते र रातो तरुल धेरै मात्रामा लगाउने गरेका छन्। तरुल खेती गर्न बलौटे तथा दोमट माटो उपयुक्त हुने किसानहरुको भनाई छ । बिउ,खनजोत,मलखाद र गोडमेल समेत गरेर प्रतिकट्ठा करिब रु ६ हजार लगानी हुने अर्का किसान राम बहादर मगरले बताए । उनका अनुसार राम्रो उत्पादन हुँदा तरुल प्रतिकट्ठा करिब ८ क्वुन्टलसम्म उत्पादन हुने गरेको छ । जिल्लामा मात्र यस वर्ष करिब ३ सय हेक्टर क्षेत्रफलमा तरुल खेती भएको कृषि ज्ञान केन्द्र मलंगवाका कार्यालय प्रमुख कमल देव प्रसाद कुशवाहले बताए । उनका अनुसार समय तथा मेहनत पनि कम लाग्ने र  सिंचाई नभएपनि तरुल खेती राम्रो हुने भएकाले जिल्लाका किसानहरु तरुल खेती तर्फ बढी आकर्षीत हुने गरेका छन् ।
जिल्लाका किसानहरुले तरुलको राम्रो मुल्य पाएका छन् । राम्रो मुल्य पाएपछि तरुल किसान पनि दंग परेका छन् । बिगत बर्षको भन्दा तरुलले दुई गुणा बढी मूल्य पाएपछि यस पटक आम्दानी पनि मनग्य हुनेमा यस क्षेत्रका तरुल किसान ढुक्क छन् ।
जिल्लाको बागमती नगरपालिका स्थित राजघाटका तरुल किसान बलराम उप्रेती तरुलको मूल्य राम्रो पाएका छन्। यस पटक माघे संक्रान्ति नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानहरुमा उत्पादन भएको तरुल प्रतिकिलो रु एक सय देखि एकसय ६० सम्म खेतैमा पाएको अर्का तरुल उत्पादक  किसान राजलाल महतोले बताए।‘पोहोर साल त रु ६०÷७० प्रतिकिलो थियो’ । उहाँका अनुसार ‘यस पटक राम्रो भाउ पाएका छौ । रामै्र फाइदा हुन्छ होला ।’ संक्रान्तिको लागि भन्दै तरुल खरिद गर्न किसानहरुका बारी बारीमै व्यापारीहरु पुग्ने गरेका छन् ।
यहाँ उत्पादन भएको तरुल ठेकेदारले किसानसँग खरिद गरेर देशका मुख्य बजार हेटौडा, लहान,काठमाडौं बिराटनगर र धनगढीसम्म पु¥याउने गरेका छन् । ठेकेदारहरुले खेतमै खनेर लैजाने गरी तरुल ठेक्का लिएका राजघाटका तरुल उत्पादक किसान बिनोद दाशले बताए ।उनका अनुसार किसान आफैले स्थानीय बजारमा समेत तरुल बिक्रीको लागि लैजाने गरेका छन् ।
‘लगानी थोरै र स्याहार पनि थोरै गर्नुपर्ने भएकोले तरुलको यसपटकको मूल्यले किसानलाई फाइदा छ’ । राम कुमार मैनालीले कमलामाई मिडिया प्रा.लिलाई बताए।‘अन्य बालीलाई जस्तो स्याहार मल गर्नुपर्दैन । मकै वा बेसार भित्र लगाउदा पनि हुने’ एउटै बारिमा दुई थरी खेती गर्न पाहिने भएकोले पनि किसानहरु तरुलतर्फ आकर्षित हुँदै आएको स्थानीयको भनाइ छ । तरुल बिक्री बितरणमा अहिलेसम्म किसानले दुख पाउनु नपरेकोमा समेत किसानहरु खुशी छन् ।
माघे संक्रातीमा विशेष फलारको रुपमा प्रयोग गरिने तरुल अन्य समयमा तरकारीको रुपमा समेत बिक्री हुने गर्दछ ।तरुलखेती गर्दा जमीन हेरेर बिउँ,खनाई,जोताई,खाद मल र गोडमेल समेत गरेर राम्रो आम्दानी हुने किसानहरुको भनाइ छ ।

सम्बन्धित समाचार