वन मासेर भ्रष्टाचार गरेको कसुरमा २२ वर्ष पछि कांग्रेस सर्लाहीका सभापति सिंह दोषी ठहर

409 Shares

नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह वन मासेर भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर भएका छन्।सर्वोच्च अदालतले सार्वजनिक गरेको मुद्धाको पुर्णपाठमा सभापति सिंहलाई वन मासेर भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको हो।सभापति सिंहलाई २०८० फागुन १५ गते सर्वाेच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले दोषी ठहर गरेको भएपनि पुर्ण पाठ आउँन बाँकी रहेको थियो।विशेष अदालतले सभापति सिंहलाई दोषी ठहर गर्दै चार महिना १५ दिन कैद सजाय र रु एक करोड २३ लाख छ सय छ बराबरको असुल उपर गर्न फैसला गरेको थियो ।
विशेष अदालतको फैसला पछि सभापति सिंहले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए । करिब नौ महिना लगाएर आएको पुर्णपाठमा सभापति सिंहलाई दोषी ठहर गरिएको सर्वाेच्च अदालतले जनाएको छ।सर्वाेच्च अदालतले विशेष अदालतको केही निर्णय उल्ट्याएको भए पनि जरिवानाको हकमा विशेषकै फैसला सदर गरेको छ।सभापति सिंहलाई चार महिना १५ दिन कैद सजाय हुने र रु एक करोड २३ लाख छ सय छ असुल गर्ने विशेष अदालतको फैसलालाई  सर्वोच्च अदालतले सदर गरेको छ ।
सर्वाेच्च अदालतका अनुसार विशेषले नौ महिना कैद सजाय सुनाएकोमा सभापति सिंह २०५९ सालमा चार महिना २६ दिन हिरासतमा बसिसकेकाले कैद सजायको लगत भने कट्टा हुनेछ। रूख कटान गरेर बिक्री गर्दा सिंहले सरकारलाई हानि नोक्सानी पु¥याएका भन्दै २०५९ भदौ ६ गतेदेखि माघ २ गतेसम्म उनी हिरासतमा बसेका थिए ।
“विशेष अदालतले कसेको लगतको सट्टा यस अदालतको फैसला बमोजिम कैदको संशोधित लगत कसी निज प्रतिवादी चार महिना २६ दिन अनुसन्धानको क्रममा प्रहरी हिरासतमा बसी निजलाई लागेको चार महिना १५ दिन कैद भुक्तान भइसकेकाले असुल जनाउनु भनी सम्बन्धित जिल्ला अदालतमा लेखी पठाउनू”सर्वोच्चको आदेशमा भनिएको छ।
यता,फौजदारी अभियोगमा दोषी ठहर भई पार्टीको जिल्ला सभापति हुन अयोग्य भइसक्दा पनि  सिंहले राजीनामा दिएका छैनन् भने नेपाली कांग्रेसले कार्बाही पनि गरेको छैन्।सभापति सिंह
अहिले पनि नेपाली कांग्रेस सर्लाहीका सभापति नै हुन भने पार्टीका दैनिक गतिविधिहरु र सार्वजनिक सभा–समारोहमा सहभागी भई रहेका छन्।तर नेपालको राजनीतिक दल सम्बन्धी ऐन २०७३ को धारा,३०,३१ र ५४ का साथै  नेपालको राजनीतिक दल सम्बन्धी नियमावली २०७४ र कांग्रेसको विधान अनुसार उनी जिल्ला सभापति त के कुनै पार्टीको सदस्य समेत बन्न अयोग्य ठहरिने व्यवस्था छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४(२) को (ख) मा भ्रष्टाचार कसुरमा कैद सजाय नपाएको व्यक्तिलाई मात्र सदस्यता दिन सकिने व्यवस्था छ।कांग्रेसको विधान २०१७ (दशौँ संशोधनसहित)को धारा १३ मा नैतिक पतन देखिने फौजदारी अभियोगमा अन्तिम अदालतबाट दोषी ठहर भए पार्टी सदस्यता नै नरहने व्यवस्था छ।नैतिक पतन देखिने भ्रष्टाचार अभियोगमा अन्तिम अदालतबाट दोषी ठहर भइसकेका सिंहले न पद छाडेका छन्, न त विधान बमोजिम कांग्रेसले पार्टी सदस्यबाट हटाएको छ।
दल सम्बन्धी ऐनमा के छ ?
नेपालको राजनीतिक दल सम्बन्धी ऐन,२०७३ मा राजनीतिक दलका पदाधिकारीहरू,सदस्यहरू वा दलसँग सम्बन्धित व्यक्तिहरूले गर्ने फौजदारी कसुरको विषयमा व्यवस्था गरिएको छ।सोही ऐनको धारा ३० मा कुनै व्यक्तिले फौजदारी कसुरमा अदालतबाट दोषी ठहर भई सजाय पाएका भए,उनी राजनीतिक दलको सदस्य बन्न नसक्ने कुरा उल्लेख छ। धारा १३ मा पार्टीको कुनै सदस्यले पार्टीको नीति,नियम र अनुशासन उल्लंघन गरेमा, वा पार्टीको हित विपरीत कार्य गरेको र सम्बन्धित निकायले उनको सदस्यता निलम्बन गर्न सक्ने व्यवस्था गरिएको छ। निलम्बनको अवधि,प्रक्रिया र पुर्नस्थापनाको सम्बन्धमा पनि यस धारामा उल्लेख गरिएको छ।
सोही ऐनको धारा ३१ मा राजनीतिक दलका सदस्यहरूले कानुन विपरीत कार्य गरेमा,विशेषतः फौजदारी कानुन उल्लंघन गरेमा उनीहरूलाई दलले हटाउन सक्ने व्यवस्था गरिएको छ।सोही ऐनको धारा ५४ मा ऐनको उल्लंघन गर्दा र फौजदारी प्रकारका कसुरमा संलग्न हुँदा कानुन अनुसार कारवाही हुने उल्लेख गरिएको छ।
साथै राजनीतिक दल सम्बन्धी नियमावली,२०७४ मा पनि फौजदारी कसुरमा संलग्न व्यक्तिको राजनीतिक दलमा सहभागिता र उनीहरूको विरुद्ध कारवाही सम्बन्धी प्रावधानलाई थप स्पष्ट गरिएको छ।नेपालको राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा १४(२)(ख) ले “कुनै राजनीतिक दलको नाम,उद्देश्य,झण्डा वा चुनाव चिह्नले राष्ट्रको स्वतन्त्रता,सार्वभौमसत्ता, भौगोलिक अखण्डता,राष्ट्रिय एकता,जातीय वा सांस्कृतिक सद्भाव वा समानता विरुद्ध असर पु¥याउने खालको हुनु हुँदैन।
भ्रष्टाचारी ठहर भइसक्दा पनि सिंह पदमै रहेपछि सर्लाही कांग्रेसका पदाधिकारी र कार्यकर्ता असन्तुष्ट देखिएका छन्।“भ्रष्टाचारी ठहर भइसकेका व्यक्तिलाई पदमा राख्नु हुन्न भनेर धेरैपटक पार्टीका केन्द्रीय सभापतिको ध्यानाकर्षण गराइसकेका छौँ।सभापतिले त्यसको सुनुवाइ नै गर्नुहुन्न,”नेपाली कांग्रेस सर्लाहीका उपसभापति नवीन प्रसाद अधिकारीले बताए ।
“सुशासनको कुरा गरेर मात्र हुँदैन,व्यवहारमा लागू गर्न सक्नुपर्छ।भ्रष्टाचारी ठहर भइसकेका व्यक्तिलाई पदमै राखेर सुशासनको खिल्ली उडाइएको छ।”उनले बताए ।सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापासहित शीर्ष नेताहरुसँग सभापति सिंहको सुमधुर सम्बन्ध भएकाले उनी विरुद्धका कुनै कुरा नसुन्ने गरेका नेपाली कांग्रेस सर्लाहीका नेताहरुको भनाई छ ।२०७८ सालमा भएको पार्टीको जिल्ला अधिवेशनमा सिंह देउवा प्यानलबाट जिल्ला सभापति निर्वाचित भएका थिए।त्यही कारण उनलाई अहिलेसम्म पदबाट नहटाइएको सर्लाही कांग्रेसका नेता कार्यकर्ताहरु बताउँछन् ।
सभापति देउवासहित उपसभापति,महामन्त्रीलगायत पार्टीका पदाधिकारीलाई भेटेरै यस विषयमा जानकारी गराएको कांग्रेस सर्लाहीका उपसभापति अधिकारीले बताए ।“हामीले गत चैत २७ गते नै नेतृत्वलाई भेटेर विधान अनुसार कांग्रेस सर्लाहीका सभापति सिंह अब पार्टीको सदस्यसमेत हुन मिल्दैन भनेर जानकारी गराएका थियौँ,”सभापति देउवाले केन्द्रीय कार्यालयमा निवेदन दिन भनेपछि सोही दिन सर्लाहीका ४२ जना महासमिति सदस्य,क्षेत्रीय सभापति,जिल्ला उपसभापति सहित ५५ जनाले हस्ताक्षर गरेर निवेदन पनि दर्ता गरायौँ।तर उहाँहरूले मतलब नै राख्नु भएको छैन।”उप सभापति अधिकारीले बताए ।
भ्रष्टाचारमा दोषी ठहर भइसकेका व्यक्तिलाई सभापति मानेर हिँड्दा जिल्लामा काम गर्न असहज भइरहेको कांग्रेसका नेताहरुले बताएका छन् ।“उनले शेरबहादुर दाईको समूहबाट सभापति जितेका हुन।महामन्त्री थापासहित शीर्ष नेतृत्वसँग पनि राम्रो सम्बन्ध छ,”अधिकारीले बताए ।“त्यही भएर त होला अहिलेसम्म कुनै पहल अघि बढेको छैन।पूर्णपाठ आएपछि निर्णय गरौँला भनियो,त्यो आइसक्दा पनि सुनुवाइ भएको छैन।”
“कसैको हकमा व्यक्तिगत निर्णय गर्ने व्यवस्था नभएको र यो विषय कार्य सम्पादन अथवा केन्द्रीय कार्यसमितिको बैठकमा अजेन्डा बन्न सक्छ ।” कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।उनले “जानकारीमा आउने बित्तिकै सभापति वा पदाधिकारीले ठाडो निर्णय गर्ने नियम छैन।अब आउने बैठकको अजेन्डा बन्न सक्छ,जानकारी भएर मात्र हुँदैन प्रक्रियामा प्रवेश गर्नुपर्छ।नैतिक पतन अभियोग पुष्टि भएका व्यक्तिका हकमा पार्टीको बैठकले नै निर्णय गर्न सक्छ,”बताए ।
विगतमा अदालतका कतिपय फैसला पूर्वाग्रही हिसाबले आएका कारण नेता कार्यकर्तालाई पार्टीबाट निष्कासन नगरिएको उनले बताए ।उनले खुमबहादुर खड्काको हकमा भ्रष्टाचार मुद्दा ठहरिएन,सम्पत्ति शुद्धिकरण मुद्दा चलाइयो।तर मूल्यांकनमा गलत गरेर फैसला गरिएको थियो। अदालतको फैसला मान्छौँ,निर्णय स्वीकार्दैनौँ भनेर खड्कालाई पार्टीबाट निष्कासन गरेनौं,” कांग्रेसका प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।
वन मासेर भ्रष्टाचार गरेको कसुर २२ वर्षसम्म अदालती प्रक्रियामा
सर्लाहीको मनुष्मारा सिँचाइ प्रणालीअन्तर्गत हिरापुर व्यारेजको बसवरियामा वृक्षरोपण गरिएका रूख कटान सम्बन्धी मुद्दा विगत २२ वर्षदेखि अदालती प्रक्रियामा थियो।सर्वोच्चले यो मुद्दालाई गएको फागुन १५ गते टुंग्याएको हो।सर्वोच्चले २२ वर्षपछि मुद्दाको किनारा लगाइएको फैसलामा“मनुष्मारा सिँचाइ प्रणालीको नहर किनारमा वृक्षरोपण गरिएका सिसौका रूख जल उपभोक्ता संस्थाका अध्यक्षसँग मिलोमतो गरी मास्ने र सरकारलाई प्राप्त हुने रोयल्टी तथा राजस्व रकमसमेत हिनामिना गरी सरकारलाई गैरकानूनी हानि र आफूहरूलाई गैरकानूनी लाभ लिने–दिने कार्य प्रमाणहरूबाट पुष्टि हुन आउँछ।” 
सर्वोच्चको फैसलामा जल उपभोक्ता समितिको अध्यक्ष सिंह थिए।सर्वोच्च अदालतले फैसलामा सभापति सिंहसहितका प्रतिवादीहरूले प्रचलित कानून र कार्यविधिको जानीजानी उल्लंघन गरेको कारणबाट नहर किनारा वरिपरिका रूखहरूमा हानि नोक्सानी भएको कुरा स्थापित र पुष्टि भएको उल्लेख गरेको छ। “मनुष्मारा सिँचाइ प्रणालीको प्रथम चरण अन्तर्गतको जल उपभोक्ता समितिको अध्यक्ष सिंह रहेको कुरामा विवाद नभएको र समितिको २०५८ फागुन ६ र चैत २ को बैठकबाट रूख हटाउने, काँटछाँट गर्ने र बिक्रीबितरण गर्ने निर्णय गरेको र त्यसको जिम्मा अध्यक्ष सिंहलाई दिएपछि नै सोही निर्णयका आधारमा ब्यापक रूपमा रूखहरू काटिएको देखिएको छ,” सर्वोच्चले भनेको छ।
कार्ययोजना स्वीकृत गराएर रूख कटान नगरेको र ढलापढा मात्र नभई हरिया रूखसमेत कटान भएको सर्वोच्चले ठहर गरेको छ।रूखहरू काटिएपछि बिक्रीबाट प्राप्त रु चार लाख ८४ हजार सात सय ४० सिंहले समितिको खातामा राखे पनि धेरै परिणामका रूख काटिएको अवस्थामा बिक्री वितरणबाट प्राप्त रकम ज्यादै न्यून भएको पनि फैसलामा उल्लेख छ। यसबाट सरकारलाई हानि नोक्सानी पु¥याई सिंहले फाइदा लिएको सर्वोच्चको ठहर छ।
जल उपभोक्ता समितिको मिति २०५८ फागुन ६ र चैत १ को बैठकबाट मनुष्मारा सिंचाई प्रथम चरणमा नहरको डिलमा लगाएको रूखहरू कटान गर्ने निर्णय भएको थियो। उक्त बैठकको अध्यक्षता सिंहले गरेका थिए।“आफूले प्राप्त गरेको वा लिएको जिम्मेवारीको परिणामबाट प्रतिवादी पन्छिन मिल्ने र सो दायित्वबाट उन्मुक्ति पाउने अवस्था हुँदैन। प्रचलित कानूनले निर्दिष्ट गरेका कार्यविधिको जानाजान पालना नगरेको अवस्था छ,”सर्वोच्चको फैसलामा भनिएको छ। 
विशेष अदालतमा मुद्दा दायर भएपछि थुनछेकका क्रममा २०५९ पुस २४ गते विशेषले सिंहसँग रु ४० लाख धरौटी माग गरेको थियो।२०६२ फागुन १० गते विशेषले मुद्दाको फैसला गर्दै सिंहलाई रु दुई करोड ८९ लाख ७६ हजार चार सय ६० बिगो र जरिवाना तथा एक वर्ष छ महिना कैद हुने ठहर गरेको थियो।
विशेषले केही प्रतिवादीलाई सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र दोषी ठहर भएका गरी दुवै पक्ष पुनरावेदनमा गएका थिए।अख्तियार बाहेक प्रतिवादी सिंह,रामेश्वर प्रसाद भारती र नारायण प्रसाद अधिकारी पुनरावेदनमा सर्वोच्च गएका थिए। 
पुनरावेदन मुद्दामा सर्वोच्चका तत्कालीन न्यायाधीश वैद्यनाथ उपाध्याय र ज्ञानेन्द्र बहादुर कार्कीको इजलासले २०६९ वैशाख १० गते गरेको फैसलालाई उल्याउँदै  विशेष अदालतले गरेको फैसलामा सर्वोच्चले प्रश्न उठाउँदै निरूपण हुन बाँकी कतिपय विषय फेरि हेरिनुपर्ने ठहर गरेर मिसिल विशेषमै फिर्ता गरिदिएको थियो। ती विषयमा विशेषबाट फैसला भइसकेपछि मुद्दा फेरि सर्वोच्चमा पुनरावेदन भएपछि २२ वर्ष अदालती प्रक्रियामा गुज्रिएको मुद्दा गत फागुनमा टुंगिएको थियो।जिल्लामा अवैध रुपमा क्रसर उद्योगका साथै मद्यिरा भट्टी चलाउँदै राज्यलाई तिर्नूपर्ने कर नतिरि राज्यको राजश्वमा हानी नोक्सानी समेत पुर्याएका छन् ।

सम्बन्धित समाचार