सर्लाही क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएका हरि प्रसाद उप्रेती नेपाल सरकारको रक्षा मन्त्रीमा नियुक्त भएका छन् । मंगलबार मन्त्रीपरिषद् विस्तार गर्दा प्रतिनिधि सभा सदस्य उप्रेती रक्षामन्त्रीमा नियुक्त भएका हुन् ।
सर्लाहीको बरहथवा नगरपालिका १५ स्थित पिप्राभित्ता निवासी उप्रेती मंसिर ४ मा सम्पन्न निर्वाचनमा नेकपा(एमाले)को तर्फबाट सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएका थिए ।
उप्रेतीले नेकपा(माओवादी केन्द्र)का नरेन्द्र साह कलवारलाई सात सय ७० मतले पराजित गर्दै दोस्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । निकै कडा प्रतिस्पर्धामा उप्रेतीले ३२ हजार नौ सय ३८ र साहले ३२ हजार एक सय ६८ मत प्राप्त गरेका थिए ।
उप्रेती २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा सर्लाही क्षेत्र नं. ३ बाट नै निर्वाचित भएका थिए । एमालेले २ पटक सांसद भइसकेकालाई मन्त्रीमा प्राथमिकता दिँदा प्रचण्ड सरकारमा उप्रेती रक्षामन्त्रीमा नियुक्त हुन सफल भएका हुन् ।उप्रेती एमालेको मधेश प्रदेश कमिटीका सदस्य हुन् ।