जिल्लाकोे लालबन्दीमा प्रदेशमै पहिलोपटक अत्याधुनिक सुविधायुक्त एन्टीभेनम उत्पादन तथा अनुसन्धान केन्द्रको स्थापना हुने भएको छ । केन्द्र सरकार,प्रदेश सरकार र स्थानिय सरकारको लगानीमा अत्याधुनिक सुविधायुक्त एन्टीभेनम उत्पादन तथा अनुसन्धान केन्द्रको स्थापना हुने भएको हो।
केन्द्र सरकार,प्रदेश सरकार र स्थानिय सरकारको लगानीमा एन्टीभेनम उत्पादन तथा अनुसन्धान केन्द्रको स्थापना सुरु गरिएको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले बताउनु भयो । एन्टीभेनम उत्पादन तथा अनुसन्धान केन्द्रको निर्माण सम्पन्न भए पछि सर्पको टोकाईबाट कुनै पनि नेपाली नागरीकले ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुने अध्यक्ष पन्तले बताउनु भयो ।
केन्द्र निर्माणको काम ४ चरणमा हुने र पहिलो चरणमा रु ७१ करोड लगानी लाग्ने कार्यकारी प्रमुख उमेश बरालले बताउनु भयो । अहिले केन्द्रको सर्प फार्म निर्माणका लागि जग्गा उपलब्ध भइ सकेको र डिपिआरको काम सकेर अरु काम अगाडी बढाउने बरालले बताउनु भयो ।
विषालु सर्पका कारण बर्सेनि उपचार नपाई ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि सो समस्याहरुलाई मध्य नजर गर्दै जिल्लाको लालबन्दीमा नेपाल कै पहिलो सुविधा सम्पन्न सर्प दन्स उपचार केन्द्र स्थापनाको काम सुरु गरिएको प्रतिष्ठानले जनाएको छ ।
केन्द्रको स्थापनाको काम सुरु भई सकेको र चाँडै निर्माण कार्य सम्पन्न गरेर सञ्चालन ल्याउने प्रतिष्ठानले जनाएको छ । नेकपाका नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल सर्लाहीमा निर्वाचन लड्न आउँदा एक जनालाई सर्पले टोकेर ज्यान गएको अवस्थालाई मनन गर्दै एन्टीभेनम उत्पादन तथा अनुसन्धान केन्द्रको स्थापना गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । सोही अनुसार केन्द्रको स्थापना सुरु गरिएको हो ।
केन्द्रको स्थापनाका लागि केन्द,प्र्रदेश र स्थानिय सरकारसँग आवश्यक समन्वन्यात्मक काम गर्दै अगाडी बढ्ने प्रतिष्ठानले जनाएको छ । उक्त क्षेत्रमा एन्टीभेनम उत्पादन तथा अनुसन्धान केन्द्रको स्थापना भएपछि प्रदेश नम्बर २ सहित पुरै नेपाली प्रत्यक्ष लाभान्वीत हुने प्रतिष्ठानले विश्वास लिएको छ ।
प्राय तराईका क्षेत्रमा सर्पदंशका कारण बर्सेनि थुप्रैको अकालमा ज्यान जाने गरेको छ । भने केन्द्रको स्थापना पछि सो समस्या समाधान हुने विश्वास लिएको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो ।
जिल्लामा व्यावस्थीत सर्पदंश उपचार केन्द्र नहुँदा बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यताले समयमै उपचार नपाउँदा धेरैको अकालमा ज्यान जाने गरेको छ । तराईका जिल्लाहरुमा हिउँदमा भन्दा गर्मीयाम तथा वर्षायाममा सर्पको बढी बिगबिगी हुने गर्दछ ।