Close This

हरिवन ७ को वडाध्यक्षमा पुनः मतगणना गर्न उच्च अदालत जनकपुरको आदेश

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-२५ गते   १३६ पटक हेरिएको


सर्लाहीको हरिवन नगरपालिका ७ को वडा अध्यक्षको मत पुनःगणना गर्न  उच्च अदालत जनकपुरले आदेश दिएको छ । हरिवन नगरपालिका ७ का वडाध्यक्षमा यसअघिको मतगणनालाई रद्द गरी पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको हो ।
उच्च अदालत जनकपुरका न्यायाधिशद्वय भोजराज अधिकारी र रेखा थापा(पाण्डे)को संयुक्त ईजलासले उक्त वडाको अध्यक्षका लागि पुनः मतगणनाका लागि आदेश दिएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए ।
स्थानीय निकायको निर्वाचन २०७९ बैशाख ३० मा निर्वाचन अधिकृतको कार्यालय हरिवनले गरेको गणना अनुसार हरिवन नगरपालिका ७ को वडाध्यक्षमा नेकपा(एमाले)का निरध्वज कार्की निर्वाचित भएका थिए ।,
नर्वाचन अधिकृतको कार्यालयको गणना अनुसार वडा अध्यक्ष कार्कीले ३७९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टिकाजंग थापा(अशोक)ले ३७८ मत पाएका थियो । कांग्रेसका थापाले तत्कालै पुनःमतगणनाको अन्तरिम आदेश जारीको माग सहित रिट दायर गरेपनि अदालतले अन्तरिम आदेश जारी नगरी पुनः मतगणनाको आदेश दिएको उच्च अदालत जनकपुरका रजिष्ट्रार अधिकारीले बताए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका थापालाई एक मतले पराजीत गर्दै विजयी हुनु भएका वडा अध्यक्ष कार्की हाल कार्यरत रहनु भएको छ । अब मतपत्र उच्च अदालतमै झिकाएर पुनः गणना गरिने रजिष्ट्रार अधिकारीले बताए ।
एक मतान्तरले कार्की विजयी भएको घोषणा निर्वाचन अधिकृतको कार्यालय हरिवनले गरेपछि केही समय विवाद समेत भएको थियो । भने केही घण्टा मतगणना समेत स्थगीत गरिएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech