राजर्षी जनक कप फुटबल प्रतियोगिता सातौँ सुंस्करण माघ २५ बाट सुरु हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-४ गते   ८१४ पटक हेरिएको

मधेश प्रदेशकै सर्वाधिक धनराशी पुरस्कार भएको राजर्षी जनक कप फुटबल प्रतियोगिताको सातौँ संस्करण माघ २५ गतेबाट सुरु हुने भएको छ । सर्लाहीको बागमती नगरपालिका ११ स्थित रहेको स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा मधेश प्रदेशकै सर्वाधिक धनराशी पुरस्कार भएको राजर्षी जनक कप फुटबल प्रतियोगिताको सातौँ संस्करण माघ २५ गतेबाट सुरु हुने आयोजक बागमती युवा क्लबका महासचिव  एवम बागमती नगरपालिकाका नगर खेलकुद संयोजक सागर मैनालीले जानकारी दिए ।
उनका अनुसार माघ २५ गतेबाट सुरु हुने सातौँ राजर्षी जनक कप फुटबल प्रतियोगीता फागुन ६ गते सम्म स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सञ्चालन हुने छ । बागमती नगरपालिकाको आयोजनामा हरेक वर्ष हुने मधेश प्रदेशकै सर्वाधिक धनराशी पुरस्कार भएको राजर्षी जनक कप फुटबल प्रतियोगिताको प्रथम पुरस्कार १० लाख,दोस्रो पुस्कार पाँच लाख,सर्वाेत्कृष्ट सर्लाहीका एकजना खेलाडीलाई एकथान पल्सर मोटरसाईकल, ,सर्वाेत्कृष्ट एकजना खेलाडीलाई ५१ हजार नगद् पुरस्कार प्रदान गरिने छ ।
छैँटौँ राजर्षी जनक कपको उपाधि हेटौंडाको पिप्ले युवा क्लवले जितेको आयोजक बागमती युवा क्लवका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए । उनका अनुसार  छैँटौँ राजर्षी जनक कप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङदी क्लब काठमाडौं,नेपाल आइस हिमालयन शेर्पा क्लब काठमाडौं,पिप्ले युवा क्लब हेटौडा,आयोजक बागमती युवा क्लब सर्लाही,के.बि.ए. ग्लोबल बि.एफ.सी चितवन,न्यूरोड टिम (एन.आर.टी.)काठमाडौं,नव जागृती फुटबल क्लब सिमरा,नेपाल पुलिस क्लब काठमाडौं,सुदुरपश्चिम ११ धनगढी,मछिन्द्र फुटबल क्लब काठमाडौं,एभेनिर फुटबल क्लब क्यामरुन,सशस्त्र प्रहरी क्लब(ए.पी.एफ) काठमाडौंको सहभागिता रहेको थियो ।
प्रतियोगीताका हरेक विधाका उत्कृष्ट खेलाडीलाई नगद २५ हजार प्रदान गरिने अध्यक्ष मैनालीले जानकारी दिए । हरेक खेलका उत्कृष्ट खेलाडीलाई नगद २० हजार प्रदान गरिने छ । त्यसैगरी बागमती राइजिङ अफ द एयर हुने खेलाडीलाई मोटरसाइकल र फाइनल खेलका उत्कृष्ट खेलाडीलाई नगद ५१ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।  आयोजक युवा क्लबका महासचिव मैनालीका अनुसार प्रतियोगिता संचालन गर्न ८० लाख खर्च हुने अनुमान गरिएको छ ।
यस वर्ष आयोजक बागमती युवा क्लब सि डिभिजन लिगमा प्रवेश गरेका कारण यस वर्षको उपाधि आयोजकले नै राख्ने अनुमान गरिएको आयोजक बागमती युवा क्लबका सचिव कुमार प्रधानले जानकारी दिए ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech