नुनथर पर्यटकिय क्षेत्रको आकर्षण प्रथम शहिद लखनको सालिक

1.1k Shares

सर्लाही र रौतहटको  सिमाना बागमती नदी किनारमा रहेको पर्यटकिय नुनथर क्षेत्रमा निर्माण भएको प्रथम शहिद लखन थापाको  सालिक नुनथर क्षेत्र घुम्न आउने पर्यटकहरुको मुख्य आकर्षण बनेको छ । सर्लाही र रौतहटको  सिमाना बागमती नदी किनार चन्द्रपुर नगरपालिका १ स्थित बागमती नदी किनार नुनथरमा नेपालका प्रथम शहिद लखनको सालिक निर्माण भएकाले यस क्षेत्र आन्तरीक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनेको हो ।
मगर एकता दिवसको अवसर पारेर अनावरण गरिएको सालिकको गणडकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख कृष्णचन्द्र नेपाली पोख्रेलले समेत अवलोकन गरे । उनले धार्मिक तथा पर्यटकीय क्षेत्र नुनथरको भ्रमण पश्चात प्रथम शहिद लखनको सालिकको समेत अवलोकन गरे । सालिकको अवलोकन पछि अन्तर प्रादेशिय आन्तरीक पर्यटकिय क्षेत्रका रुपमा कसरी विकास र प्रचार प्रसार गर्न सकिन्छ भन्ने विषयमा स्थानीय अग्रज र जानकारहरुसंग छलफल समेत गर्नु भएको रौतहट क्षेत्र नम्बर ४ प्रदेश सभा (क)का प्रदेश सभा सदस्य युवराज भट्टराई(समिर)ले जानकारी दिए ।
  प्रथम सहिद लाखनको सालिक यस क्षेत्रमा निर्माण हुनुले पर्यटकीय क्षेत्रको रुपमा नुनथरलाई अगाडि बढाउन थप टेवा पुगेको चन्द्रपुर नगरपालिका १ का निवर्तमान वडा अध्यक्ष वीर बहादुर रखालले बताए । उनका अनुसार नेपालका प्रथम सहिद लखनको सालिक स्थापनाले नुनथर लगायत यस क्षेत्रको पर्यटकिय विकाश र प्रचार,प्रसारमा टेवा पुगेको हो ।
प्रथम शहिद लखन को हुन ?
नेपालका प्रथम शहिद थापाको जन्म वि.सं. १८९१ मा गोरखाको शहिद लखन गाउँपालिका ७ स्थित काहुले भंगार (साविकको वुङ्कोट गा.वि.स. ४) मा भएको थियो । जुम्ल्याहा सन्तान मध्ये कान्छो सुपुत्र  शहिद थापाको वास्तविक नाम लक्ष्मणसिंह थापा मगर थियो ।
थापा तेश्रो गोरखा राइफल्समा कार्यरत नातेदारको फेमिली क्वार्टरमा बसेर भारतको अलमोडामा शिक्षा हासिल गरी नेपाल फर्किएर वि.सं. १९११ मा पुख्र्यौली मगर पल्टन (पुरानो गोरख पल्टन)मा भर्ना भएका थिए ।
ई.सं. १८५७ डिसेम्बर १० का दिन जंग बहादुर राणा स्वयम् २७ वटा नेपाली पल्टनको नेतृत्व गर्दै नौ हजार नेपाली सैनिकका साथ भारत गए ।  १० मार्चका दिन जंग बहादुर आफ्नो फौजसहित भारतको लखनउ शहर पुगेको भोलिपल्ट देखि नै अंग्रेज र नेपाली संयुक्त फौजले लखनउका विभिन्न स्थानमा फौजी कारवाही गर्यो ।
पुरानो गोरखा पल्टनसंगै लखनउ पुगेका लखन लगायत व्यक्तित्वहरु यस घटनाबाट स्तब्ध भए । लखन आफ्नो सैन्य सीप र कौशलका कारण वि.सं. १९२५ मा नेपाली सेनाको क्याप्टेन भइसकेका थिए । उनले  भौतिक सुविधाको कुनै प्रवाह नगरी वि.सं. १९२७ सालमा आफ्ना साथी जयसिंह चुमीलाई साथमा लिई घर विदा लेखाएर सेनाको जागिर छाडी गोरखाको बुंकोट काहुले भंगारमा गए ।
उनी जंग बहादुरको शासन विरुद्ध जनताहरुलाई संगठित गर्ने कार्यमा लागे । गोरखाको वुंकोट काहुले भंगारमा लखनले स्थानीयको सहयोगमा एउटा बलियो किल्ला निर्माण गरे । वि.सं. १९३२ सालमा जंग बहादुरको शासनविरुद्ध जनताले लखनलाई प्रधानमन्त्री र जयसिंह चुमीलाई सेनापति घोषणा गर्यो ।
वि.सं. १९३३ फागुन २ गते सबै भन्दा पहिले विद्रोही नेता लखनलाई गोरखा बुंकोटको आफ्नै किल्ला परिसर भित्र प्रतिस्थापन गरिएको मनकामना मन्दिर अगाडिको खिर्राको बोटमा झुण्ड्याएर मृत्युदण्ड दिइयो ।
लखनको बलिदान र योगदानको कदर गर्दै नेपाल सरकारले उनलाई वि.सं. २०५६ मा शहिद घोषणा ग¥यो भने वि.सं. २०७२ साल असोज ३ गते औपचारिक रुपले नेपालको पहिलो शहिद घोषणा  गर्ने निर्णय गर्यो ।
शहिद लखनको नाममा गोरखाको बक्राङ्ग,मनकामना,ताकलुङ्ग,घैरुङ्ग,बुंकोट र नामजुङ्ग गा.वि.स गाभेर शहिद लखन गाउँपालिका बनेको छ । उनको सम्झनामा मगर समुदायले सर्लाही र रौतहटको सिमाना बागमती नदी किनारको नुनथरमा शहिद लखनको सालिक खडा गरि आन्तरीक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने काम गरेका नुनथर क्षेत्र विकास समितिका अध्यक्ष राम कुमार भट्टराइले बताए ।

सम्बन्धित समाचार